बागलुङमा कोरोना सक्रिय संक्रमितको संख्या ४१२ पुग्यो

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा कोरोना संक्रमितको ग्राफ ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा सक्रिय संक्रमितको संख्या ४१२ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आइतबार ३३९ रहेकोमा सोमबार ८४ जनामा कोरोना पुष्टी भएको छ भने ११ जनाले कोरोनालाई जित्न सफल भएका स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाका ८५ वडा रहेकोमा १३ वडा कोरोनाको उच्च जोखिममा रहेको र ४३ वडा मध्यम जोखिममा रहेको घिमिरेले जानकारी दिनुभयो ।

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन तिब्र गतिमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले माघ मसान्त सम्म जिल्लाका सबै शैक्षिक क्रियाकलाप, मठ मन्दिर, पर्यटकीय स्थल, जिम हल, पार्टी प्यालेस, तालिम तथा गोष्टीहरु बन्द गर्न निर्देशन दिएको छ ।

जिल्लामा एक हप्ता अघि १०० भन्दा तल रहेको कोरोना संक्रमण एक हप्तामै ४०० नाघेको हो । जिल्लामा तेस्रो लहरका कारण हाल सम्म भने कसैको मृत्यु भएको छैन । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा हाल सम्म २४ हजार २६२ पिसिआर र चार हजार ७२२ एन्टिजेन्ट गर्दा ६ हजार ७७१ पिसिआर मार्फत र एक हजार ६०९ एन्टिजेन्ट मार्फत कोरोना पुष्टी भएको छ । जसमध्ये ४१२ सक्रिय संक्रमित, ७ हजार ८९६ निको र ७२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ४१२ मध्ये ६ जना धौलागिरी अस्पतालको आइसोलेसनमा छन् भने अन्य होम आइसोलेसनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्