कृषिता अधिकारी (निशा)
समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म आदि अङ्गाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ । यसले कुनै विशेष उद्देश्य लिएर निर्माण गरिएका संघ, संस्थालाई पनि बुझाउने गर्दछ । उदारणका लागि मगर समाज, आर्य समाज, ब्रम्हमण समाज, थारु समाज, नेवार समाज आदिलाई लिन सकिन्छ । उक्त समाज भन्ने शब्द अङ्ग्रेजी शब्द क्यअष्भतबक बाट लिइएको हो । ‘समाज’ शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने व्यक्तिहरूको समुहलाई बुझाउँछ । समाज समिष्टि हो । समाज परिवारको एकाईहरूको सम्पूर्णता हो ।
मानिस एउटा सामाजिक प्राणी हो । समाजमा जन्मेपछि त्यहाँ उनीहरु केही न केही समस्याहरुबाट पीडित हुन्छन् । यदि सामाजिक समस्याहरु नहुने हो भने त समाजको विकासमा कुनै अडचन आउन सक्दैन । हाम्रो नेपाली समाज पश्चिमा संस्कृति विसंगति रहन सहन भेषभूषा जस्ता तत्वहरुले घेरिएको छ । त्यसैगरी समाजमा पहिलो समस्या भनेको स्वार्थपरता र अज्ञानता हो । किनकी विद्यमान सामाजिक, सांस्कृतिक, राजनीतिक, प्राविधिक एवं आर्थिक सम्बन्धको सूक्ष्म एवं बृहत् तहको परिवर्तनसँगै मानिसले आफ्नो नितान्त व्यक्तिगत जीवन समेत विभिन्न समस्या र परिबन्धको चक्रले झेलेको छ ।
समाजशास्त्रीहरुका अनुसार एकभन्दा धेरै मानिसहरूको समुदाय एवं मानवीय सम्बन्धहरूको जालोनै समाज हो । समाजको अर्थ मानवद्धारा स्थापित यस्तो सम्बन्धसँग हुन्छ‚ जहाँ स्थापित गर्नका लागि विभिन्न नियम मूल्य मान्यता बनाएका हुन्छन् । त्यसैगरी समाज परिवर्तनसँगै मानिसको विचार, आदर्श, व्यवहार, मनोभावना मात्र होइन कि कला,संस्कृति रहनसहन‚ लवाइखवाई‚ चालचलन‚ धर्मसंस्कृतिमा पनि परिवर्तन अङ्गीकार गर्छ, जसले एउटा व्यक्तिलाई सामाजिकीकरण गर्न मदत गर्दछ । तर हाम्रो समाज पछिल्लो समयमा हाम्रो समाजमा विकृति भित्रिएको अवस्था छ । हामी र हाम्रो समाजलाई पश्चिम संस्कृतिले छपक्कै छोपेको अवस्था पनि उस्तै छ । समाजमा त्यस्ता विकृति विसंगति भित्रिएका छन्, जसले हाम्रो नेपाली समाज नकारात्मक तर्फ धकेलिददै गइरहेको छ ।
समाजले परापूर्व कालदेखि स्वीकार गर्दै आएको मूल्य मान्यता, धर्म, संस्कृति, परम्परामा आघात पुग्ने क्रियाकलाप समाजलाई पाच्य हुँदैन । सामाजिक सोच, विचार, चिन्तन‚ र व्यवहार गतिशील प्रक्रिया हो । समय क्रममा यसको रूपान्तरण अवश्यम्भावी छ । सामाजिक रूपान्तरण सामाजिक विकासका लागि अपरिहार्य हुन्छ । अर्कोतिर सामाजिक परिवेश‚ क्रियाकलाप‚ मूल्य‚ मान्यता‚ आचरण‚ संरचना‚ सरोकार एवं सम्बन्धहरूमा परिवर्तन आई एउटा अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रक्रिया वा प्रवृत्तिलाई सामाजिक रूपान्तरणका रूपमा लिन सकिन्छ ।
सामाजिक प्राणी भएको नाताले मानिसले आफूमा जुन कुरा सिकेका छौ वा जस्तो कुरा सिकेका छौ त्यो सबै संस्कृति हो । चाड, पर्व, धार्मिक क्रियाकलाप, रीतिरिवाज, भेषभुषा, प्रचलन, मान्यता र विश्वासहरूको समष्टिगत रूप हो संस्कृति । संस्कृति जीवन व्यतीत गर्ने एक सम्पूर्ण विधि÷पद्धति हो जसले व्यक्तिको शारीरिक‚ मानसिक एवं अन्य आवश्यकताको पूर्ति गर्छ र यी संस्कृति मूल्य मान्यताले हाम्रो समाजलाई बाधेर राखेको छ । हरेक मानिसले समाजका मूल्य मान्यतालाई ग्रहण गर्दै एउटा मर्यादामा बस्ने गर्दछ । हामीलाई समाजले अमर्यादित अनैतिक कार्यहरु गर्नेको लागि रोक लगाएको छ । किनकी मानिसको समग्र जीवनशैली‚ समुदायबाट वैयक्तिक रूपमा आर्जन गर्ने सामाजिक सांस्कृतिक हैसियत‚ सोचाइ‚ चिन्तन‚ सिकाइ‚ अनुभूतिहरू र विश्वास गर्ने पद्धति, सामूहिकतामा र वास्तविकतामा व्यवहार गर्ने शैली, समुचित सिकाइ, तत्कालीन समस्याहरूको विशेषीकृत रूप, अभिमुखीकरण, सिकिएका व्यवहारहरूको कार्यान्वयनका लागि अपनाइने संयन्त्र, बाह्य वातावरण र अन्य अनुकूलताको लागि अपनाइने पद्धति, इतिहासको गति र त्यसबाट उब्जिएका आशा र निराशा, मानक‚ उपमा वा मूल आशयको रूपमा आएका प्रतीक वा व्यवहारहरू जस्ता सांस्कृतिक पक्षमा हुने सकारात्मक परिवर्तन हो जसलाई सांस्कृतिक रूपान्तरण भनिन्छ । त्यसैले हामीले समाजका सबै प्रकारका मानिसलाई समाजका अभिन्न अङ्गका रूपमा स्वीकार गर्नुपर्छ ।
त्यस्तै सामाजिक गति एक निरन्तर प्रक्रिया हो। जसरी दिनरात प्रकृतिका सामान्य नियम हुन् त्यसैगरी समाजमा पाइने सफलता र असफलता स्वाभाविक प्रक्रिया हुन प्रकृतिमा राम्रानराम्रा सबै चिज सहज रूपमा अटाइरहेका हुन्छन्।त्यस्तै समाजमा पनि अनेकौं विकृति भित्रिनु स्वभाविक हो, तर हामीले यस्ता विकृति विसंगतिलाई हटाउनुको सट्टा बडवा दिएको पाइन्छ । कारण पछिल्लो समयमा हामीले सामाजिक सञ्जालमा हत्या हिंसा बलात्कार चोरी डकैती , भष्ट्रचार, कालोबजारी, छुवाछुत, अन्धविश्वास, दाइजो प्रथाको प्रतिस्पर्धा, दाइजो कै नाउमा हत्या हिंसा तथा बहुपति वा बहुपत्नि विवाहमा छोरा छोरी बिचल्ली बनाउने अनावश्यक मिडियाबाजी गर्ने जस्ता नकारात्मक घटना घट्ने गरेको पाइन्छ । कतिपय अवस्थामा त सामाजिक विकृति समाजमा प्रथाका रूपमा विकसित भएर आएका हुन्छन् ।
यी र यस्ता समस्या समाधानका लागि आम मानिसले के गर्न सकिन्छ छ ? हामीले हाम्रो समाजमा त्यस्ता विकृति विसंगति भित्रिन नदिन के कस्ता सावधान अप्नाउन सक्छौ त ? जसले हामी र हाम्रा बाबुनानीहरु पनि भविष्यमा यी र यस्ता विकृतिको शिकार नहौन् । किनकी समाजबाटै भोलिको भविष्य निर्माण हुन्छ । एउटा व्यक्तिले समाजबाट कस्तो संस्कार प्राप्त गर्ने समाजमा बसेर समाजले निर्माण गरेको मुल्य मान्यतालाई आत्मसाथ गर्दै सामाजिक स्तरीकरण उसको आफ्नो वर्चस्व खडा गर्दछ ।
त्यसैगरी उसले गरेका राम्रा नराम्रा पक्षलाई नै समाजले मूल्यांकन गर्दछ । उदाहरणका लागि हाम्रो समाजमा पढेलेखेको ज्ञानी मान्छे छ भने उबाट हामीले राम्रो शिक्षा प्राप्त गर्छाै । हाम्रो समाज शिक्षित र चेतनशील बन्छ । यदि हाम्रो समाजमा रक्सी खाने तथानाम बोल्ने झगडा गर्ने मान्छेको बसोबास भयो भने हामीले कसरी राम्रा ज्ञानगुनका कुराहरु सिक्दछाँै त ? त्यस कारण समाज निर्माण गर्नको लागि व्यक्ति सक्षम सवल र सकारात्मक बन्नु जरुरी छ । हामीले हाम्रो समाजमा त्यस्ता खालका विकृति विसंगतिलाई हटाएर सभ्य बनाउने हो की ? समाजले पच्नै नसक्ने खालका गतिविधिलाई बढवा दिने हाम्रै हातमा छ । पछिल्लो समयमा भएका यस्ता खालका विकृतिलाई हटाउन र सभ्य समाज बन्नको लागि यी र यस्ता खालका गतिविधि रोक्नु आवश्यक छ ।
यसका साथै राज्यतहबाट पनि सकारात्मक कार्यक्रम सञ्चालन गर्नु पर्छ । जसले गर्दा हामी र हाम्रा बाबुनानीले भविष्यमा राम्रो र असल मान्छे बनुन् । तसर्थ, समस्या के हो ? कसरी सिर्जना भयो ? किन भयो ? आदि प्रश्नको मूल कारण तथा अन्य कारणको पहिचान गर्न जरुरी हुन्छ । परिकल्पना समस्या समाधानका लागि विश्लेषणात्मक, तार्किक, औचित्यपूर्ण, सिर्जनात्मक र सकारात्मक विकल्पहरुको खोजी गरी उपयुक्त विकल्प छनोट गरी सोको सम्भाव्य प्रभाव बारे विश्लेषण गर्नुपर्छ । कुनै पनि समस्या पहिचान भई सकेपछि यसको समाधानका लागि विभिन्न विकल्पहरु खोज्नुपर्छ ।