ओमिक्रोन कहर : सुस्तायो बागलुङको पर्यटन

आदर्श अनलाइन, बागलुङ

कोरोनाका कारण दुई वर्ष देखि पुरानो लयमा पर्यटन व्यवसाय फर्कन सकेको छैन । कोरोनाले थलिएको पर्यटन बिगत तीन महिना देखि जुरमुराउन थालेको थियो । कोरोनाको पहिलो र दोस्रो लहरले ठप्प बनेको पर्यटन पुन तेस्रो लहरका पुन प्रभावित बनेको छ ।

दोस्रो लहरको संक्रमण घटेपछि प्रत्येक सनिबार एक हजार आन्तरिक पर्यटक आउने पञ्चकोट पुन सुनसान देखिन थालेको छ । शनिबार र मंगलबार धार्मिक पर्यटकहरुको घुइँचो लाग्ने बागलुङ भगवती मन्दिर परिसमा शनिबार दर्शनार्थी सहभागीता रहेको थियो । कुस्मा बलेवा बन्जी पुलमा अहिले बन्जी गर्न आउने पर्यटकहरु खस्किदै गएका छन् ।

यस्तै धार्मीक पर्यटकीय क्षेत्रका रुपमा मुक्तिनाथ पुग्ने दर्शनार्थी र भारतीय पर्यटक आर्कषण गर्दै गरेको बागलुङ नगरपालिका–४ कुडुँले स्थित शालग्राम संग्रहालयमा समेत ओमिक्रनको प्रभाव परेको देखिन्छ ।

विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखा देखि पर्वत जिल्लाको पाङ जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा अवलोकनका लागि आउने पर्यटकहरु ह्वातै घटेका छन् भने वलेवा कुस्मा बन्जी जम्पका लागि पर्यटकहरु नगन्य मात्रमा आउने गरेको देखिएको छ ।

शनिबार र अन्य विदाको दिन झण्डै एक हजार पर्यटकहरु आउने पञ्चकोट, दैनिक पाँच सयको हाराहारी पर्यटकहरु आउने शालग्राम संग्रहालय, शनिबार र मंगलबार दुई हजार भन्दा बढी दर्शनार्थी आउने कालिका मन्दिरमा ओमिक्रनको प्रभाव देखिएको छ । कारोनाको तेस्रो लहरका कारण पञ्चकोट र शालग्राम संग्रहालय आउने पर्यटकहरुमा कमी आएको पञ्चकोट विकास समितिका अध्यक्ष ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो ।

“दोस्रो लहरमा घरमै सिमिति भएका पर्यटकहरु अवलोकन भ्रमणका लागि अत्याधिकरुपमा आउनुभयो, शनिबार त एक हजार हाराहारीमा यहाँ पर्यटकहरु आउथे, पञ्चकोटमा सवारीको चाप उस्तै थियो, एक हप्ता भयो पञ्चकोट र शालग्राम संग्रहालय सुस्ताउदै गएको छ” प्रपन्नचार्यले भन्नुभयो “जिल्ला प्रशासनले मंगलबार देखि लागु हुँनेगरी धार्मीक तथा पर्यटकीय क्षेत्रमा भीडभाड नगर्न आग्रह गरेको छ, अब पञ्चकोटमा पर्यटक ठप्प हुँने अवस्था छ ।”

कोरोनका कारण जिल्लाको पर्यटकीय गतिविधि ठप्प हुँने अवस्थामा पुगेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । उहाँले कोरोना बढ्दासाथ प्रत्यक्ष मार पर्यटकीय क्षेत्र र होटलहरुमा पर्ने बताउदै बन्दको बिकल्प खोज्नुपर्ने बताउनुभयो । “खोपको प्रर्बन्ध गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने लगायतका काममा सरकारको ध्यान जान आवश्यक छ” खड्काले भन्नुभयो “बन्दको बिकल्प बन्द होइन, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकीय गतिविधि गर्न आवश्यक छ नत्र कोरोना यसै गरी फर्केर आउने हो भने पर्यटन व्यवसाय उठ्नै नसक्ने गरी थला पर्ने छ ।”

जिल्लाको चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन, भकुण्डे, निसीखोला, गाईघाट झरना, सहस्रधारा झरना, घुम्टे लगायतका स्थानमा केहि वर्ष यता आन्तरिक पर्यटकहरु बढ्दै गएका थिए । तर कोरोना महामारीका कारण नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारमा समेत कोरोनाले समस्या निम्ताएको पर्यटन व्यवसायहीहरु बताउछन् ।

कोरोनाले थला पर्ने अवस्थामा पुगेका बागलुङका होटलहरु ठूला राजनैतिक दलको अधिवेशन, सभा समारोह, शैक्षिक भ्रमण तथा मेला महोत्सवले भरिभराउ भएपनि ओमिक्रोनका कारण पर्यटकहरु होटल आउन छोडेको व्यवसायीहरुले बताएका छन् ।

जिल्लाको पछिल्लो तथ्याङक अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ४१२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले बागलुङले माघ मसान्त सम्म शैक्षिक, धार्मिक तथा पर्यटकीय क्षेत्र बन्द गर्न निर्देशन गरेको छ ।

धार्मिक क्षेत्रमा भीडभाड नगरी नित्यकर्म मात्रै गर्नुपर्ने प्रशासनको निर्देशन रहेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले माघ मसान्तसम्म आमसभा, जुलुस तथा भिडभाड हुने कुनै गतिबिधि नगर्न आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो । जिल्लामा धार्मिक तथा पर्यटकीय गतिविधि संगै सिनेमा हल, पार्क, फुटसल, खेलकुद स्थल, जिमखाना, हाटबजार समेत संचालन नगर्न निर्देश गरेको छ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम र अन्य शैक्षिक गतिविधि समेत नगर्न र प्रशासनको निर्देशन नमानेमा कार्वाही गर्ने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *