म्याग्दीका ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीका ४६ जना स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

बेनी अस्पतालका ४१ जना स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएको छ । मंगलवार चार जना आइसोलेसन मुक्त भएका छन् । अस्पतालमा कार्यरत ७ जना चिकित्सकमध्ये ४ जनामा कोरोना संक्रमण भएको छ । बेनी अस्पतालमा अहिले ३७ जना सक्रिय कोरोना संक्रमित रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएपछि म्याग्दीको बेनी अस्पतालमा ओपिडीसेवा बन्द गरिएको छ । सेवा लिन आउने सर्वसाधारणमा अस्पतालबाटै कोरोना संक्रमण फैलनसक्ने भएपछि गत आईतवारदेखि एक साताका लागि ओपिडी सेवा बन्द गरि आकस्मिक सेवाबाट मात्रै उपचार सेवा दिईएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

अस्पतालको ओपिडी सेवा बन्द भएपछि आकस्मीक कक्षको सेवासंगै फिवर क्लिनिक समेत सञ्चालन गरेर उपचार चेकजाँच र उपचार गर्ने प्रवन्ध मिलाइएको जनाइएको छ । आगामी शुक्रवारसम्मको अवस्थालाई मध्यनजर गरि ओपिडि सेवाको निर्णयमा पुग्ने अस्पतालले जनाएको छ । बेनी अस्पतालमा म्याग्दीको साथै पर्वतको जलजला गाउँपालिकाबाट समेत सर्वसाधारण उपचारको लागि आउने गरेका छन् । बेनी अस्पतालमा अहिले १२५ जना कार्यरत रहेका छन् । मंगलवारसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २३५ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *