बागलुङमा वर्षेनी सिंचाईका करोडौँका योजना, २० प्रतिशत मात्रै सिंचाई सुविधा

डम्मर बुढा मगर, बागलुङ
जलस्रोत तथा सिंचाई विकास विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्ला भर ११७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा संघीय सरकारबाट अनुदान प्राप्त योजनाहरु हुन् । जिल्लाको १० वटै पालिकाहरुमा योजनाहरु परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् ।

गलकोट नगरपालिकामा २७ वटा योजना पर्दा तमानखोला गाउँपालिकामा एउटा मात्रै योजना परेको छ । जैमिनी नगरपालिकामा २१ वटा, बडिगाड गाउँपालिकामा १४ वटा, काठेखोला गाउँपालिकामा १८ वटा, बरेङ गाउँपालिकामा ५ वटा, ढोरपाटन नगरपालिकामा ५ वटा, निसीखोला गाउँपालिकामा ७ वटा, ताराखोला गाउँपालिमा ५ वटा र बागलुङ नगरपालिकामा १४ वटा योजना परेका छन् । यी योजना मध्ये अहिलेसम्म पाँच प्रतिशत बढी काम भएको जलस्रोत तथा सिंचाई विकास विकास डिभिजन कार्यालयले जनाएको छ ।

सिंचाइको लागि केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेका छन् । केन्द्र सरकारले तीन करोड १० लाख र प्रदेश सरकारले १४ करोड तीन लाख २५ हजार गरि १७ करोड १३ लाख २५ हजार रुपैयाँ बजेट विनयोजन गरेको छ । १० वटै पालिकामा सहज रुपमा सिंचाईको व्यवस्थाप गर्ने योजना अनुरुप योजनाहरु संचालन हुन थालेका छन् । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिंचाईको व्यवस्थापन गर्न कठिन देखिन्छ ।

पछिल्लो समय बागलुङमा सिंचाई योजनाको माग निकै बढेको जलस्रोत तथा सिंचाई विकास विकास डिभिजन कार्यालय बागलुङका अधिकृत सफल शर्माले जानकारी दिनुभयो । उहाँले कार्यालयले सबै क्षेत्रमा सिंचाईको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय विशेष गरि धान तथा गहुँ खेति हुने खेतबारीमा सिंचाईका योजनाहरु पर्ने गरेको बताउनुहुन्छ ।

‘केही वर्ष अगाडीसम्म सिंचाई योजनाको मागहरु कम भएको पाइन्थ्यो अहिले निकै बढेको छ, गाउँ–गाउँबाट पनि सिचाईको योजनाका लागि सेवाग्राहीहरु आउने गर्नु हुन्छ,’ अधिकृत शर्माले भन्नुभयो ‘हाम्राले लक्ष्य सबै ठाउँमा सहज रुपमा सिंचाई पु¥याउने हो, तर अहिले प्रायजसो धान र गहुँ फल्ने खेतबारीमा सिंचाईको लागि योजना माग हुने गरेको पाइन्छ, धेरै जसो धान फल्ने खेतमामै सिंचाई योजनाहरु परेका छन् ।’

सिंचाईको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । गत वर्ष ५ हजार ८०० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष यस वर्ष ५ हजार ८५० बढी क्षेत्र फलमा रोपाइँ भएको थियो । सिंचाईको राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादन समेत बढेको पाइन्छ । गत वर्ष १८ हजार ६९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १९ हजार ९९५ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाका विभिन्न स्थानमा ११७ वटा योजना पर्दा राम्रो धान उत्पादन हुने ठाउँमा योजना नगरेको निसीखोला गाउँपालिका २ का स्थानीय रमेश कुँवरले गुनासो गर्नुभयो । कुँवरले निसीखोला गाउँपालिका वडा नम्बर २ को तल्लोबेङ्ग्री र काल्नेचौरमा धान खेतिका लागि उर्वर भूमि भएको भन्दै सिंचाईको अभावमा धान उत्पादन कमी आएको बताउनुहुन्छ ।

‘यो क्षेत्र धान उत्पादनको लागि उर्वर छ, तर यहाँ सिंचाईको राम्रो व्यवस्था छैन, धान रोपेपछि पानी पाउनै समस्या हुन्छ,’ कुँवरले भन्नुभयो ‘पानीको अभावले गर्दा धान उत्पादनमा गिरावट आउने गरेको छ, कहिले त आकाशे पानीको भरमा खेतमा धान रोप्नु पर्ने अवस्था हुन्छ ।’

जिल्लामा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतियोग्य जमिन रहेकोमा ३० हजार ५०३ हेक्टर क्षेत्रफलमा खेतिहुँदै आएको छ । त्यस मध्ये ६ हजार एक ४८ हेक्टर क्षेत्रफल जमिनमा सिंचाईको सहज पहुँच पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । खेतियोग्य जमिनको २०.१५ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाईको सुविधा रहेको छ । त्यस मध्ये बाह्रै महिना सिंचित क्षेत्र २७७५ हेक्टर रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *