बागलुङ बजार–बोक्से सडक कालोपत्रे

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजार देखि १२ किलोमिटरमा पुग्न सकिने सिगाना पुग्न सवारी साधनहरुलाई दुई घण्टा लाग्थ्यो । उकालोमा जनतन गाडीले तानेपनी समथर भागमा सवारी फसेर हैरान हुन्थ्यो । बागलुङ बजारको देउराली चोकदेखि बोक्से सम्मको जम्मा २.६ किलोमिटर सडक पार गर्न एक घण्टा लाग्थ्यो ।

तर पछिल्लो चार वर्षको अवधीमा सिगाना पुग्ने सडक निकै सुधार भएको छ । सिगाना पुग्ने सडक अन्र्तगत बागलुङ बजार देखि बोक्से सम्मको सडक अहिले पुरै पक्की भएको छ । देउराली चोक देखि सवारी फस्ने स्थानमा सडक ढलान र अन्य स्थानमा कालोपत्रे गरी पछिल्लो चार वर्षको अवधीमा सडक पक्की भएको हो । यो संगै बागलुङ बजार देखि सिगाना पुग्ने सडक बोक्से सम्म निकै सहज भएको छ भने सिगाना पुग्न लाग्ने यात्राको समय समेत छोटिएको छ ।

बागलुङ बजार देखि बोक्से पुग्नै सवारीलाई एक घण्टा लाग्ने गरेकोमा अहिले सडक कालोपत्रे भएपछि निकै सहज भएको बागलुङ बजार देखि सिगाना सडकमा नियमित सवारी साधन चलाउदै आउनुभएका सवारी चालक गोविन्द शर्माले जानकारी दिनुभयो ।

“देउराली चोकदेखि बोक्से पार गर्नै समस्या हुन्थ्यो, वर्खाको समयमा मात्र नभएर हिउँदमा समेत सवारी फस्ने गर्दथ्यो” चालक शर्माले भन्नुभयो “अहिले कतै ढलान र कतै कालोपत्रे गरेर बोक्से सम्मको सडक पक्की बनेको छ, अहिले त देखिराली चोकबाट १० मिनेटमै बोक्से पार गर्न सकिन्छ ।” शर्माको अनुसार सिगाना जाने सडक पहिलाको तुलनामा अहिले निकै सुधार भएको छ । साँघुरो सडकलाई अहिले ६ मिटर कायम गरी पक्की बनाइएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

लगातार चार वर्षको प्रयास र सबै वर्षको बजेट जोड्दा झण्डै रु. साढे दुई करोडका लागतमा अहिले बोक्से सम्मको सम्पूर्ण सडक पक्की भएको पौडेलको भनाई छ । “सिगाना जाने सडकको सबै भन्दा समस्या बागलुङ नगरपालिका–३ अन्र्तगतनै धेरै सडक मर्मत तथा कालोपत्रे भएको छ, तर यस्ले सिगानाका यात्रुलाई सहज भएको छ” नगप्रमुख पौडेलले भन्नुभयो “अहिले सेरामा धमाधम सडक कालोपत्रे भइरहेको छ, बागलुङ बजार भित्रका अन्य सडक समेत सडक बोर्डको साझेदारीमा कालोपत्रे कार्य भइरहेको छ ।”

बजार देखि बोक्से जाने सडक गत वर्ष ७०० मिटर र अहिले ८०० मिटर सडक कालोपत्रे भएपछि बोक्से सम्मको सम्पूर्ण सडक पक्की भएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

पक्की भएको २.६ किलोमिटर सडक मध्ये झण्डै ५०० मिटर सडक भने ढलान गरिएको र अन्य सडक कालोपत्रे गरिएको शर्माको भनाई छ । यो आर्थिक वर्षमा आरएस निर्माण सेवा संग सडक बोर्ड र बागलुङ नगरपालिकाको साझेदारीमा रु. एक करोड ३८ लाखको लागतमा ठेक्का सम्झौता भएर सडक कालोपत्रे भइरहेको छ ।

यो वर्ष सिगाना जाने सडक बोक्से सम्म कालोपत्रे सम्पन्न भएसंगै उक्त बजेटले समिट चोक, अस्पताल रोड लगायत बागलुङ बजार क्षेत्रका भित्रि तथा टुक्रे सडकको समेत कालोपत्रे गर्दै विस्तारै बागलुङ बजारलाई खाल्टाखुल्टी मुक्त गराउने नगरपालिकाको अभियान रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *