पेट्रोल डिजेलको विकल्पमा विद्युतीय सवारी साधन

सज्जन कुमार सिँह
केही दिनदेखि सबैभन्दा बढि चिन्ताको विषय बनेको छ इन्धनको मुल्य वृद्धि । इन्धनको मुल्य बढेपछि सवारी साधानको मुल्य पनि बढी हाल्छ । विहानै सुल्डाँडाजादा पेट्रोलवाला रिक्सामा चढे । हिडेर १५ सय ७० पाइलामा बजारबाट पुगिने सुल्डाँडामा रिक्समा जादा रु ४० तिर्थे तर पेट्रोलको मुल्य बढेको भन्दै रिक्सावाला भाईले पचासको पातो नल्याइ मानेन् ।

बाइक चलाउनेहरुको चिन्ता पनि बाइक कसरी पाल्ने भन्ने तिर केन्द्रित छ । मुल्य वृद्धिको असर अन्ततः सबैभन्दा पिधको मान्छेलाई नै पर्छ । मुल्यम वृद्धि भएपछि भाडा पनि बढाउछन् र त्यो भाडा आम नागरिकै खल्ति टक्टकाएरै उठ्ने हो । इन्धनको मुल्य बढेपछि सबैभन्दा बढि खेति विद्यार्थी संगठनलाई हुन्छ । गाडी तोडफोड गर्ने, नारा जुलुस गर्ने अनि मुल्य वृद्धिको विरोधमा उत्रिने । संगठनले नागरिकको पक्षमा आवाज उठाउनु सहि नै छ तर हामीले इन्धनको समस्या र यसको मूल्यवृद्धिको मात्र विरोध गर्ने र अन्ततः केहिदिनमा खुरुखुरु भनेजति नै पैसा तिरेर सवारी साधान चलाउनै पर्छ ।

अहिले पछिल्लो मूल्यवृद्धि अनुसार पेट्रोल १ सय ४२ र डिजेल रु १२५ छ । अमेरिकामा ०.९७५ डलर कोरियामा १६५० कोरियन वन डिल्लीमा १सय ४ रुपैँया छ । हामीले १५ दिनमा २ अर्ब २३ करोड घाटा बेहोरी रहनुपरेको छ । जब १५ दिनमा रकम भुक्तानी नभए भारतले नेपालाई इन्धन पनि दिदैन । वर्षेनी इन्धनबाट खर्बौ रुपैँया इन्डिया जान्छ । पाइपलाइन मार्फत अन्य देशबाट सिधा नेपाल इन्धन ल्याउन पनि भारत नै सबैभन्दा बढि अवरोध बन्छ कारण नेपालमा उसको एकक्षत्र राज छ । धेरै देशहरुमा कच्चा तेल ल्याएर त्यसलाइ सुद्धिकरण गरि प्रयोगमा ल्याउछन् । कच्चा तेललाइ शुद्धिकरण गर्न मात्र सके अहिलेको मुल्य भन्दा धेरै कममा इन्धनको प्रयोग गर्न सकिन्थ्यो । जसको कारण देशले इन्धनका लागि गर्ने खर्च पनि केहि कटौती हुन्थ्यो ।

हाम्रो आफ्नो तेल खानी छैन । अर्काको देशबाट इन्धन ल्याउनु पर्ने भएपछि उनीहरुले तेलको मुल्य बढाए हामीले विरोध गरेर मात्र केही हुदैन । बरु देशमा इन्धनको खपतलाई घटाउने गरि सोच्नु पो पथ्र्यो ।

इन्धन प्रयोगलाइ कम गर्न विभिन्न विद्युतीय सवारी साधानको विकल्पहरु विश्वले अघि सारेको छ । सोलार मार्फत चल्ने गाडिहरुको पनि आविस्कार भैरहेका छन् । देशमा ठूलाठूला विद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा छन् ।

यो उर्जालाई डिजेल, पेट्रोलको विकल्पमा प्रयोग गर्ने बारे समयसमयमा चिन्ता हुन्छ तर यसलाई व्यवहारिक रुपमा प्रयोग गर्नेतिर ध्यान जादैन । सरकारले विद्युतीय बसहरु खरिद गर्ने ५–५ किलोमिटरको दुरीमा चार्जिङ सेन्टरहरु खोल्ने लगायतका योजनाहरु अघि सारेको थियो । विद्युतीय गाडिहरु प्रति अझै पनि आम नागरिकलाई विश्वास लागेको छैन । ठ्रूला ठूला शहरहरुमा बाइक र पेट्रोलबाट चल्ने सवारी साधानलाइ विस्थापित गर्दै साईकल र इरिक्सहरुलाई बढाउनु पथ्र्यो । रोपवे र केवल कारहरुको पनि धेरै सम्भावना छ पेट्रोल डिजेलमा बर्षेनी गरिने खर्चले निर्माण गर्न सम्भव थियो ।

काठमाण्डौको रिङरोडमा विद्युतीय बसहरुको धेरै सम्भावना छ । वातावरण पनि सफा हुने र इन्धनको रकमपनि बच्ने यो योजनालाई सरकारले केहि प्रयास गरेपछि पूर्ण रुपमा लागु गर्न सकेको छैन । चिनले एकपटक चार्ज गरे २५० माइल र ३१० माईलसम्म गुड्न सक्ने गिले कारको विक्रि गरिरहेको छ । यस्ता सवारीहरु प्रयोगलाई विशेष प्रोत्साहन दिने । त्यस्तै युवाहरुको निकै सोख रहेका बाईकमा पनि विद्युतीय बाइकहरुको प्रयोगलाइ बढाउनु जरुरी छ ।

सरकारी सवारीहरु अनिवार्य रुपमा विद्युतीय सवारी साधान बनाउन सुरु गर्ने अनि यसको सञ्चार आम नागरिकमा गराउने काम सरकारी तबरबाटै हुनुपर्छ । एक पटक कसैले चढेका गाडी नचढ्ने, सरकारी सम्पत्ती दुरुपयोग गर्ने, अनावश्यक रुपमा गाडि खरिद गर्ने र इन्धनको बिल उठाउने जुन परिपाटि छ त्यसलाई रोक्नैपर्छ । संघदेखि स्थानीय नियकासम्म नै अवस्था हेरेर विद्युतीय सवारीहरुको प्रयोगलाइ प्राथमिकता दिने निती बनाउन निकै ढिला भएको छ ।

सबै शहरहरुका भित्री भागमा साईकल, रिक्सा जस्ता सवारी साधानलाई बढि प्राथमिकता दिने अन्य गाडी तथा डिजेल पेट्रलबाट चल्ने गाडीहरुलाई रोक लगाउदा वातावरण पनि स्वच्छ हुन्छ भने भिडभाड र अनावश्यक कोलाहल पनि कम गर्न सकिन्छ । वर्षेनी लाखौको संख्यामा सवारी साधानहरु थपिदै छन् । एका तिर यस्ता सवारी साधानमा इन्धनको माग बढेको छ भने अर्कोतिर बाटोले नथेग्ने समस्या छ । रोग व्याधी र महामारीले देशको अर्थतन्त्र ध्वस्त हुने अर्कोतिर खर्बौ पैसा इन्धनका लागि बाहिर जादा यसले हामीलाई थला पार्छ नै ।

त्यसैले आवश्यकता भन्दा बढि गाडिहरु खरिद नगर्न, गाडि खरिद नै गर्नुपरे विद्युतीय गाडिहरु खरिद गर्ने, त्यसको लागि आवश्यक पूर्वाधारहरु खडा गर्न लाग्नुपर्छ । इन्धन बेच्ने देशबाट सिधा रुपमा नेपालमा कच्चा तेल ल्याउने र त्यसलाई शुद्धिकरण गरेर प्रयोग गर्नेतिर पनि सरकारले सम्बन्धित पक्षसँग छलफल गर्नैपर्छ । यसो गर्दा सहज रुपमा इन्धन पाइने र व्ययभार पनि कम हुन्छ । धेरै देशहरुले यसरी नै कच्चा तेल किनेर त्यसलाई इन्धनमा परिणत गर्छन् । सरकारदेखि आम नागरिकमा पनि विद्युतीय सवारी प्रयोगको धारणा विकास गर्नू जरुरी छ । निश्चित मात्रामा रहेको इन्धन सकिदै जाँदा यसको मुल्य अझै धेरै बढ्ने निश्चित छ । त्यसैले हामी बीचमा भएका विकल्पबारे नचेत्ने अनि इन्धनको मुल्य बढाएकोमा विरोध गर्नु, चिच्याउनु र भित्तामा टाउँको ठोक्नुको अर्थ हुदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *