आदर्श अनलाइन,लमजुङ
लमजुङको बेसीशहर नगरपालिका-३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउ खेती प्रविधिबारे सीप सिकेका छन् । गाउँघरमै च्याउ खेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पाएका हुन् ।
ग्रामीण सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित युवा उत्थानशील परियोजना अन्तर्गत होमस्टे प्रवर्द्धनका लागि च्याउ खेती प्रविधि सिकाइएको संस्थाका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताउनुभयो । उहाँका अनुसार उक्त परियोजना कर्क इन एक्टी र कर्डएडको सहयोगमा सञ्चालित छ ।
परियोजनाले लमजुङका होमस्टे गाउँकाे प्रवर्द्धनका लागि विभिन्न सीप सिकाउँदै आएको छ । काउलेपानीमा आउने पर्यटकलाई मध्येनजर गरेर सञ्चालकलाई च्याउ खेतीको तालिम प्रदान गरिएको हो ।
परियोजनाले होमस्टे गाउँमा ६ वटा कलस्टरमा सीप सिकाउने लक्ष्य लिएको छ । काउलेपानीमा च्याउ खेतीका लागि कार्यक्रम गरेको छ । बेसीशहर नगरपालिका २ मगरगाउँमा आलुको चिप्स बनाउने सीप सिकाइने छ ।
बेसीशहर नगरपालिका-२ चिसापानी, सुन्दरबजार नगरपालिका-५ गहते र बागेडाँडामा मौरीको मह प्याकेजिङ, ब्राण्डिङ र लेभलिङको सीप सिकाइनेछ ।
सुन्दरबजार-९ सिख्रमा तरकारी खेती सीप प्रदान गरिने आरसीडीसीले जनाएको छ । परियोजनाले युवा तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र साना किसानलाई लक्षित समूह बनाएर काम गर्दै आएको छ ।
परियोजना संयोजक अस्मिता गुरुङका अनुसार होमस्टे सञ्चालकलाई च्याउ खेतीका लागि पराल काट्ने, बीउ छर्ने, प्याकिङलगायतको सीप सिकाइएको छ ।