डम्मर बुढा मगर, बागलुङ
वर्षौँदेखि घरको चुलोचौकोमा सीमित रहेका तमान गाउँका महिलाहरुको दैनिकी फेरिँदै गएको छ । जिल्लाकै सबैभन्दा दुर्गम गाउँका रुपमा मानिने तमानमा अहिले महिलाहरु व्यवसयिक बन्न थालेका छन् । गाउँका महिलाहरुले गाउँ नजिकै भवन बनाएर ढाका उद्योग संचालन गरेका छन् । दुई वर्ष अगाडी उद्योग संचालन ल्याएपछि अहिले उनीहरुको दैनिकी विहान बेलुका घरको काम र दिउँसोभर उद्योगमा बित्ने गर्छ ।
उद्योगले उनीहरुको दैनिकी फेरिएसँगै आयआर्जनमा समेत ठूलो टेया पु¥याएको छ । उद्योगमा केही अर्धबैसे त केही वृद्धा महिलाहरु पनि छन् । उनीहरु आफूले सकेको काम गर्दै आएका छन् । उद्योगमा सबैले आलोपालो तान चलाउने र धागो मिलाउने काम गर्छन् । उद्योगमा १४ जना महिला उद्योगमा आवद्ध रहेका कल्याण आमा समूहकी अध्यक्ष तनिमा घर्ती मगरले बताउनुहुन्छ ।
उनीहरुले उद्योगमा ११ वटा तान राखेका छन् । केहीले तान चालउँछन्, केहीले कपडा बुन्ने काम गर्छन् भने केहीले सामान व्यवस्थापन र धागो मिलाउने गर्छन् । हातमा सिप भए परनिर्भर हुन नपर्ने अध्यक्ष घर्ती मगरले बताउनुभयो । ‘हातमा सीप हुनु पर्छ, सिप भएन भने अरुमा निर्भर हुनुपर्छ, परनिर्भर हुँदा निकै दुःख पाइन्छ, सिप भयो भने जहाँ, जता गए पनि काम गर्न सकिन्छ, भोकले मर्न पर्दैन,’ अध्यक्ष घर्तीले भन्नुभयो ‘सिप भएन भने भोकले मर्ने हो, सिप सिकेर धेरै फाइदा भएको छ, अहिले काम पनि राम्रो हुँदै गएको छ, यसको प्रतिफल पनि राम्रै पाउने छौँ भन्ने आशा छ ।’
दुई वर्ष अगाडीदेखि संचालनमा आएको उद्योगमा धेरै ठाउँबाट माग आएपछि आफुहरुलाई हौसला मिलेको उनीहरु बताउँछन् । घर्तीले महिलाहरुको लगानीमा तालिम लिएर उद्योग संचालन गरेको गरेको भन्दै समूहका सबैले सुरुमा ६०÷६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको बताउनुभयो ।
आफूहरुले उत्पादन गरेका कपडाहरु धेरैजसो गाउँमै विक्री भएको र बजारसम्म पु¥याउनका लागि बढि उत्पादन गर्न थालेको उहाँको भनाई छ । आमा समूहको भवनबाट उद्योग संचालन गरेको हुँदा हालसम्म घर भाडा भने तिर्न नपरेको घर्ती बताउनुहुन्छ । ‘हामी सबै दिदीबहिनीहरुको लगानीमा उद्योग संचालन गरेका हौँ, अहिलेसम्म राम्रो भइराखेको छ,’ घर्ती मगरले भन्नुभयो ‘माग पनि ठिकठिकै छ र उत्पादन पनि ठिकै छ, अब बिस्तारै ठुला ठुला बजारहरुमा पठाउने गरि काम गरिराखेका छौँ, बजारका लागि केही समस्या हुन्छ कि भन्ने छ, बिस्तारै त्यसको पनि व्यवस्थापन हुन्छ कि भन्ने अपेक्षा राखेका छौँ ।’
आफुहरुको उद्योग ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादा लगायतका कपडाहरु बनाउँदै आएको उद्योगमा आबद्ध जुनुमाया घर्ती मगरले बताउनुभयो । उहाँले संचालन भएको एक वर्षसम्ममा राम्रै चलिराखेको भन्दै उत्पादन गरेका सामग्रीहरुको बजार व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो । ‘हामीले उद्योग संचालन गरेको एक वर्ष भयो, केही समय कोरोनाको कारणले गर्दा अवरुद्ध भयो, अहिले फेरी सुरु गरेका छौँ,’ उहाँले भन्नुभयो ‘अझै पनि हामीले यसलाई व्यवस्थापन गरिरहेका छौँ, अरु थप कपडाहरु पनि बनाउँछौँ अझै केही थपिने छन् ।’
कपडा बनाउन चाहिने धागो तथा अन्य सामानहरु बुर्तिबाङ, पोखरा तथा काठमाण्डौबाट ल्याउने गरेको उनीहरुको भनाई छ । सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने महिलाहरु बताउँछन् । कोरोनाको कारण उद्योग संचालनमा केही असजता सिर्जना भए पनि आफूहरुले स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गरेर काम गरेको जुनुमाया बताउनुहुन्छ ।
उहाँले एउटा सल बुन्नको लागि २ देखि ३ दिनसम्म लाग्ने र अरु कपडाहरु बुन्नका लागि १ दिनदेखि हप्ता दिनसम्म लाग्ने बताउनुभयो । उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समयसम्म पर्ने गर्छ भने एउटा सलको १२ सय देखि २ हजार पाँच सयसम्म पर्ने गर्छ । उहाँले उद्योगमा काम गर्न थालेपछि बालबालिका पढाउन र घर खर्च चलाउन समेत सहज भएको बताउनुहुन्छ ।