बेथितिको चाङमा कांग्रेस भातृ संस्था

सम्पादकीय
नेपाली कांग्रेस मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । कम्युनिष्ट पार्टीहरु भन्दा सदैव पृथक दाबी गर्ने कांग्रेसको पार्टी सञ्चालनको अवस्थालाई हेर्ने हो भने उदेक लाग्दो अवस्था देखिन्छ । जबकि कांग्रेसमा पुरै जीवन समर्पण गरेका सयौं नेताहरु छन्, तर आन्तरिक पार्टी जीवन र चलायमानको अवस्थालाई हेर्ने हो भने निराशाजनक परिदृश्य देखिन्छ । कांग्रेसले संविधानको बाध्यकारी व्यवस्थाका कारण केही महिना अघि मात्रै राष्ट्रिय महाधिवेशन मार्फत नेतृत्व चयन गरेको छ । यसले पार्टीलाई पुर्नजीवन, आशा र उत्साह दिएको छ तर, भातृ संस्थाहरुको भने वर्षौदेखि कन्तबिजोगछ ।

नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक दुई–दुई वर्षमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । ०७३ भदौ पछि विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन हुन सकेको छैन । नेपाल तरुण दलको हालत पनि उस्तै छ । २०७३ मङ्सिरमा जीतजंग बस्नेत नेतृत्वको तरुण दलको पाँच वर्ष सम्म कमिटीले पूर्णता पाउन सकेको छैन । ९५ सदस्यीय कार्यसमितिमा चार जना पदाधिकारीमै पाँच वर्ष बितिसक्यो । तीन वर्षे कार्यकालमा बस्नेत नेतृत्वको कार्यसमितिले थप दुई वर्ष बिताइसक्दा पनि तरुण दलले अधिवेशन गर्न असफल रह्यो । ०७३ असोजमा भएको महाधिवेशन पछि नेपाल महिला संघको पनि नयाँ नेतृत्व चयन हुन सकेको छैन । संघका अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पार्टीको केन्द्रीय सदस्य भएपछि महिला संघमा नयाँ कमिटी ल्याउनुपर्ने बाध्यता छ । तीन वर्षे कार्यकाल रहेको नेपाल दलित संघको चौथो महाधिवेशन २०६९ सालमा सम्पन्न भएको १० वर्ष भइसकेको छ । योबीचमा विश्वकर्मा तीनपटक केन्द्रीय सदस्य भइसके । तर, उनले महाधिवेशन नगरेर कार्यकाल लम्ब्याउँदै दशक बिताइसकेका छन् । २०६४ सालमा गठन भएको किसान संघले अहिलेसम्म महाधिवेशन गर्न सकेको छैन भने नेपाल प्रजातन्त्र सेनानी संघले पनि २०६९ सालपछि अधिवेशन गरेकै छैन । २०७३ साल केन्द्रीय अधिवेशन गरेको नेपाल भूतपूर्व सैनिक संघ र २०६४ सालदेखि नेपाल आदिवासी जनजाति संघको पनि अधिवेशन भएको छैन ।

नेपाली कांग्रेस सबै भन्दा पुरानो पार्टी भएका हिसाबले पनि यसले आफ्ना लामा अनुभवहरुलाई पार्टी जीवनमा प्रयोग गर्नुपर्छ । कांग्रेस सँग सत्ता अनुभव पनि लामै छ । तर, विगतका अनुभवबाट सिकाई र सुधार होइन । भातृ संस्थाको समयमै अधिवेशन नहुँदा नेतृत्व उत्पादनमा जाम छ । कुनै नेताको तजबीजबाट अध्यक्ष घोषणा गरिदिने कुराले लोकतान्त्रिक पार्टीलाई गिज्याइरहेको छ । पुरानै कमिकमजोरीहरुको पटक–पटक पुनरावृत्ति गर्दै आफ्नो लोकप्रियतामा ह्रास ल्याइरहेको छ । कांग्रेस अहिले पनि सत्तामा छ । ऊ सँग धेरै अवसर छ । तर, बिडम्बना न सरकार, सरकार जस्तो चलायमान देखिएको छ न पार्टी । अहिले कांग्रेसमा युवा पुस्ताको प्रभावशाली उपस्थिति छ । यद्यपि, त्यसको सकारात्मक बाछिटाहरु देखिन सकेका छैनन् । अब कांग्रेसले बारबार एकै किसिमको बेथिति र प्रवृत्ति दोहोराउने कार्यलाई सचेत नागरिकले क्षमा गर्ने छैनन् । अतः सरकार र पार्टी दुवैलाई व्यवस्थित, गतिशील बनाउनु कांग्रेसका लागि अपरिहार्यता छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *