बागलुङका १२७ पशुपालक कृषकलाई डेढ करोड अनुदान

आदर्श अनलाइन, बागलुङ
बागलुङका पशु किसानहरुले यो आर्थिक वर्षमा झण्डै डेढ करोड अनुदान पाउन थालेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु. एक करोड सात लाख ५० हजार र संघीय सरकारको रु. ५० लाख बजेट गरी जम्मा रु. एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशु कृषिक, फर्म तथा सहकारीहरुले अनुदान पाउन थालेका छन् ।

प्रदेश सरकारको साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना तथा विस्तार कार्यक्रम अन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले पशु कृषकहरुलाई निवेदनको लागि आह्वान गरेकोमा २६९ फर्मको आवेदन परेको थियो ।

जसमध्ये छनौटका विभिन्न आधार मुल्याङ्कन गर्दा ७० फर्महरुले रु. एक लाख ५ हजारका दरले अनुदान पाउन स्विकृत भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका पशु अधिकृत केशव प्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार यो आर्थिक वर्षको स्विकृत योजना अनुसार साना पशुपन्छी तथा मत्स्य नमूना फर्म स्थापना र विस्तारका लागि २३ बाख्रापालन फर्म, १७ बंगुर फर्म, १६ गाईभैसी फर्म र १४ कुखुरा फर्मले रु.७३ लाख ५० हजार अनुदान पाउनका लागि धमाधम सम्झौता गरिरहेका छन् ।

यस्तै पशु पकेट क्षेत्र स्थापना तथा विस्तार कार्यक्रम अन्र्तगत तीन सहकारी तथा समूहले रु. २४ लाख अनुदान पाएका छन् । जिल्लाको काठेखोला गाउँपालिका–८ स्थित कादेश कृषि तथा पशुपालन समूह, निसीखोला गाउँपालिका–५ स्थित बडवानखोला मसालगाउँ नमूना कृषि सहकारी लिमिटेड र बागलुङ नगरपालिका–११ स्थित आफ्रे कृषक समूहले रु. ८ लाखका दरले अनुदान पाएका हुन् ।

यस्तै संघीय सरकारको रु. ५० लाख बजेटमा गलकोट नगरपालिकामा बाख्रा पकेट क्षेत्र र बागलुङ नगरपालिकामा बंगुर पकेट क्षेत्रका दागि २५ लाखका दरले अनुदान कार्यक्रम स्विकृत भएको छ ।

जसमध्ये दुई पकेट क्षेत्रका उत्कृष्ट २५÷२५ किसानलाई एक लाखका दरले रु. ५० लाख अनुदान दिइनेछ । तर पकेट क्षेत्र अनुदान कार्यक्रम भने छनौटकै चरणमा रहेको छ ।

यस्तै भैसी विकास कार्यक्रम अन्र्तगत पाला दुग्ध उत्पादनक सहकारी संस्थामा आबद्ध किसानहरुले रु. १० लाख अनुदान प्राप्त गरेका छन् । “दुई आर्थिक वर्षमा कुनै अनुदान नपाएका व्यक्ति, फर्म, सहकारी र समूहलाई अनुदान स्विकृत गरिएको हो” शर्माले भन्नुभयो “छुट्टा छुट्टै अनुदान कार्यक्रममा छुट्टै मापदण्ड हुन्छ, स्थलगत अनुगमनका क्रममा मापदण्ड पुगेका, विदेशबाट फर्केका, यस अघि अनुदान नपाएका पशु किसानलाई प्राथमिकताका आधारमा छनौट गरिन्छ ।”

साना व्यावसायिक फर्म अन्र्तगत अनुदानमा आवेदन दिनका लागि बाख्रा १५ माउ, बंगुर पाँच माउ र भैसी पाँच माउ, स्थानीय कुखुरा २५०, लियर्स जातको कुखुरा ५०० र ब्रोइलर १००० हुँन आवश्यक छ ।

त्यसको अतिरिक्त फर्म रहेको जमिनको अवस्था, बजारीकरणको अवस्था, बैदेशिक रोजगारीबाट फर्केको, कृषकले ल्याएको तालिम लगायतको कुरालाई मध्यनजर गर्दै अनुदान स्विकृत गरिदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो । प्रत्यक्ष रुपमा १२७ कृषक लाभान्वित हुँनेभए पनि सहकारी र समूह मार्फत अप्रत्यक्ष अनुदान पाउने कृषकहरु धेरै छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *