तमानखोलाको सबै वडामा सहज स्वास्थ्य सेवा

डम्मर बुढा मगर, बागलुङ
एक दशक अगाडीसम्म जिल्लाको तमानखोलाका गाउँहरुबाट नागरिकहरु स्वास्थ्य उपचारका लागि घण्टौँ लगाएर बुर्तिबाङ बजार पुग्नु पर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी झाँक्री कहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् । तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका ३ स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र स्थापना, ३ स्थानमा सामुदायिक स्वास्थ्य इकाई र ३ स्थानमा स्वास्थ्य चौकी सञ्चालनमा छन् ।

साबिकका तमान, बोङ्गादोभान र खुङ्खानी गाबिसमा १÷१ वटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । ठाउँ–ठाउँमा स्वास्थ्य केन्द्र स्थापना भएपछि उपचारका लागि निकै सहज भएको वडा नम्बर ४ की लालमाया छन्त्यालले बताउनुभयो । उहाँले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारको लागि पनि घण्टौँ लगाएर ऋण खोजेरै बुर्तिबाङ पुग्ने गरेको अनुभव सुनाउनुभयो ।

‘पहिले यस्तो सुविस्ता थिएन, गाउँमा कोही बिरामी भए भने डोकोमा बोकेर अस्पतलामा पु¥याउनु पर्ने अवस्था थियो, अहिले सानातिना बिरामीहरु यही गाउँकै स्वास्थ्य चौकीमा उपचार हुन्छ,’ छन्त्यालले भन्नुभयो ‘घण्टौँ लगाएर ऋण खोजेरै बुर्तिबाङ पुग्ने म मात्रै होइन गाउँका सबै जना त्यस्तै गर्नुहुन्थ्यो, अहिले धेरैलाई सजिलो भएको छ, बिरामी पर्दा बित्तिकै स्वास्थ्यचौकीमा गइ हाल्छन् ।’

गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यान समेत गुमाउने गरेको भन्दै अहिले बिरामी हुँदा बित्तिकै स्वस्थ्य चौकी पुगेर चेकजाँच गर्ने र ठूलो उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान स्वास्थ्यकर्मीले सुझाउने हुँदा समयमै उपचार पाउने गरेको उहाँको भनाई छ ।

‘पहिले–पहिले नजिकमा अस्पताल थिएन, मान्छे बिरामी भए पनि खास्सै अस्पताल जाँदैनथे, त्यस्ले गर्दा कतिले त अकालमै ज्यान गुमाए,’ उहाँले भन्नुभयो ‘अहिले त बिरामी हुँदा बित्तिकै स्वास्थ्य चौकी पुगिहाल्छन् र यहा उपचार हुन सकेन भने ठूलो अस्पतालमा गएर उपचार गराउँछन् ।’

नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । नागरिक बिरामी परे घण्टौ लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रुपमा सहज गराउनका लागि सामुदायिक स्वास्थ्य इकाई र प्राथमिक स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेको उहाँको भनाई छ ।

‘तमानखोलाका धेरै जस्तो गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको थिएन, नागरिकहरु सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा जानु पर्ने अवस्था थियो, उहाँको समस्यालाई मध्यनजर गरि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र, सामुदायिक स्वास्थ्य इकाइहरु स्थापना गरेको छ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘अब नागरिकहरुलाई सामान्य उपचारका लागि टाढा जानु पर्ने बाध्यता हटेको छ ।’

पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिकहरु अहिले एक घण्टामै आउन सक्ने भएको छ । गाउँपालिकाले वडा नम्बर ६ वडाको नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ । त्यस्तै, वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको छ ।

गाउँपालिका हुनु भन्दा पहिले वडा नम्बर १ बोङ्गादोभान, वडा नम्बर ३ तमान र वडा नम्बर ५ खुङ्खानीमा स्वास्थ्य चौकी थियो । पालिकाले सामुदायिक स्वास्थ्य इकाई र प्राथमिक स्वास्थ्य इकाई स्थापना नगर्दा सम्म तमानखोलाबासीले यी ३ वटा स्वास्थ्य चौकीबाट सेवा लिन बाध्य थिए । थप जटिल किसिमको रोग लागेमा बुर्तिबाङ जानुपर्ने बाध्यता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *