सरोजराज पन्त
प्रेमबिनाको संसार साँच्चिकै असम्भव छ । मानिसले जीवनमा जस्तोसुकै सफलता हासिल गरेपनि, जुनसुकै पदमा पुगेपनि उसँगै प्रेमका अनुभुतिहरुले अंकमाल गरिरहेका हुन्छन् । प्रेम अनुभुतिको खाँचो मानिसलाई मात्रै होइन पशुलाई पनि हुने गर्दछ । प्रेम समस्त ब्रमाण्डमा रहेका हरेक सजीव भावनाहरुको एक साझा विशेषता हो ।
भ्यालेन्टाइन पश्चिमा संस्कृति भएपनि संसारलाई प्रणय सूत्रको सन्देश सिकाउनु नराम्रो कार्य होइन भनिन्छ । संसारमा हत्या, हिंसा र मानवीयताको खडेरी परिरहेको समयमा प्रेमको भाव फैलिनु अत्यन्तै सुन्दर पक्ष हो । प्रेम विश्वास हो, प्रेम जीवन जीउने आधार हो । सच्चा प्रेम एक सुन्दर रचना हो । प्रेम शब्द आफैले कुनै अशोभनीय होइन तथापि समाज र संस्कृति गतिशील भएकोले निरन्तर परिवर्तनसँगै यसका असरहरु देखा परिरहेका छन ।
प्राचिन समाजदेखि वर्तमान समाजको तुलनागर्दा अनगिन्ती परिवर्तनहरु भएका छन् । समाज परिवर्तनसँगै कैयौ सामाजिक मूल्य, मान्यता, रीतिरिवाज, सामाजिक विश्वास, सांस्कृतिक गतिविधिहरुमा अहिले अनेकौ परिवर्तन हुँदै आएका छन् । यी विविध परिवर्तनको प्रभावबाट नेपाली समाजमा सकरात्मक तथा नकरात्मक प्रभाव परेका छन । आज समाज पश्चिमी संस्कृतिबाट अछुत रहन सकेको छैन । अछुत रहोस् पनि कसरी आजको विश्व व्यापीकरणले गर्दा सानो गाउँ बनेको छ । सांस्कृतिक, आर्थिक, सामाजिक जस्ता विभिन्न पर्खालहरु भत्किसकेका छन् । सीमा विहिन गाउँ आज अनेकता भित्रको एकता, विविधता भित्रको विषमतामा जेलिएको छ ।
आजको सामाजिक सञ्जाल, सूचना तथा प्रविधि आदिको माध्यमबाट संस्कृतिहरु विश्वव्यापी भई रहेका छन् । अहिले सामाजिक सञ्चाल मार्फत प्रेम गर्न, प्रस्ताव राख्न कुनै भ्यालेन टाइन डे कुर्नु नै नपर्ने अवस्था छ । त्यसो त भ्यालेन टाइन डे को बारेमा र यसको महत्वको बारेमा नेपाली समाजमा अहिले व्यापक चर्चा परिचर्चा भइरहन्छन् । यसका सकरात्मक र नकरात्मक पक्षको बारेमा आवाज पनि उठ्ने गरेका छन् । भ्यालेन टाइन डेलाई सबै नेपाली र नेपालको माटोले बुझ्न गाह्रो पनि छ भने यसलाई पचाउन पनि त्यत्तिकै ग्राहो मानेको अवस्था पनि छ । यस्तै माया प्रेम गास्न, साथी बनाउन कुनै विशेष दिन हुनै पर्ने अवस्था आउनु पर्ने कारण र यसको प्रभावको छुट्टै ऐतिहासिक महत्व पनि विश्व सन्दर्भमा रहेको छ । प्रणय दिवस अर्थात भ्यालेन टाइन डे लाई आज महान पर्वको रुपमा लिने गरेको पाइन्छ ।
किन, कसरी र कहिलेबाट मनाउन थालियो भ्यालेनटाइन डे ?
सेन्ट भ्यालेण्टाइनलाई सम्झदैँ १९ औ शताब्दीमा रोमबाट भ्यालेण्टाइन दिवस मनाउन थालिएको हो । रोमन पादरी भ्यालेनटाइनले जेलमा परेका कैदीहरुलाइ इशापूर्व २ सय ७८ मा सामूहिक विवाह गराई दिएपछि तत्कालिन रोम सम्राट क्लोडिअस द्धितीयले क्रुद्ध हुँदै पादरी भ्यालेण्टाइनलाई मृत्युदण्डको सजाय सुनाइएको दिनको सम्झनामा संसारका प्रेमीहरुले यो दिवस मनाउने गरेका छन् । क्रुर शासक क्लोडिअसले आफ्नो शासनमा अनगिन्ति हिंसाका घटनाहरुमा संलग्न रहेको इतिहासमा उल्लेख छ । यति सम्मकी आफ्ना सैनिकहरुलाई क्लोडिअसले कहिल्यै बिदा नदिने जसका कारण सैनिकहरु आफ्ना प्राणभन्दा प्यारी प्रेमिका र श्रीमतिसँग भेट गर्न छट्पटाइरहेको अबस्था हुन्थ्यो । भ्यालेन्टाइनको हत्यापछि सम्राट क्लोडिअसको शासनबिरुद्ध सिंङ्गो रोम साम्राज्यमा विरोध भयो र यसको परिणामस्वरुप रक्लोडिअसको शासनको अन्त्य हुँदै प्रेमका पुजारीहरुको बिजय भयो । यसरी एक पादरीजस्तो पवित्र कार्यमा संलग्न ब्यक्तिको नै हत्या भएपछि यसको रोम साम्राज्यमा व्यापक विरोध र प्रेमका पक्षमा ब्यापक समर्थन जुट्दै गएको थियो र विस्तारै संसार नै प्रेम हो भन्ने नाराका साथ सेन्ट भ्यालेन्टाइनलाइ अमर तुल्याउन १४ फेब्रुअरीलाई विशेषरुपमा मनाउन थालिएको हो ।
भ्यालेनटाइन सप्ताहको महत्व
७ फेब्रुअरी यो दिनलाई रोज डेको रुपमा मनाइन्छ । यो दिन आआफ्नो प्रेमीलाई वा मन पराएकोलाई रातो गुलाव दिएर आफूप्रति आकषिर्त गर्ने गरिन्छ । हिटलरले पनि आफ्नी प्रेमिका इभालाइ ७ फेब्रुअरीमा रातो गुलाव उपहार दिएको किम्वदन्ती छ । ८ फेब्रुअरी ८ फेब्रुअरीलाई प्रपोज डेकोरुपमा मनाइने गरिन्छ । यो दिन आफूलाई मन परेको मान्छेसंग सम्मान सहित निर्धक्क प्रेम प्रस्ताब राख्न गर्दछन ।
९ फेब्रुअरी ९ फेब्रुअरीलाई चकलेट डेकोरुपमा मनाइन्छ । यो दिनमा आफूलाई मन परेको मान्छेलाई मिठो खुवाएर भावनात्मकरुपमा नजिक हुन गरिन्छ । मीठो खानेकुरासँगै माया पनि झाँगिदै जाने विश्वास छ । स्वादिलो चकलेटले मायालाई अझ प्रगाढ बनाउने विश्वास छ ।
१० फेब्रुअरी १० फेब्रुअरीलाई टेड्डी डे को रुपमा मनाइने गरिन्छ । टेडि एकदमै नरम र मुलायम खालको हुन्छ । यसलाई माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेड्डी गिफ्ट दिने गरिन्छ ।
११ फेब्रुअरी ११ फेब्रुअरीलाई प्रोमिस डेकारुपमा मनाइन्छ । यो दिन आफ्नो मायालुसँग प्रेमलाई सधै सार्थक पार्ने कसम खाइन्छ । मायामा विश्वासको कसमसँगै बलियो बनाउने यो विशेष दिन हो । जीवनभर अटुट साथ दिने वाचा जोडीहरुले यस दिन खाने गर्दछन् ।
१२ फेब्रुअरी १२ फेब्रुअरी हग डे हो । यो दिन न्यानो आलिङ्गनमा बाँधिएर प्रेमीहरुले आफ्नो प्रेमको गहिरो अनुभुति ब्यक्त गर्ने गर्दछन । यो दिन तपाइले आफ्नो प्रेमिलाई जाँच्ने दिन पनि हो । उसले कति टाइट हग गर्छ यसबाट प्रेमप्रतिको समर्पण मापन गर्ने गरिन्छ ।
१३ फेब्रुअरी फेब्रुअरी १३ एक महत्वपूर्ण दिन हो । यसलाई किस दिवस् अर्थात् चुम्बन दिवसका रुपमा मनाइने गरिन्छ ।
१४ फेब्रुअरी यो अन्तिम तथा बिशेष दिन हो अर्थात् भ्यालेन्टाइन डे । यसअघि मनाइएको सबै दिनको स्वादसँगै चाख्ने दिने हो । यो दिनमा प्रेमीहरुबीच रहेका तीतामीठा सबै भावना खुलस्त एकअर्कालाई भनेर सफा हृदय बनाउने गर्नु पर्दछ ।
शिक्षा क्षेत्रमा लामो समय लागेका व्यक्तिहरुको बुझाई पनि समयको गतिसँगै लभ गर्ने चलन आएपनि उमेरको परिपक्कता भएपछि मात्र यो गतिविधिमा लाग्दा राम्रो हुने र कलिलै उमेरमा विषयवस्तु, अवस्था, परिस्थिति नबुझीकन प्रेम(प्रणय) दिवसको रुपमा आफूलाई आहुति नगर्न सुल्झाउँछन् । विशेषत ‘भ्यालेन टाइन डे’ साथी बनाउन, मित्रताको संख्या बढाउन, सकरात्मक सोच, विचारबाट राम्रो विषयमा छलफल, वहस, पठनपाठनका समस्या समाधानमा साथ दिन प्रयोग भएमा यसले कुनै फरक नपर्ने र त्यसबाट नेपाली जनजीवनमा नकरात्मक प्रभाव नपर्ने हुन्छ । तर भ्यालेन टाइन डे (प्रणय दिवस) को नाममा लभ गर्ने, हतारमा डेटिङ जाने, चोखो माया लगाउन भन्दा बाहिरी आवरण हेरेर लभ गर्ने, भ्यालेन टाइन डे का दिन हतारमा प्रस्ताव राख्ने प्रवृत्ति, चनचले स्वभाव, समझदारी भन्दा सेन्टीमेन्ट अनुसार लभ गर्ने, माया प्रेमलाई धनसँग तुलना गर्ने, यर्थाथता भन्दा देखावटीमा प्रेम गर्ने, नसोची साथी भाइको लहैलहैमा लागेर लभमा फस्ने प्रकृति, एकअर्का बीच पूरा अध्ययन नगरी हाम फाल्ने गर्नाले, स्टालिस्ट र फरवार्ड देखिन, प्रेम बजारमा धमाका देखाउने उद्देश्यले, प्रेम त्यागमा नभई ‘टर्च टु मुभ’ शैलीले गर्ने भएकोले, फेसबुक र सामाजिक सञ्जालको कारण, सतही माया, धेरै स्वतन्त्रता, नैतिकता इमानदारीता, वफदारिताको अभावका कारण, परसंस्कृति करण, कम्प्रोमाइजको अभाव, प्रेमलाई तुरुन्त शारीरिक सम्बन्धमा परिणत गर्न खोज्ने शैली बढ्दै जानु,समय उमेर, अवस्थाको ख्याल नराखी तुरुन्त शारिरीक सम्बन्ध स्थापित गर्ने र सानै उमेरमा गर्भवती बन्ने, परिवारबाट तिरस्कृत भएर छुट्टै बस्नु पर्ने, स्याहार सुसारको अभावमा गर्भवती अवस्थामा अकालमा ज्यान गुमाउनु परेका दृष्टान्त पनि हामी सामू छलङ्ग छन् । त्यसैले प्रणय दिवसका नाममा एक दिन रमाउने र अन्यदिन रोएर दिन काट्नु पर्ने, अमूल्य जीवन ववार्द गर्ने गरी भ्यालेन टाइन डे मनाउनु कुनै औचित्य रहँदैन ।
अहिले भने यही मौका छोपेर प्रस्ताव राख्ने, लभ गर्ने, प्रेमजालमा रमाउने, तुरुन्तै रोमान्स गर्ने, शारीरिक सम्बन्ध स्थापित गर्ने , विवाहमा परिणत गर्ने, सम्बन्ध विछोड गर्ने, पुन विवाह गर्ने, घरमा श्रीमान हुँदा हुदै पर पुरुषसँग रमाउने, डेटिङ्ग जाने, घरमा श्रीमतीलाई छलेर परस्त्रीसँग रोमान्स गर्ने, एकै क्षणमा लभ अनि विवाह गर्ने, तुरुन्तै ट्राजिडी पर्ने,‘लभ इन फेसबुक’, ‘लभ एण्ड डेटिङ्ग’, लिभिङ्ग टुगेदर, लभ एण्ड ट्राजिडी, फेसन अफ लभ, लभ फर रोमान्स, लभ भर करियर आदि रुपमा लिएर यो दिवसलाई वर्ष भरिनै मनाउने क्रम बढ्दै गएको छ ।
भ्यालेनटाइन डे, लभ, फेसबुक आदि आज यति सर्वव्यापी भएका छन् । यो करिब सदावहार चलिरहन्छ । चार कक्षामा पढ्ने कुनै छात्र—छात्रा देखि उमेरले पाको बनेका वृद्धवृद्धाहरु पनि यसको स्वादलिन पछि नपरेको यर्थाथता झल्किनुले यूवा पुस्तामा चर्चित भ्यालेनटाइन ‘डे’ आज अन्य उमेर समूहमा पनि प्रसार भइ रहेको छ । उमेर अनुसार अविवाहितले आफूलाई मन परेका यूवा÷यूवतीलाई प्रस्ताव राख्ने, मनका कुरा साटासाट गर्ने दिनको रुपमा भ्यालेनटाइन डेलाई प्रयोग गर्ने गर्छन् । यो दिन प्रस्ताव राख्दा मन परेपनि नपरेपनि उजुर वाजुर नलाग्ने विश्वास स्वरुप नेपाली समाजमा यो दिवस मनाइन्छ । वास्तवमा प्रेम दिवस(भ्यालेन टाइन डे ) बाट नेपाली समाजमा कस्तो प्रभाव परेको छ । नेपाली समाज र संस्कृतिले यो दिवसलाई कसरी लिने गरेको छ भन्ने प्रश्नमा उमेर समूह, मानिसको प्रवृत्ति, चेतनाको स्तर, शहरिकरणको प्रभाव, सामाजिक परिवेश आदिको आधारमा फरकफरक विचारहरु रहेको पाइन्छ । यूवा जमातमा लोकप्रिय यो दिवसले छुट्टै अस्तित्व र महत्व राखेको देखिन्छ । उनीहरु प्रेम गर्नु पाप होइन, साथी बनाउनु, लाइक, कमेन्ट गर्र्नुृ कुनै पाप होइन । यो जीवनको आवश्यकता हो । यो दिवसलाई खुलेर मनाउनु पर्दछ भन्ने धारणा रहेको छ ।
त्यसैगरी प्रेम गर्न साथी बनाउन र जीवनमा प्रेम गरी त्यसलाई वैवाहिक जीवनमा परिणत गर्दै राम्रो घर परिवार जमाउन यो दिवसको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्न समेत पछि पर्दैनन् । तर यूवाजमातको यो तर्कलाई पाका उमेर भएका उनीहरुका बाबा आमाहरुले स्विकार गर्न सकेको देखिदैन । यो दिवसको नाममा छाडा संस्कृति भित्रिएको सानै उमेरमा प्रेम गरी डेटिङ जाने, फेसबुकमा झुल्ने, पठनपाठनलाई प्रभावित पार्ने र आफ्ना पे्रमी, प्रेमिकालाई खुसी पार्न समय दिने भन्दै कलेज हाप्ने प्रकृति बढेको र चुरोट, रक्सी, ड्रक्सको समेत विगविगी बढ्दै गएको समेत बुझाई रहेको छ ।
यसैगरी साथी बनाउने, लभ गर्ने नाममा मेरा÷मेरीलाई साइट हानिस, लाइक, कमेन्ट गरिस भनी ग्याङ्ग फाइट गर्ने, काटमार गर्नुले पनि यो दिवस केवल शारीरिक सम्बन्ध र निश्चित स्वार्थका लागि मनाउने गरेको हो कि भन्ने देखिन्छ । यसैको कारण मानसिक तनाव, पारिवारिक झैझगडा, डिर्भोस, आत्महत्याका समस्या पनि बढदै गएका छन् । यसैगरी लागु औषधको समस्या पनि यसको कारण भित्र पर्दै आएका छन् । नेपाली समाज पाश्चायत÷पश्चिमी संस्कृतिको प्रभावबाट अगाडि बढ्दै जाँदा पश्चिमी देशको जस्तो चेतनाको स्तर, आय स्रोत, सामाजिक सांस्कृतिक परिवेश र वातावरणबाट अगाडि बढ्न सकेको छैन । जनजीवन उनीहरुको जस्तो सहज छैन नेपाली मूल्य, मान्यता, परिवेश, विश्वास आदिले गर्दा यस प्रतिको दृष्टीकोण र बुझाइ पनि फरक रहेको छ । समाज, सामाजिक मूल्य, मान्यता, आर्थिक अवस्था, स्व नियन्त्रण गर्ने क्षमता आदिमा परिपक्कता नआएसम्म यसले नेपाली समाजमा सकरात्मक प्रभाव भन्दा नकरात्मक प्रभाव बढी पार्ने देखिन्छ । वर्तमान नेपाली समाजमा केटाले मेरी केटी साथी छ भन्न सक्नु तर केटीले मेरो केटा साथी छ भनेर सहज आफ्ना अभिभावकसँग कुरा राख्न नसक्ने अवस्था छ ।
लुकेर गरेको प्रेम भ्यालेन टाइन डे का दिनलाई मात्र हुने र त्यो दिन प्रस्ताव गरेर अन्य दिन निरन्तरता दिन जटिल अवस्था हुँदा झैझगडा, कुटपिट, गालीगलौज, ब्याकवाइटिङ्ग आदिमा गएर टुङ्गिने र विवाहको समयमा गम्भिर सामाजिक प्रतिष्ठासँग जोडिएको विषय बन्ने गरेको उदाहरण पनि हामी सामू छर्लङ्ग छन् । सबै समाज, वर्ग, लिङ्ग, क्षेत्र,उमेर समूहले सहज रुपमा स्विकार गर्न नसक्ने समयसम्म च्यालेञ्ज स्वरुप मनाउने प्रणय दिवस कति सार्थक हुने, कति दिगो हुने , यसले विवाह र परिवार जमाउन कतिसम्म फलदायी हुने ? भन्ने प्रश्न पनि आज जनमानसमा उठ्ने गर्दछन् । पश्चिमा देशमा जस्तो १८ वर्ष पुरा भएपछि आफ्ना छोराछोरी कानुनी रुपमा परिपक्क हुने, आफ्नो खुट्टामा आफै उभिएर जीवन चलाउनु पर्ने, स्वतन्त्र ढंगले निर्णय गर्न पाउने सामाजिक मूल्य मान्यता भएको देशमा मनाउने यो दिवस नेपाली समाजमा कत्तिको सर्छ , फूल्छ, फूलेको छ , फल दिन्छ÷दिएको छ वा छैन ? वास्तवमा सबै नेपाली मन अन्तस्करणले पचाएको वा नपचाएको यो विषयमा छर्लङ्ग हुन आवश्यक छ । आफ्ना नानीबाबुले राम्रो गरे वा गरेनन् साथी रोजेर राम्रो काम गरेका छन् वा छैनन् ? त्यसबाट उनीहरुको जीवनमा कस्तो प्रभाव परेको छ ? यसले गर्दा उनीहरुको जीवन वृति, अध्ययन, व्यवस्थापन कार्यमा कस्तो अवस्था सृजना भएको छ वा होला भन्ने विषयमा छर्लङ्ग भएर आफ्नो आत्माले सही ठम्माए यसलाई स्वीकार्न गाह्रो छैन र ठम्माउन नसक्दा लहैलहैमा लागेर हिड्ने नानी बाबुलाई चित्तबुझाएर यसका प्रभावको बारेमा छर्लङ्ग पार्नु जरुरी छ ।
अहिले यो दिवसका नाममा परिवारमा थप जटिलता थपिएको छ, प्रेम दिवस मनाउन दिँदा पनि र नदिदा पनि । यसको बारेमा स्वय यूवापुस्ता छर्लङ्ग हुने आफ्ना बाबा आमालाई रिझाएर, बिस्वत गराइ स्वच्छ प्रेम गर्ने साथी बनाउन,े डेटिङ्गमा भन्दा काम गर्ने साथीसँग केही सिक्ने, सिकाउने हार्डवर्क गरी जीवनलाई सहज बनाउन, सरल बन्ने र नेटवर्क मार्फत आफ्ना प्रतिभाहरुलाई प्रस्फुटन गराउने कार्यमा लाग्न सके भ्यालेन टाइन डे सच्चा साथी बनाउने स्वर्णीम दिनमा परिणत हुन सक्दछ । अन्यथा प्रेम, डेटिङ्ग, किस, मिस हुने र अन्त्यमा सबै कुरा ‘इस’ हुने अवस्था आउन सक्दछ । प्रेमको नाममा कुरै नबुझी शारीरिक सम्बन्ध स्थापित गर्ने ,निहित स्वार्थमा रमाउन खोजेमा हतारमा प्रणय दिवस मनाउने र फुर्सदमा पश्चताप गरी ‘ज्या संस्कृति’ भित्राउने अर्थात ढिला भएपछि जीवनभर पश्चताप गर्ने अवस्था आउन सक्दछ ।
परिपक्क सोच, आपसी समझदारी, इष्टालिस्ट भन्दा कम्प्रोमाइज गर्ने, सहनशीलता, नैतिकता, आयातित प्रेम भन्दा यर्थाथ र वास्तविक प्रेम गर्ने, धनले भन्दा मनले जितेर प्रेम गर्ने, क्षणिक स्वार्थलाई भन्दा जिवन्त माया गर्ने, फेसबुक लभ, डेटिङ्ग भन्दा वास्तविकता बुझेर प्रेम गर्ने, छाडा संस्कृतिको अन्त्य गर्दै विश्वासिलो, भरपर्दो प्रेम दिवस अर्थात प्रणय दिवस मनाउने गरेमा यसले परिवार, समाज र राष्ट्रका लागि कम क्षति पु¥याउने देखिन्छ । यो विषयमा परिपक्क भएर निश्चित स्वार्थ र सर्त रहित ढंगले समाज, सामाजिक, परिवेश, अवस्था, देश, माटो र भूगोल अनुसार आत्मसाथ गरी सम्य ढंगले प्रणय दिवस मनाउन सकेमा मात्र यसले विस्वस्त, परिपक्क, दीगो र जिवन्त साथी बनाउन सकिने भएकोले यसतर्फ ध्यान दिन जरुरी छ ।