दुई कर्मचारीको भरमा, तीन जिल्ला हेर्ने कार्यालय

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ २०७४ सालमा स्थापना भयो । स्थापना कालदेखि हालसम्म न्यून कर्मचारीमा कार्यालय संचालन हुँदै आएको छ । कार्यालयमा हाल दुई जना मात्रै कर्मचारी कार्यरत छ । तीन जनाको दरबन्दी भए पनि एक जना कर्मचारी केही समयदेखि स्याङ्जामा काजमा हुनुहुन्छ । एक जना अधिकृत, एक जना प्राबिधिक सहायकको भरमा कार्यालय संचालनमा छ ।

बजार अनुमगन र खाद्य सम्बन्धी बढी काम गर्ने यस कार्यालयमा कर्मचारी कम हुँदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको पाइन्छ । साविक धौलागिरीको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्लामा कार्य क्षेत्र रहेको यस कार्यालयमा दुई जना मात्रै कर्मचारीले काम गर्नु पर्दा यहाँबाट प्रवाह हुने सेवा कस्तो होला भन्ने विषय सेवाग्राहीले सहजै अनुमान लगाउन सक्छन् ।

तर दुई जना कर्मचारीले पनि सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गरि रहेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले बताउनुभयो । उहाँले आफूहरु धेरै जसो फिल्डमै गएर काम गर्नु पर्ने हुँदा कहिलेकाही कार्यालय खालीनै हुने गरेको बताउनुहुन्छ ।

उहाँले तीन जिल्लामा अनुगमन लगायतका कामहरु गर्नु पर्ने र व्यवसायीहरुलाई तालिम प्रदान गर्नु पर्नेभन्दै बजार अनुगमन र जिल्ला बाहिर जाँदा कार्यालय रित्तै हुने बताउनुहुन्छ । ‘हाम्रो कार्य क्षेत्र बागलुङ, म्याग्दी र मुस्ताङ हो, सबै ठाउँमा पुग्नु प¥यो, अनुगमन र अन्य कार्यक्रमहरु गर्नु प¥र्यो,’ कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो ‘कार्यालयमा दुई जना छौँ, दुई जननै फिल्डमा जाँदा कार्यालय रित्तै हुन्छ, कोही कार्यालयमा आउनुभयो भने खाली देख्नु हुन्छ, त्यो समयमा सेवा दिने अवस्था हुन्न, त्यस सेवाग्राहीहरुलाई पनि समस्या हुन्छ ।’

श्रेष्ठले प्रसस्त जनशक्ति अभाव हुँदा सोचे अनुसारको काम गर्न कठिन भएको बताउनुभयो । उहाँले कार्यालयको आफ्नै सवारी साधान समेत नहुँदा तीन जिल्लामा काम गर्न समस्या समेत भएको बताउनुभयो । उहाँले दुई पांग्रे सवारी साधानकै भरमा तीन जिल्लाको काम गर्नु पर्ने अवस्था रहेको बताउनुहुन्छ ।

कर्मचारी कम हुँदा अनुज्ञा पत्र जारी तथा नविकरण समेत समस्या हुने गरेको बताउनुभयो । ‘हाम्रो आफ्नै सवारी साधान छैन, दुई पाङ्ग्रे सवारी साधानको भरमै तीन वटा जिल्लामा सेवा प्रदान गर्नु पर्ने अवस्था छ, हामी फिल्डमा निस्केको समयमा सेवाग्राही अनुज्ञा पत्र जारी तथा नविकरण गर्न आउनु भयो भने यसै फर्किनु पर्ने अवस्था छ,’ उहाँले भन्नुभयो ‘जनशक्ति पर्याप्त भएको भए काम पनि प्रभावकारी हुने थियो, सेवाग्राहीले सहज रुपमा सेवा पाउन सक्नुहुन्थ्यो ।’

तीन जिल्लामा कम्तीमा दुई जना कर्मचारी आवश्यक पर्ने बताउनुभयो । तीन जिल्ला हेर्ने छ कर्मचारी, डिभिजन प्रमुख र एक कार्यालय सहयोगी भए सबै जिल्लामा अनुमगन, विभिन्न कार्यक्रमहरु गर्न सकिने प्रमुख श्रेष्ठको भनाई छ । उहाँले कार्यालयको आर्थिक व्यवहार हेर्ने लेखापाल नहुँदा प्राबिधिक कर्मचारीलाई थप समस्या भएको बताउनुभयो ।

‘तीन जिल्ला हेर्नका लागि कम्तीमा ७/८ जना आवश्यक छ, अहिले जनशक्ति कम हुँदा सबै जिल्लामा पुगेर प्रभावकारी काम गर्न सकिराखेको अवस्था छैन, पर्याप्त जनशक्ति भएको भए सबै जिल्लामा अनुमगन, विभिन्न कार्यक्रमहरु गर्न सकिने थियो,’ उहाँले भन्नुभयो ‘अहिले हाम्रो कार्यालयमा लेखापाल पनि हुनुहुन्न, त्यसले गर्दा कार्यालयको आर्थिक गतिबिधिमा प्राबिधिक कर्मचारीले हेर्नु पर्दा समस्या छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *