शिवशरण ज्ञवाली
महाकवि लक्ष्मीप्रसाद देवकोटाले निद्रा, धूम्रपानको क्षमा प्रार्थना, मातृभाषाको लागि जस्ता निबन्धमा वाजिद अलि शाहको नाम प्रयोग गरेका छन् । भारतका अन्तिम यी राजाको नाम देवकोटाका निबन्धमा कतै वाजिद छ त कतै आजिद छ । नाम जे भए पनि यी लखौनका नबाब हुन् भन्नेमा विमति छैन । वाजिद अलि शाह भारतका अन्तिम राजा हुन् । ब्रिटिसले उनलाई सत्ताच्युत गरेको थियो । उनी केवल शासक मात्रै थिएनन् बहुमुखी प्रतिभाशाली व्यक्तित्व पनि थिए । दाडिमको रूखनेर निबन्ध सङ्ग्रहका निबन्धका केही दृष्टान्त निम्न प्रकारका छन् ः
…निद्राको महलमा हरेक परिश्रमी वाजिद अलि शाह बन्दछ । मानिसको आनन्द विलासका सामग्रीमा निर्भर छैन । (निद्रा ः ३९)
…झोपडीमा आगो लाग्यो, धुँवामा मिठास लिने लम्पसार बाजिद अलि शाह हुक्का गुडगुडाइरहेछन्, ‘ए सरकार ! दुश्मन द्वारमा आइपुगे’, नबाब न उठ्छन्; न बोल्छन्, ‘ए बाजे ! हुकुम भो !’ त्यतिमात्र होइन आजकालका गोली खाने, गोली ठोक्ने मुखमा चुरोट, पाइप, सिगार च्याप्दै ठोक्दा हुन् । (धूम्रपानको क्षमा प्रार्थना ः १००)
…वहाँ हुनुहुन्छ नेपाली; तर लखनौमा आजिदअलि शाहको दरबारबाट एक माइल टाढा जन्मिनु, बढ्नु र तालिम पाउनुभएको थियो । (मातृभाषाको लागि ः ५२)
हालको उत्तरप्रदेशको राजधानी लखनउलाई भारतीय इतिहासमा अवधका नामले चिनिन्थ्यो । लखनउ अवधको पनि राजधानी थियो । अवधका राजा वाजिद अलि शाह थिए । उनलाई कतै लखनउका दशौँ (परीखाना क) त कतै एघारौँ (विकेपेडिया) राजा भनिएको पाइन्छ । उनले राजकाज सम्हाल्दा अंग्रेजको इष्ट इन्डिया कम्पनीले लखनउमा अराजकता मच्चाएर राजकाज लिने दाउ हेरिरहेको थियो । त्यसकारण पनि उनी राजकाजमा सफल हुन नसकेको अनुमान लगाउन सकिन्छ ।
वाजिद अलि शाहको जन्म सन् १८२२ जुलाइ ३० तारिखका दिन लखनउमा भएको थियो । उनको पूरा नाम अबुल म्यानसोर मिर्जा मुममद वाजिद अलि शाह थियो । मिर्जा भन्ने उनको शाही उपाधि थियो । शाह २५ वर्षको उमेरमा सन् १८४७ फ्रेबुअरी १३ का दिन लखनउका राजा भएका थिए । उनको शासनसत्ता नौ वर्षसम्म चल्यो । नौ वर्ष पुग्न दुई दिन मात्रै बाँकी रहँदा सन् १८५६ फ्रेबुअरी ११ तारिखका दिन इष्ट इन्डिया कम्पनीद्वारा उनी बर्खास्त भएका थिए । बर्खास्तका विरुद्ध उनले बेलायतमा उजूर गर्ने प्रयास पनि गरेको देखिन्छ । तर त्यसबाट पनि उनी र लखनउका जनताले न्याय पाउन अवस्थै थिएन । तसर्थ उनी वर्खास्त भएको एक वर्ष पछि सन् १८५७ मा लखनउका जनताले कम्पनीविरुद्ध विद्रोह गरे । यो विद्रोह उनकी पत्नी वेगम हजरत महलको नेतृत्वमा आफ्ना छोरालाई राजा घोषणा गर्ने उद्देश्य बमोजिम भएको थियो । यो विद्रोहमा अङ्ग्रेजका कैयौँ सैनिकहरु मारिए । अङ्ग्रेजले विद्रोह नियन्त्रणमा लिन सक्ने अवस्था रहेन । फलतः ऊ नेपालसँग सहयोग माग्ने अवस्थामा पुग्यो ।
अङ्ग्रेज सरकारलाई सहयोग गर्ने या नगर्ने भन्नेमा नेपालमा विविध मतहरु भए तापनि जङ्गबहादुर राणाले अङ्ग्रेजलाई सहयोग गर्ने निर्णय लिए । नेपालबाट फौज पठाइदिए पछि अङ्ग्रेज र नेपालको संयुक्त फौजले लखनउ विद्रोहलाई दबायो (जोन्स, २०१५ ः २०) । रानीले भागेर नेपालमा शरण लिइन् भने वाजिद अलि शाहलाई विद्रोह गरेको आरोपमा कलकत्तामा बन्दी बनाइयो । विद्रोह नियन्त्रणमा लिए पछि रानीलाई अंग्रेजलाई अनेक आश्वासन दिएर बोलाउन प्रयत्न गरे पनि उनी विदेशीले परेड खेलेको मातृभूमि फर्किन मानिनन् । उनको नेपालमा नै देहावसान भयो । त्यतिबेला लखनउमा विद्रोह दबाउन गएको फौजले लुट मच्चाएको भन्ने कंलकित इतिहास पनि पाइन्छ । यो विद्रोहपछि बन्दी बनाइएका राजा शाहलाई सन् १८५९ मा रिहा गरियो । त्यसपछिको बाँकी जीवन शाहले कलकत्तामा नै बिताए । यिनको निधन सन् १८८७ सेप्टेम्बर २१ तारिखका दिन कलकत्तामा नै भयो ।
वाजिद अलि शाह केवल राजा मात्रै थिएनन् । महान् साहित्यिक प्रतिभा पनि थिए । कला, साहित्य, संस्कृतिप्रति उनको गहिरो रुचि थियो । उनी प्रेमिल स्वभावका थिए । सामन्ती राजा महाराजाहरुले जस्तै उनले कैयौँ श्रीमतीहरु बिहे गरेका थिए । तर उनले बिहे नगरिकन भने कुनै पनि स्त्रीसँग सम्बन्ध गाँस्दैनथे । यो उनको विशेषता थियो । अर्कोतिर यिनी स्वयंमा लेखक पनि थिए । आफ्नै जीवनका बारेमा पनि पारदर्शी तरिकाले लेखेर उनले आफ्नो इमान्दारितालाई प्रस्तुत गर्थे । उनले एक सय जति पुस्तकहरु लेखका थिए भन्ने इतिहास पाइन्छ । उनी उर्दू र फारसी भाषामा कलम चलाउँथे । उनको साहित्यिक क्षमताका बारेमा उनकै पुस्तक परीखानामा समावेश गरिएको उनकै जीवनीमा यस्तो भनिएको छ ः
…उनमा गजबको सिर्जनात्मक क्षमता तथा अद्भूत कल्पनाशक्ति थियो । उनले आफ्नो चौसठ्ठी वर्षको जीवन कालमा लगभग सय किताब लेखे । उनी गद्य पद्य दुवैमा कलम चलाउँथे । फारसी र उर्दु भाषामा दक्षता थियो । त्यो समयमा गद्य भाषालाई मन पराइदैनथ्यो तर राजा भएर पनि उनले गद्य भाषालाई प्रचलित गराए । उनको समयमा फारसी उच्च वर्गको भाषा थियो तर उर्दु भाषामा समेत विशिष्ट रचनाहरु लेखें । (शिद्धिकी, २०१७ ः ११)
यो भनाइले उनले पद्यमा मात्रै नभई गद्य भाषामा पनि लेखे भन्ने बुझिन्छ । जनसामान्यको भाषालाई पनि उनले अपनाएका रहेछन् । यस्तै उनले सामान्य जनताको उर्दू भाषामा पनि कलम चलाएका रहेछन् भन्ने बुझिन्छ । वाजिद अलि शाहले शायरी लेख्दथे । शायरी लेख्दा उनले ‘अख्तर’ भन्ने नाममा लेख्दथे । यसैगरी उनले अरुलाई पनि विभिन्न उपाधिहरु दिएर कलम चलाउँथे । उनले शायरीका गजल, मसनवी, मर्सिया, कसीदा, रुवाइ, कत्ता जस्ता विधामा कलम चलाएका थिए । उनले लखनउ छाडेर कलकत्ता जाँदा लेखेको शायरी परीखानामा यसरी उल्लेख गरिएको छ ः
दरो–दीवार पे हसरत से नजर करते है
खुश रहो अहले वतन हम तो सफर करते है ।
उनले संगीतका क्षेत्रमा पनि अमूल्य योगदान दिएका थिए । उनले परम्परागत भारतीय संगीतलाई सरल र लोकप्रिय तुल्याए । उनले संगीत शिक्षणको व्यवस्था मिलाए । वस्तादहरु नियुक्ति गरेर आफै पनि संगीत सिकेका थिए । उनले भारतीय सांगीतिक क्षेत्रमा ठुमरीको विकासमा योगदान दिएका छन् । हराउन लागेको ठुमरीलाई उनले प्राण दिए । उनका नाजो र बनी नाममा दुई संगीतसँग सम्बन्धित पुस्तकहरु पनि प्रकाशित भएको इतिहास पाइन्छ ।
भारतीय लोकनृत्यका क्षेत्रमा पनि उनको योगदान अविस्मरणीय छ । कथक नाचलाई विकसित तुल्याउनमा उनले योगदान दिएको इतिहास पाइन्छ । यो नाच पनि प्रचलनमा त थियो तर यसको त्यस्तो विकास भएको थिएन । वाजिदले यो नाचलाई पनि विकासको अवसर दिए । मन्दिर वा यस्तै कलात्मक ठाउँमा यो नृत्य नाचिन्छ । बसेर र उठेर दुवै किसिमले नाचिने यो नाच भारतीय समाजमा प्रचलनमा रहेको छ । यस्तै उनले कैसरवागमा विभिन्न नृत्य नाटकहरु प्रर्दशन गराउँथे । यस्ता नाटकहरुमा उनी आफै पनि भाग लिन्थे । उनले विभिन्न पुस्तकहरुको अनुवाद पनि गर्दथे ।
भव्य प्रकृतिका दरबारहरु समेत उनले निर्माण गरेका थिए । ती दरबार निकै कलात्मक प्रकृतिका हुन्थे भन्ने भनाइ छ । त्यसैले लखौनका दरबारहरु निकै आकर्षक पनि हुन्थे रे ! त्यसैले भनिएको होला ः लखनउका साम वनारसका शुभ !
तसर्थ वाजिद अलि शाह बहुमुखी प्रतिभाशाली थिए । उनी शासक पनि थिए । जनसाधारणको भाषा र शैलीमा लेख्ने लेखक पनि थिए । कवि थिए । आर्किटेक्ट थिए । संगीतकार तथा गायक थिए । गद्यपद्य दुवैका लेखक थिए । नाटकका नायक थिए । अनुवादक थिए । यसबाट के देखिन्छ भने उनी केवल राजा मात्रै थिएनन् कठोर परिश्रम गर्ने बहुमुखी प्रतिभाका धनी पनि थिए । आफ्नो शासनसत्ता जोगाउन नसके पनि उनले कला, साहित्य र संस्कृतिका क्षेत्रमा भने महत्वपूर्ण योगदान दिएका थिए । यिनको मृत्यु ६५ वर्षको उमेरमा सन् १८८७ मा उनको निधन भयो ।
लखनउका यी नबाबले आफ्नो राजकाज जोगाउन त सकेनन् तर कला साहित्यतर्फ भने यिनले महत्वपूर्ण योगदान दिए । फरकफरक प्रसङ्गमा वाजिद अलि शाहको प्रयोग गरेका देवकोटाले यी नबाबलाई मूलतः सकारात्मक सन्दर्भमा नै उद्धृत गरेका छन् । साहित्य र रसरङ्गमा भुलेर शासनसत्ताप्रति वेवास्ता गरेका नबाबका रुपमा उनलाई चित्रण गरेका छन् ।