४० वर्ष माथिका सबैको स्वास्थ्य परिक्षण गर्दै बडिगाड

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले पालिकाका ४० वर्ष माथिका सबैको स्वास्थ्य परिक्षण अभियान शुरु गरेको छ । बडिगाड गाउँपालिका भरका जनतालाई एकैपटक स्वास्थ्य परिक्षण गर्ने अभियान अन्र्तगत वृहत स्वस्थ्य शिबिर शुरु गरेको छ ।

गाउँपालिकाका सबै नागरिकलाई विशेषज्ञ सेवा दिने, ४० वर्ष माथिकालाई नछुटाईकन मृगौला परिक्षण, पाठेघरको परिक्षण गरिने छ । शिबिर अवधीभर १३ जना विशेषज्ञ र अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामण्ी कंडेलले जानकारी दिनुभयो ।

फागुन ७ गतेदेखि शुरु भएको अभियान फागुन २५ गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ । शिविरमा भिडियो एक्सरे, सुगर, पिसाव, प्रोटिन जाँच लगाएत सेवा रहेको र औषधि सहित सवै सेवा निशुल्क हुने गाउँपालिकाले जनाएको छ ।

शिविर अवधीभर ४० वर्ष माथिको सवै नागरिकको मृगौला परिक्षण, ४० वर्ष नाघेका सबै महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, सबै नागरिकको मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

“शिविरमा ४० वर्ष काटेको कोही छुट्दैनन्, उनिहरुको आँखा परिक्षण, ब्लड प्रेसर, सुगर, मृगौला परिक्षण देखि महिलाहरुको पाठेघर सम्म परिक्षण हुन्छ” स्वास्थ्य संयोजक कंडेलले भन्नुभयो “४० वर्ष मुनिकाले आवश्यकता अनुसार सेवा लिन सक्ने भए, गाउँमा एकैपटक वृहत स्वास्थ्य शिविर गर्दा पाठेघर र मृगौलाका विरामी पहिचान हुँने र उपचारमा सहजता आउने छ ।”

स्वास्थ्य अभियानमा ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको भेला गरी नसर्ने रोगहरु विरुद्धको सचेतना तथा अभिमुखिकरण कार्यक्रम, सुनौला हजार दिन भित्रका आमाहरुको भेलामा गर्भवतीहरुको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा सञ्चालन समेत गरिने बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । शिविरमा त्यस्तै परिवार नियोजनका साधनहरु नरप्लान्ट, कपर टि राख्ने लगाएतको काम पनि सो अभियानमा हुने जनाइएको छ ।

बृहत जनस्वास्थ्य अभियान अन्तरगत पहिलो दिन शनिबार बडिगाड गाउँपालिका –७ टुनिवोटमा स्वास्थ्य परिक्षण गरिएको छ । शिविरबाट २५० जना विरामी लाभान्वित भएको कँडेलले जानकारी दिनुभयो । स्वास्थ्यजाँच गरेका मध्ये १०० जनाले आँखा जाँच गराए थिए । शिविरमा धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. जनक पाठक, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. रोहित शर्मा, नेत्र रोगका अप्टोमेट्रिष्ट रुद्र खत्रि, धौलागिरि अस्पताल बागलुङका मेडिकल ल्याव टेक्नोलोजिष्ट नारायण प्रसाद कोइराला, भिमगिठे स्वास्थ्य चौकीका सवै स्वास्थ्य कर्मी लगाएतले स्वास्थ्य जाँच गर्नुभएको थियो । त्यस्तै शिविरमै ७० जना ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई नसर्ने रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ भने ३५ जना हजार दिनका आमाहरुलाई पनि अभिमुखिकरण तालिम सञ्चालन गरिएको छ ।

वृहत जनस्वास्थ्य अभियानमा गण्डकी मेडिकल कलेज पोखराका वरिष्ठ चिकित्सक प्रा. डा. तरुण पौडेल नेतृत्वमा १३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. टुमाया घलेले जानकारी दिनुभएको छ ।

चिकित्सकको समूहमा मेडिसिन विशेषज्ञ डा. अर्जुन पौडेल, डा. धिरज पौडेल, हाडजोर्नी तथा नशा विशेषज्ञ डा. विवेक अधिकारी, डा. सुमन भट्ट, स्त्री तथा प्रसुती विशेषज्ञ डा. चाँदनी स्याङ्तान लामा, डा. कृशा मास्के, आँखा विशेषज्ञ डा. प्रियङ्का सिंह, डा. रानु मेहेता, नाक, कान, घाँटी विशेषज्ञ डा. आशिष घिमिरे, रेडियोलोजी विशेषज्ञ डा. कपिल थापा, मानसिक तथा स्नायु विशेषज्ञ डा. अच्यूत आचार्य, छाला तथा यौन विशेषज्ञ डा. मेघा देव लगाएत स्वास्थ्य कर्मी रहने गण्डकी मेडिकल कलेजले जनाएको छ ।

। गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग तथा बडिगाड गाउँपालिकाको आयोजनामा हुन लागेको वृहत जनस्वास्थ्य अभियानमा सम्पूर्ण जाँच निशुल्क हुनेछ । जस अनुसार आइतवार भिमगिठे, सोमवार ग्वालीचौर, मंगलवार जलजला र बुधवार खर्वाङमा स्वास्थ्य परीक्षण गरिनेछ ।

त्यस्तै पालिका भित्रका टुनिवोटमा फागुन ७ गते सम्पन्न भइसकेको र दर्लिङखोलामा १२ गते, खालामा १३ गते, दगामा १४ गते, दगातुन्डाडामा १७ गते, शिसाखानी १८ गते, खारखोलामा १९ गते, झुलेडाँडामा २० गते, रणसिंहकिटेनीमा २२, भेँडिखोरमा २३ गते, दोभानमा २४ गते र ग्वालीचौरमा २५ गते स्वास्थ्य जाँच सहित जनस्वास्थ्य अभियान गरिने भएको छ । यस अभियानमा गाउँपालिकाका नगारिकहरु आफ्नो पायक पर्ने स्थानमा आई स्वास्थ्य परिक्षणका लागि गाउँपालिकाले अपिल समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *