अस्थिर नेताले निम्त्याएको अस्थिरताको बाटो

सम्पादकीय
मुलुकले एक अर्को कठिन संकट र सकस बेहोरिरहेको छ । एमसीसीले अहिले सिंगो देश अस्थिरता उन्मुख छ । एमसीसीको पक्ष र विपक्षमा नागरिक बिभाजित छन् । देश कमजोर, गरिब, अविकसित हुनुको कारण विदेशी अनुदानमा आशक्ति राख्नुपर्ने बिबशता त छ नै, त्यसमा हाम्रो देशका नेताहरुको दोहोरो भूमिका, लाचारीपना अर्को प्रमुख कारण हो । जसले गर्दा एमसीसीका बारेमा आजको दिन सम्म नागरिकले प्रष्ट हुने अवसर नै पाएनन् । यसका सकारात्मक र नकारात्मक पक्षलाई आग्रह पूर्वाग्रह, राजनीतिक प्रतिशोध र दाउपेचको विषय बनाइयो । यही विषयमा गहन खोज, अध्ययन नगरी एकले अर्को दल या पक्षलाई कसरी उनीहरुकै शव्दमा साम्राज्यवादी करार गर्ने होड चलिरह्यो । जसको परिणाम अहिले सरकार, संसद र सडकमा देखिरहेको छ ।

सरकार अहिले सदनमा पनि छ, आफै सडकमा पनि छ । नेपाली कांग्रेस एमसीसी पारित गर्ने पक्षमा एक मत छ भने अरु सत्तारुढ दलहरु सरकार र सडक आन्दोलनको दोहोरो भूमिकामा छन् । सत्ता मुख्य घटक नेकपा माओवादी एमसीसीको विपक्षमा उभिएको जिकिर गर्छ, नेताहरु भातृ संगठन पुरै सडक आन्दोलनमा पनि छ तर, उसले राजनीतिक नैतिकताका आधारमा सरकार पनि छोड्न सक्दैन । नेकपा एमालेबाट बिभाजित एकीकृत समाजवादी पार्टी पनि उस्तै बिरोधाभास र अल्झनमा छ । सरकार र सडकको दोहोरो भूमिकाले यसबीचमा तीब्र आलोचित र द्धिविधामा छ । एमसीसी संसदमा टेबल गर्ने निर्णय सँगै पार्टी नेतृत्व र झलनाथ खनालहरुकै बिचमा विवाद बढेको छ । जनता समाजवादी पार्टी बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षधर बीच मतभिन्नता छ । पहिले सत्तामा रहँदा एमसीसी पारित गर्न लागिपरेको एमाले अहिले तटस्थ भूमिकामा छ । भलै ऊ प्रमुख प्रतिपक्ष भएको हिसाबले सत्तारुढ दलकै कोर्टमा बल छोडिदिएको जिकिर सहित रक्षात्मक अवस्थामा छ । सत्तारुढ राजनीतिक दलहरु नै किन यस्तो दोहोरो भूमिका देखिए ? आफ्ना नेता, कार्यकर्तालाई एमसीसीको बिरोधमा सडकमा उतारेर आफैले संसदमा टेबल गर्न दिने निर्णय कुन हिसाबले नैतिकवान हुन सक्छ ? यो लोकलाजको विषय हो ।

कुनै बेला यस्तै सवालहरुमा सडकमा ढुंगा हान्ने, प्रदर्शनमा खरो उत्रिने गगन थापा, रामकुमारी झाक्रीहरु सत्तामा छन् । र उनीहरु भनिरहेका छन् कि अहिलेको विषय बुझेर मात्र सडक प्रदर्शनमा उत्रिनु पर्छ । यो बिरोध फगत मात्र भइरहेको छ । यस्तो लाग्छ कि यो दृश्य नेपाली राजनीतिको विगत र वर्तमानको चित्रण गर्ने यथेष्ट प्रमाण हो । सत्तामा हुँदा र त्यस इतर हुँदा बँदलिने बोलि, व्यवहार र कार्यशैलीहरु नै हाम्रो समाज र देशको मुख्य बाधक हुन् । विगतको खराब पात्र र प्रवृत्ति बदलिएला भन्ने जे आशा, विश्वास र भरोसा नागरिक थियो, त्यो व्यवस्था बदलिए पछि पनि कुनै न कुनै रुप र शैलीमा देखिरहेको छ । अहिलेको एमसीसी प्रकरणमा पनि मुख्य राजनीतिक दल र तीनका मुख्य नेताहरुकै कारण आज देश गम्भीर संकटमा छ । अमेरिका र चीन समेत आमुन्ने सामुन्ने उभिने अवस्था आइरहेको छ । यस्ता घटना परिघटनाबाट पाठ नलिने, जनता र देश माथि गम्भीर खेलवाड गर्दै जाने हो भने अबको निकट समयमै कंलकित बन्ने मात्र होइन, जुनसुकै पार्टी र नेताहरुको पतन निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *