चील

शिवशरण ज्ञवाली
जिन्दगी पनि कस्तो गुजुल्टिएको छ । सुखका भन्दा दुखका पोया बढी छन् । यताउता भौतारिदा म बसमै भौतारिन्छु । झ्यालबाट बाहिर पृथ्वी दौडिरहेको छ । यात्रीहरु चढ्ने ओर्लने गरिरहन्छन् । बसका सिट उही छन् तर यात्री फरकफरक छन् । मानौँ मेरो मन बसको एक सिट हो । त्यही मनमा अनेक विचारहरु यात्रीहरु जस्तै आतेजाते गरिरहन्छन् । मैले यात्रा गरेको गाउँ कहाँ हो ? शहर कहाँ हो ? नेपाल । अनेक तर्कनाहरु मनमा आउँदै शीतका थोपा जस्तै हराउँदै जान्छन् । अनि महिनौंदेखि थन्किएका विचारहरु हिउँ परेजस्तै गरी फुसफुसाउँछन् । गाउँको आकर्षणले म खिचिन्छु । मानिसहरुको विकर्षणले म आतिन्छु ।

गाउँ बस्न नपाएको पनि धेरै भयो । अलिअलि पाइने रोजगारीले गाउँ बिर्सायो । अलिअलि पाइने सवारी साधन र बजारिया चहलपहल हेर्दा मै पनि मख्ख पर्छु । दुध बेच्नेले बिहानै बजाउने साइकली आवाज र कक्षाको घन्टीले म मुर्मुरिन्छु । तरुनातरुनीहरु एक आपसमा मस्किएको देख्दा ढल्किएको उमेरको पीडाले म रुन्छु । मादलका तालमा तीजका गीतका लय सुन्दा मयूर झैं नाच्छु । कहाँ ? कोठाको टिकटकमा ! धक फुकाएर नाच्ने गाउँ छैन । खाल्डो नछोडेसम्म त्यो देखिने होइन । गाउँको अनुहार देख्न पञ्चकोटतिर उकालो लाग्नै पर्छ । गाउँ बजार बन्दो रहेनछ । बजार गाउँ बन्दो रहेनछ । म बजारिया पछारिएको छु ।

ए ‘फुद्धु’ ! एक्लै नखा आइज मेरोमा । नजिकको जिक्री दोस्तले सधै गाली गर्छ । ‘जहाँ जालास् जोगी भातै खालास्’ एकल जिन्दगीमा खानाको निम्ता गर्ने दाता पाउँदा नखाँदै मुख रसाउँछ भने खाए पछि त के के होला है ? आज जिक्री दोस्त भोलि अलि परेको दोस्त पर्सि अलि परेको दोस्त गर्दागर्दा महिना पन्ध्र दिन त बाहिरै पो खाइदो रछ । घरको अन्नपानी जोगिएर ब्याज तिर्ने पैसा थपथाप भएकोमा मख्ख पर्छु । तर फेरि आमाको दायाँ हातले लिदा बायाँ हातले भए पनि दिन जान्नुपर्छ भन्ने आदेश सम्झना मन खस्रक्क हुन्छ । तापनि पाहुर पोकाहरु छरछिमेकबाट आएकै आइ छन् । मन एक तमासाको हुन्छ । म गतिलो हुँ कि अरु गतिला हुन् ? घरपेटीले भाडा पनि संक्रान्तिको दिनको त के कुरा अप्ठ्यारो परेको बेला निशुल्क गरिदिदा मनै फुरुङ्ग हुन्छ । ‘दुखसुख हेलोहाइ साँझ बिहान चिया खाई’ले सानो छोराकी आमाले गाउने लोरीलाई बिर्साइदिन्छ । तल्तिर मास्तिर छरछिमेक मेरा आफ्नै घर हुन् । हाँसीमजाकले निराशालाई निम्तै दिदैन । म विन्दास छु । आफूले आफैलाई बिर्सिएको छु ।

कताकता कानमा गुन्जन्छ । बजार भए पनि यो त गाम्ले स्वभाव हो नि ! आत्मीयता छ नि त ! माया छ नि त ! अपरिभाषित सम्बन्ध छ नि त ! दुखसुखको बाँडीचुँडी छ नि त ! सँगै रुने र हाँस्ने छ नि त ! अतिथि देवो भव छ नि ! के हामीले यही मेट्न खोजेको ? लिपुलेक र लिम्पियाधुरामा झैं चील उडाउन खोजेको ? राष्ट्रियता के सीमानामा मात्रै सीमित हुन्छ र ?

शहरमा कसले कसलाई निम्ता गरोस् र ? कसलाई दुःखसुख बाँड्ने फुर्सद होस् र ? को सँग आत्मीयता साटियोस् र ? हरपल दौडिरहने बस ढिला भए । ट्याक्सीले काम चलेन । मोइटसाइकलमा ‘छिटो छिटो मिठो मिठो’ हुन थालेको छ आजकाल । आकाशमा उड्ने जहाजले क्षणभरमै पशुपतिनाथको प्रदक्षिणा गर्दछन् । मेट्रो रेलको सपना काठमाडौँले देख्न थालिसकेको छ । सपना पूरा भएकै सपना देख्दा म दङ्दास परें । भूमिगत रेल चढेर दलिक्षणकालीको मन्दिर पुग्दा म झल्यास ब्युझिएँ । ब्युझाँइप्रति रिस उठेर मुड्कीले सिरानी हाने । सपना जोड्न नसकिए पनि रेलले संसार जोड्ला । काठमाडाँै रेल चढ्यो भने मेरो गाउँले पनि गर्व गर्ला । तर पनि आफू बाहेक अर्कोलाई हेर्ने अवकाश कहाँ छ र हतारिने शहरलाई ? सहर त एक कप कालो चियामा नै ‘पूर्ण’ बन्नुपर्छ । मनमा दुखको वर्षात हुन्छ ।

कताकता विगततिर रुमलिन्छु । स्कुल पढ्दा हामी ट्युसन पढ्नका लागि सादधर साइला बाका घर जान्थ्यौँ । राति उतै बस्न गएर पढ्थ्यौं । गोकुल दाइ र गौतम दाइले माया गरेर पढाउनुहुन्थ्यो । उहाँहरु सँग सँगै पढ्थ्यौँ सँगै सुत्थ्यौँ । साइला बा आमाले चर्तुदशीको दिन बेथेको साग र खीर खान दिनुहुन्थ्यो । टुकीको मधुरो प्रकाशमा ठूलो ओछ्यानको कुनामा बसेर मैले बेथेको साग आँखा चिम्म गरेर खाएको कसले पो चाल पाउँथ्यो र ? त्यति मिठो खीरसँग किन होला यस्तो तीतो साग दिएको भनेर म मनमनै कुडिन्थे । साइला बा ‘तँलाई शिवे’ भन्दै हाँस्नुहुन्थ्यो । हामी रमाइरमाइ पढ्थ्यौँ । गौतम दाइले हो कि जस्तो लाग्छ, हाच्छिउँ आयो भने ‘तँलाई’ भनेर चोर औला ठड्याउँदै हाच्छिउँ गर्नुहुन्थ्यो । हाम्लाई बहुत रोचक लाग्थ्यो दाइको त्यो शैली । दाइको खबरदारी शैलीको हामी पनि बेलाबेला अनुकरण गरेर रमाउँथ्यौँ । तर आजकाल ट्युसन हिड्ने बाटो मेटिएको छ । निरल्दीबाट रिपाहा घर निस्कने बाटो अबाटोमा मोटरबाटो पसेर च्यातच्चुत गराएको छ । मोटरबाटोसँग हामी सबै शहरिया भएका छौँ । सब व्यक्तिवादी भएका छौँ । यता पैसा उता पैसा भएको छ । वेथेको साग र खीर खाने निम्ताको कार्ड मोटरबाटाको धुलोमा हराएको छ ।

आफूलाई नछोएसम्म त कोरोना जाति नै भयो नि । पाजीले छोएर झन्डैझन्डै स्वर्ग देखाएन र पो ! परार चैतमा घर फर्के देखि म फेरि गाउँले भएँ । म गाउँ घुम्न पाएँ । हाइहेलो गर्न पाएँ । म आँटारी जान पाएँ । बाटो पूरै भाटिएको छ । खेत पूरै जङ्गल बनेको छ । विगतमा हिडेको बाटो खोज्दै म बडो मुस्किलले पारि पुगें । बाल्यकालमा दहदेखि चिउरीभेडासम्मका हामीले नचारेका कुनै खेत हुँदैनथे । हामी ती खेतमा भलिबल, डन्डीबियो, कपर्दी, ट्यु, कुखुरा जुदाइ खेल्थ्यौँ । अनौठा हाइजम्प लङ्जम्प खेल्थ्यौँ । लङ्जम्पमा एकपटक बीचको खेतको गरै नाध्ने प्रतिष्पर्धा राख्दा बाल्यकालमै मेरो ढाड सड्किएर दुई तिन दिन म बिस्तारामा थन्किएको छु । मलाई ती खेतखलामा पुग्दा बहुत विरक्त लागेर आयो । किनकिन मन भरियो ? अत्यास पनि लाग्यो । मन कहालियो । आँखा आँसुले डम्म भए । म हिडेका र खेलेका खेतखलाहरुको नामनिसान मेटिदै जाँदा आफै मेटिए जस्तो लाग्यो । दहको जैसीको खेतमा अठार बिस मुरी, साइला राजाको खेतमा दुई मुरी, रिपाहा खेतमा आठ दश मुरी, आँटरीमा दश आठ मुरी धनबहादुर दाई हिजो मात्रै धानको हिसाब गर्दै हुनुहुन्थ्यो । उडुसे बाले साना बाच्छा र सानै हलो जुवा ल्याएर खेत जोतेको हामी रमाइरमाइ हेथ्र्यौँ । तर ती सबै कथा भए । खेत बाँझियो मान्छे हराए । प्रेमिल जोडीले प्रेम साट्ने जङ्गल त फैलिएको छ । जोडी नै हराए । म बेस्सरी रोएँ । पाजी तँ रोएर के हुन्छ ?

मन न हो काठमाडौँ पो पुगेछ । भान्जसँग पढाइको वादविवाद सुरु हुन्छ । म पढाउन खोज्ने उनी रमाउन खोज्ने । वादविवादको शीर्षक पनि ‘शहरिया जीवनभन्दा गाउँले जीवन राम्रो’ भन्ने छ । भान्जलाई शहरिया जीवन राम्रो लाग्छ मलाई गाउँले जीवनको आकर्षण छ । मामा तपाईका गाउँका मान्छे कहाँ हराए ? भान्ज अचानक चर्किन्छन् । चौध पन्ध्र कुरियामा पाँच सात घर शहरतिर लागे । तगालोमा काँडा र ढोकामा ताल्चा लगाइको छ । वैसालु र अधवैसे युवायुवतीहरु आफूलाई चाहिने स्वतन्त्रता, रोजगारी, पढाइ, साथी र प्रेमीप्रेमिका केही र कोही नभए पछि पलायन भए । उमेरले नेटो काट्नै लागेका बा आमाहरु लतारिदै जीविका निर्वाह गरिरहनु भएको छ । वन्यजन्तुबाट खेतीपाती त के मान्छेलाई समेत जोगिन गाह्रो भइरहेको छ । वनेल छेक्न बारीमा नाङ्गो तार विछ्याउनु परेको छ । खेतीपानी नगरे खान के ? पकाउनै प¥यो भाँडा माझ्नै प¥यो । चामल तरकारी खोज्नै प¥यो । दुध खानका लागि भैंसी पाल्नै प¥यो । पसल आकाशको फल आँखा तरी मर जस्तै हो । कसले ल्याइदिन्छ ? त्यही भएर आजकाल मलाई मावल जान पनि डर लाग्न थालेको छ । गए उही वृद्ध हजूरबुबा हजूरआमालाई दुख न हो । तपाईहरु हुनुहुन्न । लाग्छ, प्रजातन्त्र त तपाईहरुका लागि पो रहेछ । के प्रजातन्त्रको सौन्दर्य जिम्मेवारी र वन्धुत्व पनि होइन र ? बुढेसकालमा जिम्मेवारीले काँध थापिनु र वन्धुत्वले गाला मुसारिनु पर्दैन ? भान्जको बर्बराहट रोकिएको छैन । गाउँमा के छ र ? अस्पताल छैन । स्कुल टाढा छ । पसल टाढा छ । अल्छी, थकाइ, बिमार लाग्न पाइदैन । वर्षभरी काम गरे पनि तिन महिनालाई खान पुग्दैन । कहिलेकाही आफन्त भेटौँ भन्दा साँझ फर्कन मिल्ने यातायात छैनन् । मेरी आमाको आमा भेट्ने योजना महिनौँदेखि अलपत्र छ । खेतीबारीको कामलाई खासै खेताला पाइदैनन् । पाइने खेतालाको चाकडी हाकिमको भन्दा बढी गर्नुपर्छ । दुई सासमा भान्जले बडो गाँठी कुरा गरेर मलाई थुचुक्कै बसाले । गाउँ लिपुलेक र लिम्पियाधुराको निर्जन पहाड बनिसकेछ ।

म पनि के कम छु र ! भान्जलाई जवाफ दिनै प¥यो । घर गए देखि यसो बारीतिर जान्छु । मूला उखेलेर खान्छु । त्यसको पात र ढाकुरसमेत खान पाउने सौभाग्य म जस्तै गाम्लेलाई त मिल्छ होला नि ? बारभरि केराऊ फलेको छ टिपेर खान्छु । स्वादै फरक छ । पोहोर लागेको केरा बोटमै पाकेछ । बोटबाट टिपेर खानुको स्वाद तिम्लाई थाहा छ ? आमाले दिनदिनै साँझमा दुध गिलासभरी हालेर दिनुहुन्छ । छ्या ! कहाँ त्यो काठमाडौँको गन्नाउने दुध कहाँ यहाँ घरको दुध ! आकाश पातालै फरक छ । चर्तुदशीको दिन आमाले ठेकामा दुध खन्याउनु हुन्न । बिहानै गिलासगिलास बाँड्नुभयो । साँझ खीर पकाउनु भयो । जाडोमा पेटभरी खीर खाएर बाउछोरा मस्तले सुत्यौँ । सम्पति पनि कोठा मात्रै होइन । आना, धुर, कठ्ठा पनि होइन । रोपिनका रोपनी छ । जता गए पनि भयो । जता थुके पनि भयो । शहरमा जस्तो मुख खोकल्ने पानी पेटभित्रै पठाउनु पर्दैन । जे गीत गाए पनि भयो । भुँइ, बारी, ढिक, जङ्गल जहाँ सुस्ताए पनि भयो । आहा !

यसो भनेर भान्जलाई जित्न खोजे पनि मनले क्रृणात्मकतालाई देखाउँछ । गाउँमा कहाँ पो सुविधा छ र ? सम्पन्नता र सुविधा त शहरमा पो ! सारा कुराको सुविधा ! जे पनि पाइन्छ । त्यही भएर त खुशी छन् शहरियाहरु । अस्पताल रोजीरोजी छन् । स्कुल रोजीरोजी छन् । जे जस्ता भए पनि दिन बिताउने रोजगारी छन् । प्रेमको आकर्षणले तन र मन दुवै भेट्छ । लुक्नु छेलिनु पर्दैन । साथीसँग मनको वह कहन सकिन्छ । जतिबेला पनि यातायातको सुविधा छ । चालिस पचास रुपैयाँमा शहर फन्को मार्न पाइन्छ । उकाली ओरालीको सकस छैन । काम नगरे पनि खान पाइन्छ । अल्छी लागे खाना पनि घर मगाउन मिल्छ । विदेश जान मन लागे जहाज पाइन्छ । व्यापार व्यवसाय गर्न सकिन्छ । सिंहदरबारको अग्लो पर्खाल पनि भित्रैबाट आएको एउटा सानो कागजको चिर्कटोले त्यो पर्खाल नाध्न सकिन्छ । अनि त ! भान्जसँग हारे जस्तो पो लाग्छ । म कतै त्यही चुच्चे र बुच्चे पहाडमा अल्झिएको छु ।

म उठेर पल्लो कोठामा गएर चिच्याउँछु । मेरो गाउँलाई शहर बनाउने रे ! होइन, गाउँलाई गाउँ नै रहन देऊ । अस्पताल देऊ । स्कुल नहटाऊ । कलेज देऊ । शहरजस्तै गाउँ पनि मान्छेले भर । उद्योग बनाऊ कलकारखाना बनाऊ । गाउँबाट शहरमा दिल लैजाऊ शहरबाट गाउँमा सम्पन्नता र सुविधा देऊ । एकअर्काका सौन्दर्य साटिदेऊ । गाउँमा पनि जागिर जाने बहाना खोजिदेऊ । गाउँपालिका बनायौँ वडा पालिका पनि बनाऊ । गाउँ बस्नेलाई भत्ता देऊ ! शहरलाई सुन्दरता ! नेपालकै वास्तुकलाले नेपाल सजाइदेऊ । देशमा इन्द्रेणी देखाइदेऊ । गाउँले बा आमालाई छोराछोरीको न्यायो देऊ । मेरो गरिब गाउँलाई पनि धनी बनाइदेऊ । सम्पन्न बनाइदेऊ । शहरलाई गाउँको उन्नतिमा गर्व गर्ने गराइदेऊ । आफ्ना गाउँलाई पराया नगराइदेऊ । पराया शहरलाई नेपालीत्व थपेर सुन्दर बनाऊ । गाउँको वहार फर्काइदेऊ । मेरो राजधानी सारिदेऊ । लिम्पियाधुरा र लिपुलेकमा पनि मान्छे बसालिदेऊ । उनैले गर्नेछन् सीमानाको रक्षा । उनैले थाप्नेछन् परचक्री विरुद्ध छाती ।

बाबा ! बाबा !! नक्सा । छोराको आवाजसँगै झल्याँस हुन्छु । अचानक मनका तरङ् रोकिन्छन्् । पेन्सिलले कोरिएको नक्साको बाहिरी रेखा निकै स्पष्ट छ । भित्री रेखा भने किरिमिरि छन् । लिम्पियाधुरा र लिपुलेकको उचाइ पहाडहरुमा सबैभन्दा अग्लो छ । तर त्यही उच्च पहाडिया गाउँमै चिलले झम्टा मारिरहेछ । गाउँ सक्नु नेपाल सक्नु हो । माथि आकाशमा घुमिरहेको चीलले मेरो मन आतिन्छ । तर छोराको सपना त्यही पहाडमा अल्झिएको छ । आहा !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *