तमान गाउँलाई पर्यटकीय हब बनाउन, ‘मिनी जलाशययुक्त बहुउद्देश्य हाइड्रोपावर’ (भिडियाेसहित)

डम्मर बुढा मगर, बागलुङ
दुर्गममा भए पनि तमान गाउँ अत्यन्तै मनमोहक छ । विकासका पूर्वाधारहरुले ढिलै भए पनि अहिले तमान गाउँ जोडिएको छ । मगर र दलित समुदायको बाहुल्यता रहेको यस गाउँ सुन्दरताले भरिपूर्ण छ । विकट ठाउँमा हुँदा पर्यटकीय संभावना बोकेको भए पनि पछाडीनै परेको थियो । विकासले जोडिँदै गएपछि यसको प्रचारप्रसार समेत हुन थालेको छ । यस गाउँलाई पर्यटकीय गन्तव्य बनाउन तमानखोला गाउँपालिकाले ‘मिनी जलाशययुक्त हाइड्रोपावर’ निर्माण गर्ने भएको छ ।

तमानखोला गाउँपालिका वडा नम्बर ३ स्थित तमान गाउँको फेँदमा ड्याम निर्माण गरि तमानखोलालाई थुनेर ‘मिनी जलाशययुक्त बहुउद्देश्य हाइड्रोपावर’ निमार्णका लागि गाउँपालिकाले अध्ययन थालेको छ । ‘मिनी जलाशययुक्त हाइड्रोपावर’ निर्माणका लागि गाउँपालिकाले गत वर्षदेखि अध्ययन थालेको हो । यस वर्ष अध्ययनको काम सकेर अर्को वर्षदेखि हाइड्रोपावर निर्माणको काम सुरु हुनेछ । गाउँपालिकाको गौरवको परियोजनाको रुपमा रहेको यो योजना निर्माण सुरु गरेको तीन वर्षमा सक्ने योजना बनाएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

अध्यक्ष बुढा मगरले तमान गाउँ पर्यटकीय हिसाबले अत्यन्तै संभावना बोकेको हुँदा यसलाई पर्यटकीय केन्द्र बनाउनका लागि यो परियोजना अगाडी बढाइएको बताउनुभयो । ‘तमान गाउँलाई पर्यटकीय हब बनाउने उद्देश्यले, हामीले यो परियोजना अगाडी सारेका छौँ, यस वर्ष विस्तृत अध्ययन प्रतिवेदन तयार गर्छौँ र अर्को वर्षदेखि काम सुरु हुन्छ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘योजनाको निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरि काम हुने छ ।’

परियोजना सरकार, निजी क्षेत्र र गाउँपालिकाभरी नागरिकहरुको लगानीमा निर्माण हुने उहाँको भनाई छ । परियोजना निर्माणमा पालिका भरीका सबै नागरिकलाई साझेदार बनाइने छ । तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्ने र सोलेडाँडा हुँदै म्याग्दी जोड्ने सरकारको रणनीतिक सडक योजना अन्तरगको क्षेत्रमा भएको हुँदा विस्तारै तमानखोला क्षेत्र पर्यटकीय हब बन्ने अध्यक्ष बुढा मगरेको भनाई छ ।

सरकारको रणनीतिक सडक अन्तरगत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने हुँदा तमान गाउँ केन्द्रमा पर्ने उहाँले बताउनुभयो । यो सडकलाई ‘धार्मिक पर्यटक सडक’को नामारण गरेको उहाँको भनाई छ । अध्यक्ष बुढा मगर भन्नुहुन्छ–‘सडकले जोडेपछि यहाँ आएर गाउँमात्रै हेरेर भएन, पर्यटकहरुलाई घुम्ने केही न केही त चाहियो, त्यसले गर्दा यहाँ बाँध बाँधेर ताल बन्ने छ, ढुङ्गा संचालन हुने छन्, फिस फाम संचालनमा आउने छन्, वरपर राम्रो–राम्रो रेस्टुरेण्टहरु भन्ने छन् भने पर्यटकलाई आकर्षण गर्ने अन्य संरचनाहरु निर्माण गर्ने समेत हुने छ, त्यसले पर्यटकलाई १/२ दिन तमान गाउँमै बस्न आकर्षित गर्ने छ ।’

अध्यक्ष बुढा मगरले सरकारको रणनीतिक सडक अन्तरगत छोटो रुटमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र पर्ने हुँदा, विस्तारै अहिलेको सडक पनि स्तरोन्नती हुने, जलाशययुक्त हाइड्रोपावर निर्माण हुने र सिंगो तमानले मुहार पर्ने बताउनुभयो । यो सडक हुँदैपछि हजारौँ धार्मिक पर्यटकहरु तमान गाउँबाटै यात्रा गर्ने हुँदा यहाँका नागरिको जीवनस्तर र जीवन पद्धती बदलिने बताउनुहुन्छ ।

‘विशेषगरी यो योजना पर्यटन प्रवद्र्धनकै लागि निर्माण गर्न थालेका हौँ, अहिले गाउँको सुन्दरताले मात्रै गर्दा धेरै पर्यटकहरु आउन सकेका छैनन्, पर्यटक आउनका लागि राम्रो सडक पनि छैन, त्यसले गर्दा पनि होला, पछि यो सडक कालोपत्रे हुने छ,’ उहाँले भन्नुभयो ‘यहाँका नागरिकहरुको अहिलेको जुन अवस्था छ, त्यो पुरै बदलिनेछ, उनीहरुको लाइफस्टाइदेखि लिएर हरेक कुरामा बदलिने छ, हामीले यो परियोजना नागरिको जीवन बदल्नकै लागि अगाडी सारेका हौँ ।’

यहाँको वातावरण, भौगोलिक हिसाबले धेरै संभावना बोकेको हुँदा गाउँपालिकाले यो योजनालाई महत्वका साथ लिएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । यहाँबाट ३५० किलोवाटको विद्युत समेत उत्पादन हुने उहाँको भनाई छ । उहाँले उत्तरगंगा हाइड्रोपावरको ‘नमुना हाइड्रो’को रुपमा यसलाई विकास गर्न थालेको बताउनुभयो ।

बुर्तिबाङ देशकै १० नमुना सहर मध्येको एक भएको र यहाँबाट तमान नजिक पर्ने हुँदा भविष्यमा बुर्तिबाङ र बागलुङका सबै ठाउँबाट हजारौँ आन्तरिक पर्यटकहरु यहाँ घुमघाम र फ्रेस हुनका लागि पुग्ने उहाँको भनाई छ । उहाँले गाउँ हेर्दा पनि आनन्द आउने खालको भएको हुँदा यसले धेरैलाई आकर्षण गर्ने बताउनुभयो ।

अध्यक्ष बुढा मगरले जलाशाययुक्त हाइड्रपावर निर्माणका लागि ४० करोड लागत लाग्ने र पर्यटनसहितको काम गर्न ५०/६० करोड लाग्ने अनुमान गरेको बताउनुहुन्छ । ‘यो परियोजना पर्यटनसहित निर्माणकका लागि करिब ६० करोड लाग्ने आँकलन गरेका छौँ, जलाशययुक्त हाइड्रोपावर मात्रै ४० करोडमा निर्माण हुने छ,’ उहाँले भन्नुभयो ‘यसमा स्थानीय सरकार, निजी, कम्पनी र गाउँपालिकाभरका नागरिकको लगानीमा बन्ने छ, यहाँका सबै नागरिकले यो परियोजना आफ्नो भएको महशुस गर्ने छन् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *