बैंकले व्याजदर वृद्धि गर्दा सहकारीमा प्रभाव पर्यो : थापा

कोरोना महामारीले गर्दा अहिले बैक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । बचत कम र बचत फिर्ता बढी हुन थालेपछि सहकारी संस्थाहरुले तरलता अभावलाई न्यूनिकरण गर्नका लागि विभिन्न योजनाहरु बनाइरहेका छन् । योजना बनाउदा बनाउदै पनि आफ्ना सदस्यहरुले मागेको समयमा कर्जा लगानी भने गर्न सकिरहेको अवस्था छैन । विद्यमान तरलता अवस्थामा सहकारीहरुले कसरी काम गरिरका छन् ? यस विषयमा कास्की जिल्लाको पोखरास्थित सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णबहादुर थापासंग आदर्शकर्मी साधना पन्तले गरेको कुराकानी :

वित्तीय क्षेत्रमा तरलताको समस्या पेचिलो बन्दै गएको छ, तपाइको सहकारी संस्थामा अहिले तरलताको समस्या कस्तो छ ?
अहिलेको अवस्था हेर्ने हो भने हाम्रो सहकारीमा तरलताको त्यति धेरै समस्या छैन् । तर यसको मतलब यो होइन की हामीसंग प्रशस्त रुपमा तरलता छ । हामीले हाम्रा सदस्यहरुलाई केही हदसम्म चित्त बुझाएका छौ । हाम्रो संस्थाले पछिल्लो समय लगानी गरेको छैन । साधारण तरिकाले सहकारी संचालन मात्र गरेका छौ । कोरोना महामारी आएको लामो समय भयो । कोरोनाले गर्दा तरलताको अभाव भयो भन्ने सुनिन्छ । मेरो विचारमा पैसाको सहि व्यवस्थापन नभएर पनि अहिलेको अवस्था आए जस्तो लाग्दछ ।

स्वीकृत भइसकेको ऋण दिनै नसक्ने र नयाँ ऋणको आवेदन पनि लिन नसक्ने अवस्थामा वित्तीय संस्थाहरु पुगेका छन् भन्ने चर्चा छ । के यो सत्य हो ?
हामीले स्वीकृत भएका ऋणलाई रोकेका छैनौ । तर, नयाँ ऋणको आवेदन भने लिने अवस्थामा हाम्रो सहकारी पनि छैन् । अहिले वित्तीय क्षेत्रमा तरलताको अभाव भन्ने कुरा सत्य हो, तर सहकारीले आफ्ना शेयर सदस्यलाई सके सम्म सेवा दिनु पर्दछ भन्ने मान्यता राख्दछ । त्यसकारणले बजारमा सहकारीले स्वीकृत भएको ऋण पनि दिन सकेको छैन् भन्ने जुन हल्ला सुनिन्छ त्यो हल्ला गलत हो । सहकारीको भलो नचाहने मानिसले फैलाएको अफवाह मात्र हो । हामी सहकारी संचालकहरुले सकेसम्म आफ्ना शेयर सदस्यलाई सहि समयमा सुविधा दिन लागि परिरहेका छौ । सहकारी बुझेर सहकारी संचालन गरेका संस्थामा अहिले तरलताको ठूलो समस्या देखा परे जस्तो मलाई लाग्दैन् । सहकारी संचालन गर्ने मानिसहरुले परिस्थितिलाई मुल्याङकन गर्न सक्नु पर्दछ । बजारको अवस्थालाई बुझेर सहकारीको संचालक व्यवस्थापकले योजना निर्माण गरि अगाडी बढने हो भने खासै ठूलो समस्या आउदैन् । हाम्रो सहकारीले नयाँ ऋण लगानी गर्न सकेको छैन् । तरलताको अभाव वित्तीय संस्थामा आएसंगै बैंकहरुले व्याजदर वृद्धि गरेका छन् त्यसको प्रत्यक्ष प्रभाव सहकारीमा परेको छ । किनभने सहकारीको नियमानुसार व्याजदर धेरै गराउन नमिल्ने भएको कारणले पछिल्लो समय बचत फिर्ता धेरै भएको अवस्था भने छ । जहाँ व्याजदर बढी हुन्छ, सेवाग्राहीहरुले त्यही लगेर पैसा राख्ने भएकोले व्याजदरको दायरा बैंकलाई पनि राख्नुपर्ने देखिएको छ ।

बढ्दो तरलता अभावको अवस्थाबाट संस्थालाई सामान्य अवस्थामा ल्याउन कस्तो रणनीति बनाउनु भएको छ ?
अहिलेको बढ्दो तरलतालाई सामान्य अवस्थामा ल्याउनका लागि सकेसम्म शेयर सदस्यलाई बचत गर्न आग्रह गरेका छौ । बचत अभियान चलाएका छौ र आवधिक वचत बढाउ अभियान संचालन गरेका छौ । कर्जाको किस्ता र ब्याज असुलीमा जोड दिएका छौ ।

तरलताको समस्यासँगै वित्तीय संस्थाहरुले ब्याजदर परिर्वतन गर्ने गरेको पाइन्छ, यसलाई कसरी लिनुहुन्छ, तपाईहरुले व्याजदरमा परिर्वतन गर्नुभएको छ की छैन ?
हामीले सहकारी विभागको निर्देशन अनुसार व्याजदर निर्धारण गरेका छौ । हाम्रो सहकारीले तरलताको अभावका कारण व्याजदर परिर्वतन भने गरेको छैन् । तर, हामीले सहकारी विभागको आगामी कदम के हुन्छ भनेर कुरिराखेको अवस्था अहिले छ । अहिले बैंकहरुले सेवाग्राहीलाई दिएको व्याजदर देख्दा तुरुन्तै सहकारीको पनि व्याजदर बृद्धि गर्नुपर्ने देखिन्छ । त्यसकारणले यसको समस्याको समाधानको लागि सरकार, मन्त्रालय र विभागले छिटो भन्दा छिटो केही उपाय निकाल्न आवश्यक छ । व्याजदरको बारेमा सम्बन्धीत निकायले उपाय निकालेन भने धेरै ठूलो समस्या सहकारीले व्यहोर्नु पर्ने जस्तो मलाई लग्दछ ।

अबको समाधान के होला ?
पछिल्लो समय धेरै पैसा वित्तीय संस्थामा भन्दा मानिसहरुको घर घरमा भएको पनि पाइएको छ । त्यसकारणले अव सवैले आर्थिक कारोबार वित्तीय संस्थाबाट गरिदिदा केही हदसम्म समस्या समाधान हुने थियो । सरकारले सम्पुर्ण वित्तीय संस्थाहरुको व्याजमा समायोजन गरिदिनु पर्ने हुन्छ । सबै वर्गका मानिसहरुलाई सहज रुपमा आर्थिक कारोबार गर्न सक्ने वातावरण मिलाएर काम गर्नुपर्ने देखिन्छ । पैसालाई चलायमान गराउने खालको सहकारीकर्मीले पनि रणनितीहरु बनाउन सक्ने हो भने तरलताको समस्या हट्न सक्दछ ।

सहकारी संचालन गर्नका लागि समस्या आउदा पनि सहकारी बैंक सहकारीहरुको छाता संगठन भएको कारण हामीहरुलाई ऐन नियमको बारेमा जानकारी, आवश्यक सल्लाह र ऋणको पनि व्यवस्था मिलाई दिएको छ । तरलता अभावको अहिलेको अवस्थामा तरलता व्यवस्थापन गर्नका लागि सहकारी बैंक र सहकारी महासंघले हामीलाई विभिन्न समयमा तालिमहरु दिनुभएको छ । यसले पनि हामीहरुलाई केही हदसम्म सहयोग पुगेको छ । महासंघले मन्त्रालयसंग छलफल चलाएर यो कठिन समयमा सहकारीलाई बचाउनु पर्दछ भनेर विभिन्न खालको पहलकदमीहरु चालिराखेको छ र आगामी दिनमा पनि यही ढंगले अगाडी बढदा तरलताको समस्या हामीले छिटै समाधान गर्नेछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *