सत्ता स्वार्थले ग्रसित गठबन्धन

सम्पादकीय
नेपाललाई बेला बेला सतीले सरापेको देश भन्छन् । असल नियतले काम गर्दा गर्दै पनि चरम असफलता र निराशा खेपेकाहरुको यस्तो अनुभव, प्रतिक्रियाले बेला बेला धेरैलाई सोचनीय अवस्थामा पु¥याउँछ पनि । यस्तो हुनुमा अरु धेरै कारण हुन सक्छन्, तर यसमा सबै भन्दा बढी त हाम्रो देशको राजनीति र प्रणालीगत कुरा हो । राजनीति घृणित बन्दै जानु र प्रणाली विकृत बन्दै जाने अवस्थामा पुग्नुले देशमा अनगिन्ती समस्या सिर्जित मात्रै छैनन्, देश बेला बेलामा गम्भीर संकट र सकस भोग्ने अवस्थामा पुगिरहेको छ । अहिले पनि सिंगो नेपाल र नेपाली समुदाय अहिले मिलिनियम च्यालेन्ज कर्पुरेशन (एमसीसी)को पक्ष र विपक्षमा बिभाजित छ । एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन धरापमा परिरहेको छ । अघिल्लो केपी ओलि नेतृत्वको सरकारलाई दुई पटक संसद विघटन गरे पछि सर्वोच्च अदालतको आदेशबाट स्थापित नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारका लागि एमसीसी निल्नु न ओकल्नु भइरहेको छ ।

आफूलाई स्वघोषित रुपमा अग्रगामी दाबी गर्दै आइरहेको वर्तमान सत्ता गठबन्धनले तत्कालीन संसद विघटनका बेला उठाएका आवाज र माग जायज थियो । जुन सर्वोच्चको आदेशबाट समेत थप पुष्टि भएको छ । यद्यपि, अदालत र न्यायधीश समेत मन्त्री परिषदमै पछि भागबण्डा मागेको विषयले यसमा ठूलो संशय पैदा ग¥यो । तर, पार्टीको आन्तरिक विवादको विषयलाई लिएर जनअभिमत प्राप्त संसद बिचमै विघटन गर्ने कुरा संविधानतः गलत थियो । यही एजेण्डाले एक ठाउँमा उभिएका राजनीतिक दल केपी ओलिको बर्हिगमनसँगै सत्तामा पुगे । सत्ताको बागडोर सम्हाले पछिका गतिविधि हेर्ने हो भने उनीहरुले नै दाबी गरेको अग्रगामी गठबन्धन सरकार आफैलाई गिज्याउने अवस्था छ । यसको पछिल्लो ज्वलन्त परिदृश्य एमसीसी प्रकरण हो । एमसीसीलाई लिएर सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने पक्षमा दृढ भएर उभिएको छ भने सत्तारुढ दलकै नेकपा माओवादी, एकीकृत समाजवादी विपक्षमा उभिएको छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भित्र यही विषयले विवाद देखिन्छ । अझ उदेक लाग्दो विषय त सत्तामा रहेका राजनीतिक दल सरकारमा पनि सडकमा पनि देखिएका छन् ।

सत्ता गठबन्धन कुनै घटना र एउटा विशेष परिस्थितिबाट बनेको हो । यसको आयु धेरै लामो हुँदैन, नहुन सक्छ । तर, आफूलाई अग्रगामी करार गर्नेहरुले व्यवहारतः पनि जल्दोबल्दो विषयमा दृढ र प्रष्ट विचार, निर्णय र मान्यताहरु स्थापित गर्न जरुरी छ । कार्यकर्तालाई सडकमा आन्दोलित बनाउने, माथि एमसीसी संसदमा टेबल गर्न सहमति पनि दिने, फेरि विपक्षमा मत हाल्ने, सरकार पनि छोड्दैनौ भन्ने बिरोधाभास छरपष्ट देखिन्छन् । यो नै सत्ता प्रतिको आशक्तिको चरम रुप हो । जुन अहिलेको सत्ता गठबन्धनमा प्रष्ट देखिएको छ । जे जस्तो क्रान्तिकारी देशभक्त नारा, भाषण र तर्कहरु पेश गरे पनि व्यवहारमा सत्ताबाट बाहिर रहनु पर्दाको दुःख र आगामी चुनावमा अहिलेकै गठबन्धन कायम हुन नसक्दाको डरबाट गठबन्धन ग्रसित छ । अब ढिलै भए पनि एमसीसी गलत छ भने अस्वीकार र सही छ भने समर्थन गरेर देशलाई निकास दिन लाग्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *