जिल्ला सहकारी संघ बागलुङले छान्यो ५ जना सल्लाहकार

आदर्श अनलाइन, बागलुङ
जिल्ला सहकारी संघ लिमिडेट बागलुङले ५ जना सहकारीकर्मीहरुलाई सल्लाहकार चयन गरेको छ । गत पुस अन्तिम साता सम्पन्न संघको १३ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिले संघलाई थप प्रभावकारी बनाउनका लागि सहकारी क्षेत्रमा योगदान गरेका व्यक्तिहरु मध्येबाट ५ जनालाई सल्लाहकार चयन गरेको संघका सचिव दुर्वलकाजी राजभण्डारीले जानकारी दिनुभयो ।

संघको बिहीवार सम्पन्न सञ्चालक समितिको वैठकले सल्लाहकारहरुमा संघका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंंकका सञ्चालक राम बहादुर जिसी, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डीप्रसाद शर्मा, संघका निवर्तमान अध्यक्ष दिपक गौतम, निवर्तमान सल्लाहकार तोयानाथ गौतम र निवर्तमान सचिव तेजेन्द्र थापा मगरलाई सल्लाहकार चयन गरेको हो ।

सहकारी संघ स्थापना लगायत संघको प्रवद्र्धनमा विभिन्न समयमा योगदान गरेका सहकारीकर्मीहरुलाई सल्लाहकार चयन गरेका छौ, संंघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले भन्नुभयो, ‘संघलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सल्लाहकारहरुबाट आगामी दिनमा समेत निरन्तर सहयोग र समन्वयको अपेक्षा गरेका छौ ।’

बैठकले शिक्षा उपसमिति र ऋण उपसमितिको संयोजक तथा सदस्य चयन गरेको छ । शिक्षा उपसमितिको संयोजकमा संघका सञ्चालक खिम बहादुर कार्की तथा सदस्यहरुमा शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका दिनेश अधिकारी र एकता सहकारी संस्थाका सञ्चालक कल्पना श्रेष्ठलाई सदस्य चयन गरेको छ ।

यस्तै संघका कोषाध्यक्ष लक्ष्मण पुनको संयोजकत्वमा ३ सदस्यीय ऋण उपसमिति गठन भएको छ । ऋण उपसमितिका सदस्यहरुमा शुभश्री वचत तथा ऋण सहकारी संस्थाका राजु गौतम र नवरत्न बहुउद्देश्यीय सहकारी संस्थाका देव बहादुर खड्का रहनु भएको छ ।

संघले बागलुङ जिल्लाका सबै सहकारीहरुको वित्तीय तथा अन्य अवस्था झल्कने गरी प्रोफाइल (प्राश्वचित्र) प्रकाशन गर्ने तयारी गरेको छ । प्रोफाइल प्रकाशनका लागि यस अगाडि नै सञ्चालक खीम बहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन भएको छ । उक्त कार्यदलले जिल्लाका सबै पालिकामा रहेका सहकारीहरुको विवरण संकलन गरिरहेको संयोजक कार्कीले जानकारी दिनुभयो ।

प्रोफाइल प्रकाशनका लागि सहयोग गर्न संघले बागलुङ जिल्लाका १० वटै पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । सबै पालिकाहरुमा रहेका सहकारीहरुको विवरण सहितको प्रोफाइल प्रकाशन गरिने भएकाले सबै पालिकाले सहयोग गर्ने अपेक्षा लिइएको अध्यक्ष जिसीले बताउनुभयो । संघले अगाडि बढाएको प्रोफाइल प्रकाशनमा सहयोग गर्न जिल्लामा रहेका सबै सहकारीहरुलाई आव्हान गरिएको छ । राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आगामी चैत २० गते प्रोफाइल प्रकाशनको तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै संघको वैठकले हरेक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवस मनाउन सबै पालिकालाई आव्हान गरेको छ । संघीय संरचना कायम भएसंगै पालिकाहरुमा सहकारी दिवस लगायत सहकारीको प्रवद्र्धनका क्षेत्रमा काम नभएको निष्कर्ष सहकारीकर्मीहरुले निकालेका छन् । स्थानीय सरकारले सहकारीलाई प्राथमिकतामा नराखेको सहकारीकर्मीहरुको गुनासो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *