२५ वर्ष भारतमा बिताएका खत्री गाउँ फर्किएर बाख्रापालनमा

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर २ बजिनीका लालबहादुर खत्रीले दुई दशक बढी समय भारतको विभिन्न स्थानमा बिताउनुभयो । २५ वर्षसम्म भारतमा रहेर काम गर्दै आउनु भएका खत्री कोरोनाले गर्दा गाउँ फर्कनुभयो । कोरोनाले सबै क्षेत्र ठप्प भएपछि गाउँ फर्किनु भएका खत्रीले अहिले बाख्रापालनमा लाग्नु भएको छ ।

भारतको हेदरवादमा रेष्टुरेण्ट संचालन समेत गरेर जिविकोपार्जन गर्दै आउनु भएका लालबहादुर कोभिडकै समयमा गाउँ आउनु भयो र व्यवसायीक बाख्रापालन सुरु गर्नुभयो । भारतमा रहँदा धेरै युवालाई ‘कुक’ सम्बन्धी काम सिकाउनु भयो । अहिले उहाँले ‘कुक’ सिकाएका धेरै युवाहरु जापानमा छन् । उहाँ भने गाउँमा बाख्रापालक बन्नुभएको छ ।

३८ वर्षीय खत्रीले गाउँ व्यवस्थित खोर बनाएर बाख्रापाल्न थाल्नु भएको छ । अहिले उहाँका खोरमा सानाठूला, पाठापाठी र माउ गरि ६० वटा बाख्रा छन् । खत्रीले केही स्थानीय र केही बोयर प्रजातिका बाख्राहरु पाल्नु भएको छ । खत्रीलाई उहाँकी श्रीमतिसहित बाबा आमाले पनि साथ दिँदै आउनु भएको छ । उहाँका दुई छोरी, एक छोरा छन् । परिवारको जीविकोपार्जन बाख्रा पालेरै चलेको छ ।

भारतमा हुँदा रेष्टुरेण्टनै चलाएर पारिवार चलाउँदै आउनु भएका लालबहादुरले अब बाख्रालानबाटै परिवार चालउने बताउनुहुन्छ । कोरोनाले गर्दा भारतमा रोजगारी छोडेर आउनु परेको भन्दै खत्रीले अब गाउँमै व्यवसाय गरेर आत्मनिर्भर हुने बताउनुभयो । उहाँले अहिले व्यवसायको सुरुवाति चरण भएको भन्दै उत्पादनलाई विशेष जोड दिएको बताउनुभयो ।

‘भारतमा रेष्टुरेण्ट चलाएको थिएँ, कोरोनाले गर्दा सबै बन्द भयो, कोरोनाकै बेला गाउँ फर्किए, गाउँ आएर घरमा थोरै बाख्रा थिए, त्यसलाई थप व्यवस्थापन गरेर हिले व्यवसायिक रुपमा सुरु गरेको छु’ खत्रीले भन्नुभयो ‘अब गाउँमै व्यवसायी बन्ने हिसाबले बाख्रापालन थालेको छु, अब यहीबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने लाग्छ ।

उहाँले आफूले बाख्रापालन सुरु गरेको दुई वर्ष हुन थालेको भन्दै सुरुवाति चरणमा पनि राम्रो प्रतिफल प्राप्त गर्न थालेको बताउनुहुन्छ । गाउँमा पाइने स्थानीय प्रजातिका बाख्राहरुबाट व्यवसाय सुरु गरेकोमा अहिले विभिन्न प्रजातिका बाख्राहरु समेत पाल्न थालेको खत्रीको भनाई छ ।

‘सुरुमा लोकल बाख्राहरुबाट पाल्न सुरु गरेको थिए, अहिले बोयर लगायत अन्य जातका बाख्राहरु पनि पालेको छु, व्यवसाय सुरु गरेको दुई वर्षभयो, अहिलेसम्मको अवस्था हेर्दा राम्रो छ,’ उहाँले भन्नुभयो ‘मैले बाख्रापालनमा राम्रो संभावना देखेर लागेको छु, खोर पनि व्यवस्थितनै बनाएर लागेको छु ।’

बाख्रा फर्ममा एक जना कामदार समेत राखेको उहाँको भनाई छ । खत्रीले अहिले बाख्राको राम्रो बजार रहेको समेत बताउनुहुन्छ । उहाँले बाहिरबाट पनि धेरै अर्डर आउने गरेकोभन्दै माग अनुसारको उत्पादन गर्न नसकेको बताउनुहुन्छ । मान्छेहरु बाख्रा खरिदका लागि फर्ममै आउने गरेको खत्रीको भनाई छ । बाख्रा विक्री गर्नका लागि कतै लैजानै नपर्ने उहाँको भनाई छ । अनलाइन मार्फत पनि बाख्रा खरिद गर्नेहरु समेत बढेको खत्रीले बताउनुभयो ।

‘अहिले बाख्राको माग निकै बढेको छ, बजार पनि निकै राम्रो छ, माग अनुसारको उत्पादन गर्न सकिएको छैन, मैले पु¥याउनै सकिराखेको छैन, घरमै खरिद गर्न आउँछन्, त्यसले गर्दा बजारमा लैजानु परेको छैन,’ खत्रीले भन्नुभयो ‘अनलाइन मार्फत पनि धेरै ठाउँबाट खरिद गर्नुहुन्छ, त्यसले गर्दा पनि उत्पादनलाई निकै बढाउनु पर्ने छ ।’

उहाँले बागलुङ, पोखरा, काठमाडौँ लगायतका ठाउँहरुबाट पनि बाख्राको माग गर्ने गरेको भन्दै त्यसले गर्दा उत्पादनमा बढी जोड दिनु परेको बताउनुहुन्छ । खत्रीले उत्पादन गरेका बाख्राहरु अहिले बागलुङको गलकोट क्षेत्रमै खपत भइराखेका छन् । उहाँले बाख्रापालन गर्दा बढी मेहनत गर्नु पर्ने भन्दै विदेशमाभन्दा गाउँमै जुन सुकै पेसा गरे पनि राम्रो हुने बताउनुभयो । विदेशमा जति सुखको काम गरे पनि स्वदेशनै प्यारो लाग्ने उहाँको भनाई छ । यो पेसाबाट परिवार र आफू सन्तुष्टि रहेको बताउनुभयो ।

‘यो दुःखको पेसा हो तर धेरै खुसी छु, परिवारसँग सँगै बसेर व्यवसाय गरेको छु, सुख, दुःख परिवारसँगै कटाउन पाइएको छ, अहिलेसम्म सन्टुष्टिनै मिलेको छ,’ खत्रीले भन्नुभयो ‘विदेशमा जति सजिलो कामनै किन नहोस आफ्नो गाउँठाउँ जस्तो कहाँ प्यारो हुन्छ र ?, गाउँमै भए पनि एक जनालाइ रोजगार दिन सकेको छु, व्यवसाय बढ्दै गयो भने अझै थपिने छन् ।’

खत्रीले भारतमा आफूले गलकोटका धेरै युवालाई कुक सिकाएको र अहिले उनीहरु जापानमा रोजगारी गरि रहेको भन्दै उनीहरुले आफूलाई जापान बोलाउने गरेको बताउनुहुन्छ । ‘भारतमा मेरो रेष्टुरेण्टमा ४०÷४५ जना युवाहरुलाई कुुक सिकाएँ, अहिले उनीहरु जापान छन्’ उहाँले भन्नुभयो,’ ‘ति भाइहरुले अहिले मलाई जापान आउनु भन्छन् ।’

खत्रीले वार्षिक १५ लाख आम्दानी गर्ने गरि काम गरि रहेको बताउनुहुन्छ । उहाँले स्वदेशमा पनि मेहनत गरे विदेशमा जत्ति कमाई गर्न सकिने बताउनुभयो । युवाहरु दिनदिनै विदेश पलायन हुँदा गाउँका उर्वर जमिनहरु वनमाराले ढाकिन थालेको उहाँको भनाई छ ।

‘गाउँमा उर्वर जमिन वनमाराले ढाकेको छ, युवा शक्तिहरु दिनदिनै विदेशी रहेका छन्, गाउँमा संभावना भएर पनि धेरैको नजर विदेशै छ,’ उहाँले भन्नुभयो ‘गाउँका उर्वर जमिनको सही प्रयोग गरियो भने यहाँ पनि राम्रो पैसा कमाउन सकिन्छ, विदेश मोह नघटे गाउँहरु पछि–पछि सुनसान बन्ने छन् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *