बागलुङमा थपियो आकर्षक धार्मिक गन्तव्य

आदर्श अनलाइन, बागलुङ

सर्वसिद्धिधाम पञ्चकोट निर्माण सँगै पर्यटकीय चहल पहल बढ्न थालेको बागलुङमा नयाँ धार्मिक पर्यटकीय गन्तव्य थपिएको छ ।

कालीगण्डकी नदीमा पाइने दुर्लभ एवम् बहुमूल्य शिला शालग्रामको संरक्षणका लागि बागलुङमा शालग्राम संग्राहलय निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुले स्थित श्री रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालग्राम संग्राहलय’ निर्माण गरिएको हो ।

संग्राहलयको आइतबार नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । त्रिशूल आकारमा रहेको सुरुङको बाँया पट्टि धार्मिक महत्वका सवा लाख शालग्राम संकलन गरेर राखिएको छ ।

प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपोन्मुख अवस्थामा पुगेको शालिग्रामलाई हिन्दू धर्म, संस्कारमा विष्णु भगवान्का रूपमा पुज्ने चलन छ । कालीगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा पाइने शालग्रामको दर्शन गर्नाले पुण्य मिल्ने जनविश्वास छ ।

झण्डै रु. छ करोडको लागतमा डेढ वर्ष लगाएर संग्रहालय बनाइएको मन्दिर एवम् निर्माण समितिका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यले आदर्श अनलाइनलाई बताउनुभयो । लोप हुँदै गइरहेको शालिग्रामको संरक्षण र धार्मिक पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले संग्राहलय निर्माण गरिएको उहाँको भनाई छ ।

लामो सुरुङ भित्र सवा लाख साना ठुला शालिग्राम सहित आकर्षक रुपमा बनाइएका संरचना, धार्मिक एवम् प्राकृतिक स्थललको रेखांकन सहितको नक्साले समेत धेरैको ध्यान तान्ने अपेक्षा गरिएको छ । संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । सङ्ग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । संग्राहलयमा मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृति कक्ष पनि बनाइएको छ । उहाँको मूर्तिसँगै गण्डकी सभ्यताबारे उनले लेखेका पुस्तक, लेख, रचना र अन्य सामग्री उक्त कक्षमा छन् । भारत, चीन, पाकिस्तान लगायत देशमा रहेका प्रसिद्ध नदीका शिलाहरु पनि संग्राहलयमा राखिएको छ । समुद्री अवशेषहरुलाई पनि नमूनाका रूपमा देखाइएको छ । पाठपूजा, हवन जस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि सङ्ग्रह गरिएको छ । सुरुङको दायाँपट्टि १ सय २० जना क्षमताको हल एवम् वृत्तचित्र प्रदर्शनीकक्ष निर्माण गरिएको छ । त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यता माथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ ।

मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो । भौगोलिक नक्सा अनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्सांकनलाई सिसाले सुसज्जित गरिएको छ । गण्डकी सभ्यताको अध्ययन, अनुसन्धान र अवलोकन गर्न चाहनेहरुका लागि यो उद्गम गन्तव्य बनाउने गरि काम गरिएको स्वामी प्रपन्नाचार्य बताउँछन् । ‘बिश्वकै पवित्र र सर्वोच्च नदी कृष्णगण्डकी हो, धार्मिक स्थलमा सबै भन्दा पवित्र तिर्थस्थल मुक्तिक्षेत्र हो । यो सन्त महन्त सबैले स्वीकार गरेको कुरा हो,’ स्वामी प्रपनाचार्यले भन्नुभयो, ‘अहिलेका पुस्ता शालिग्राम, मुक्तिक्षेत्र र कृष्णगण्डकीको महत्व महिमाबाट बेखबर छ,’ उहाँले भन्नुभयो,‘त्यही महत्व दर्शाउन १३÷१४ बर्ष लगाएर शालिग्राम संकलन गरि संग्राहलय निर्माण गरेका हौ ।’

अत्याधुनिक प्रविधिको प्रयोग गरेर भारतको बैङ्गलोर शहरमा वृत्तचित्र बनिरहेको र आगामी पुस सम्ममा सकिनेछ । सुरुङको पछिल्लो भागमा ध्यानस्थल पनि बनाइएको छ । भक्तजन र पर्यटकलाई संग्राहलय भित्र एक÷डेढ घण्टाको समय लाग्नेछ । सङ्ग्रहालयमा बायाँपट्टिबाट प्रवेश गरी एक फन्को लगाएर बाहिर निस्कने व्यवस्था मिलाइएको छ । सङ्ग्रहालय घुमेको रु १ सय शुल्क तोकिएको छ । विद्यार्थीले रु ५० को टिकटमा सङ्ग्रहालय घुम्न पाउनेछन् । अब औपचारिक रूपमा विहानदेखि बेलुकी सम्म सर्वसाधारणका लागि संग्राहलय खुला गरिएको छ ।

सङ्ग्रहालय निर्माणका लागि गत आवमा गण्डकी प्रदेश सरकारले रु ८० लाख र बागलुङ नगरपालिकाले रु १० लाख बजेट छुट्याएको थियो । चालू आवमा कतैबाट पनि सरकारी बजेट नछुट्टिएको मन्दिर व्यवस्थापनको गुनासो छ । संग्राहलय निर्माणमा दाताहरुको ठूलो सहयोग छ ।

संग्रहालय नजिकै निर्माणाधीन श्रीरङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको पनि ९५ प्रतिशत काम पूरा भएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाइएको हो । प्यांगोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ । सालको काठमा आर्कषक कला कुँदेर मन्दिरका टुँडाल, झ्यालढोका बनाइएको छ । प्राचीन नेपाली कला र शैली झल्कने गरी बनाइएको मन्दिरमा ६४ टुँडाल छन् भने तिनमा विभिन्न देवी, देवताका आकृति कुँदिएका छन् । मन्दिरमा भगवान् मुक्तिनाथ, श्रीरङ्गनाथ, श्रीवेङ्कटेशनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीको मूर्ति रहेको स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *