‘न गरि खानु, न मरि जानु । न हुन्छ सोंचे जस्तो, न हुन्छ भने जस्तो । नत केहि गरियो, न फेरियो । कर्म कर्म जस्तो भएन । विधि विधान र नीतिका कुरा, आत्मघाति छुरा जस्ता रहे । जनसेवाको कथन, कमाउने, रमाउने र समाउने थितिमा बदलिए । निस्वार्थ मान्छेहरु, राजनीतिमा लागेर स्वार्थी हुन सिके । समाजसेवाको मर्म बेचेर, अवैध धन्दावालहरुको लहड विस्तारित भयो । मुखमा रामराम बगलिमा छुरा आजको राजनैतिक चित्रमा उदायो ।
चित्र देखाएर चरित्र बेच्ने मखण्डीहरुको पेशा बन्यो राजनीति । अधर्मी, लाछि र पापीहरुको रछ्यान बन्यो राजनीति । कलंकको टीका थाप्नेहरु छिनछिनमा अदलबदल हुँदा रंगमञ्चको रजाई बन्यो राजनीति । घृणा, वितिष्णा र चरित्रहिन मान्छेहरुको खोलो मेलो शिद्ध भयो राजनीति । मानवीय सद्भाव र निष्ठा हरणको बिघ्नता भेट्यायो वर्तमान राजनीतिले । कर्म बेचेर होईन लाज घिन बेचेर मन्दिरका गजुर रच्यो राजनीतिले । मन्दिरका मुर्ति र आस्थाका भगवान राक्षस बनायो राजनीतिले ।
देश बनाउने उच्चतम विधि, प्रणाली र पद्धतिको स्वश्रप भनिएको राजनीतिमा निच तहसम्मको कुसंस्कारले कब्जा जमायो । सभ्यताको भकारी निखारेर, असभ्य भिडहरुको दुस्प्रचार रमाएको राजनीतिमा तर्कबाज, तिघ्रेमुङ्रे, पदलोलुज, लाचारी, व्यवभिचारी, कुसंस्कारी, अत्याचारीहरको हैकमले नैतिकतामा दाग बस्यो । राजनैतिक अज्ञानीहरुको हालीमुहालीले विधि विधान कलंकित बनाएर सामाजिक संस्कृतिनै भत्किएपछि केका लागि कस्का लागि यो बेइमानी राजनीतिमा राम्रा मान्छेहरु उभिन्छन् । राजनीतिका कस्ले कस्तो संस्कार र नीति विधिको पालना गरे र त्यसको समर्थनमा गतिलाहरु अडिन्छन् । राम्रा र हाम्राहरु पाखा लगाइएको शाजिसमा जिउँदै शहिद बनाइने खेतिमा वर्तमान राजनैतिक नेताहरु एकपछि अर्कोगरि जनमतबाट एक्लिदैछन् । जनताको नजरबाट गिरेको अनुहारहरु समाजसेवाका गाथा भजाएर भूडि पालेको कता छुपाउनु ।
त्यनो कोही बाँकी छैन जस्तो कुतर्कमा मै राम्रो भन्ने बाहेक स्वाभिमानी समाजसेवी जस्ले समाजको चित्र बदलोस् । कुराका बुख्याचा बोकेर रन्थनिएका दुईचार थान जनमगन्तेहरु आफूलाई सच्चा देशभक्ति र राष्ट्रप्रेमी भजाएको देख्ता, लाग्छ, यो देशमा बाह्रैमास गाईजात्रा पर्व सकिदैन । नैतिकहिनहरुको भिडभाड उरालेर जनमानसको मगजमा मान्छेहरु मजाक गरिरहेको छन । यसलाई यो देशमा राजनीतिकर्मी, नेता र नेतृत्व भनिएको छ । सामन्ती चरित्र, विद्धेषकर्मीहरुलाई नाट्यमण्डलाको चौकोमा उचालेर ‘बाँदुरे’ घन्काइएको छ । यसलाई आजको अर्थमा राजनीति र त्यसका पात्रका रुपमा भजाइएको स्वघोषित गन्ह्याउने पुलिन्दा रिंगाइएको मात्र हो ।
कता—कता अलि अलि गतिलो चरित्र बाँकी रहेकालाई यो तर्क कुतर्क लाग्न सक्छ । अन्ततः आजसम्म बचेंखुँचेको त्यो सद्चरित्र पदीय ओहोदामा उक्लेर सड्ने पक्का छ । त्यसकारण मरिसकेपछि बोल्न भ्याईंदैन । जिउँदै हुँदा घचघच बनाएको हो । जन्मेर मर्नु सत्य हो । तर जिउँदे मर्नु र लास बोकेर हिंड्नु असत्य हो । कर्म बेचेर पेट पाल्नु, ठाडो शीर नझुकाउनु, मानवीयतामा बाँधिएको मन फुकाउने, दयालु, सहयोगी र स्वाभिमानी भएर लोकको लाज मान्नु सतमार्गको चित्र हो । नानाथरी स्वार्थका खातिर त्यत्ति राम्रो चित्र बेचेर चरित्रमा दाग लगाउनु स्वभनीय कुरा होईन् । तर आज चरित्रमा कल्मस देखाउन छ र लोभि पापीको उचो सिंडि चढ्नु छ भने राजनीति गरे हुने भएको छ ।
ठीकलाई आफ्नो स्वार्थ अनुकुल बेठिक, कालोलाई सेतो, सेतोलाई कालो, हरियोलाई पहेंलो देख्ने रतन्धे आँखा छ भने त्यो आजको राजनीतिमा छ । कसैको कहिं कतै गति छाडेको छ भने त्यो राजनीतिमा छ । कोही बेइमान भेटिन्छ भने, त्यसले राजनीति गरेको छ । कोही भ्रष्ट छ, बेभिचारी छ, नीति नियम मिचेको छ । राष्ट्रघात गरेको छ भने त्यो आजको राजनीतिमा राजकाज चलाएको छ । राज्य सत्ताको दुरुपयोग पनि त्यही राजनीति गर्नेले गरिरहेको छ । यसकारण यति विघ्न व्यभिचारको फन्दामा फसेको राजनीतिले देशको प्रगति उन्नति, विकास सम्भव देखिन्न । आस्थाको आधारमा गरिएको बद्नियतपूर्ण व्यवहारको अवस्था परिवर्तन गरेको छैन । नसुध्रिएकाहरुबाट सुधार असम्भव छ । नैतिकहिनहरुबाट नैतिकताको पाठ अनूचित छ । न्याय मार्नेहरुबाट अन्याय, अत्याचार, दमनको भयंकर विजारोपण भइदिएको छ । यसकारण आजको राजनीति निरीहता तर्फ उन्मुख छ । यसले कसैको भलो गर्दैन ।