कोरोनाले चर्चामा ल्याएको ‘गुमनाम’ आयुर्वेद


खेमराज गौतम, बागलुङ

पूर्वजहरुले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्ता सम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ ।

अस्पताल स्थापना भन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालयहरु वर्षौदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् । कोरोना काल भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरामीको चासो र विश्वास बढ्न थालेको छ ।

बागलुङको कुल जनसंख्याको १० प्रतिशतले मात्रै आयुर्वेदको माध्यमबाट उपचार गराउदै आएकोमा अहिले यसको संख्या क्रमशः बढ्दै गएको छ । हजुरबुबा हजुरआमाको पालामा प्रशस्त प्रयोग गरिएको औषधीको कोरोनाकै कारण पुनः खोजी र प्रयोग गर्ने क्रम बढेको हो ।

कोरोना काल अघि सम्म फूर्सदिला देखिने औषधालयका कर्मचारीहरु अहिले व्यस्त हुन छन् । आफै औषधी उत्पादन देखि विद्यार्थीलाई योग प्रशिक्षण तथा आयुर्वेद शिक्षाका आयुर्वेद औषधालयका कर्मचारीहरु व्यस्त भएको देखिन्छन् । नागरिकहरु आयुर्वेद भन्दा एलोपेथिक औषधि प्रतिको बढी भरोसा थियो । तर, पछिल्लो दुई वर्ष यता आयुर्वेद प्रति नागरिकको भरोसा बढ्दै गएको छ । कोरोना कालमा गुमनाम भएको आयुर्वेद औषधीहरु बेसार, गुर्जो, असुरो र अश्वगन्धा लगायत चर्चामा रहे ।

सक्रिय संक्रमितको समयमा कोरोनाको औषधीका रुपमा धेरैले आयुर्वेद औषधीको प्रयोग मात्रै गरेनन्, औषधीको प्रयोगले कोरोना जितेको अनुभव छ बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनको ।

“बाजे, हजुर बुबा, आमाले आयुर्वेदको औषधीमा भर परेको हामीलाई थाहा थियो तर, हामीले अहिले विश्वास गरेका थिएनौं” पुनले भन्नुभयो “आफैलाई कोरोना लागेपछि आयुर्वेदको प्रयोग गरियो, अहिले आयुर्वेदले विश्वास जित्दै गएको छ ।”

कोरोनाको हालसम्म कुनै औषधी नबनेका कारण कोरोना जित्न सहयोगीका रूपमा आयुर्वेद औषधीको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धौलागिरी आयुर्वेद औषधालय बागलुङले जनाएको छ । कार्यालयले यस क्रममै संक्रमितको हात हातमा आयुर्वेद औषधी पु¥याउने अभियान चलाएको थियो । कोरोनाले गर्दा नै पुनः एक–पटक आयुर्वेद चिकित्साले नागरिकको भरोसा जित्न सफल भएको धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा. सरोज रायले बताउनुहुन्छ । “दैनिक रुपमा आयुर्वेद औषधीको प्रयोग गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ, विशेषगरी कोरोनाका कारण नागरिकमा आयुर्वेद चेतनाको वृद्धि भएको छ” डा. रायले भन्नुभयो “नागरिकको वेवास्ताका कारण गुमनाम बनाइएको गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधु अहिले पुनः प्रयोगमा आएका मात्रै छैनन् नागरिकले खोजी खोजी प्रयोग गर्न थालेका छन् ।”

कोरोनाले आयुर्वेद औषधी प्रतिको भरोसा समेत बढाउँदै लगेको र लोपोन्मुख जडिबुटीको समेत संरक्षणमा टेवा पु¥याउने उहाँको भनाइ छ । गुर्जो गुमनाम जस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो, अहिले कतिपय स्थानमा गुर्जोखेती समेत गर्दै आएको पाइएको छ ।

कोरोना सङ्क्रमित भई होम आइसोलेशन तथा आइसोलेशनमा बसेकाले कुनै न कुनै हिसाबले आयुर्वेद औषधी तथा औषधीजन्य पदार्थ सेवन गरेको डा.रायको दाबी छ । गुर्जो, टिमुर, बेसारपानी, पुदिना, बोझो, दालचिनी जस्ता आयुर्वेद औषधीको प्रयोग गरेर धेरैले कोरोनालाई जितेका थिए । औषधालयमा आउने नागरिकहरुलाई आयुर्वेदिक औषधी, आहार÷विहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ ।

कोरोना कालमा औषधालयको सेवा नपुगेको बरेङ गाउँपालिका, काठेखोला, ताराखोला, बडिगाड गाउँपालिकामा समेत नागरिक आरोग्य सेवा केन्द्र, पालिकाको स्वास्थ्य शाखा र अस्थायी कोभिड अस्पताल मार्फत औषधी पठाई सेवा दिइएको थियो ।

औषधालयले उत्पादन गरेको ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’, अश्वगन्धा, गुडुची अमालाकी चुर्ण लगायतका संक्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गरेको थियो । धवलागिरी आयुर्वेद औषधालयले उत्पादन गर्दै आएको ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’को प्रयोग निकै बढी गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *