उत्पादनमा केन्द्रित हुँदै गण्डकीका सहकारी

खेमराज गौतम, पोखरा

देशभर सहकारी ऋण, बचत र मुनाफामा मात्र केन्द्रित भइरहेको गुनासो भइरहेका बेला गण्डकी प्रदेशमा स्थापित सहकारीले नमुना उत्पादनशील कार्यमा अग्रसरता देखाएका छन् । सहकारीले उत्पादनमा लगानी बढाए सँगै यसले प्रदेशको उत्पादकत्व र रोजगारी प्रवद्र्धनमा समेत टेवा पु¥याइरहेको छ ।

गण्डकी प्रदेशमा झण्डै दूई हजार ७ सय सहकारी छन् । जसमध्ये निकै कम सहकारीले मात्रै बचत तथा ऋणको कारोबार नगरेर उत्पादनसँग जोडिएर जनतालाई रोजगारी र आर्थिक विकासमा टेवा पु¥याएको भए पनि पछिल्लो समय बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले समेत कुल कारोबारको केही अंश उत्पादनमा लगाउदै आएका छन् । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशका सहकारीहरु प्रदेश ऐनको सकारात्मक पक्षलाई पछ्याउदै अगाडि बढेको सहकारीकर्मी बताउछन् ।

नेपालमा बिभिन्न विषयगत सहकारीहरु सञ्चालित छन् । नेपालमा सहकारीहरुको तथ्याङ्क हेर्ने हो भने बचत तथा ऋण सहकारी, कृषि, बहुउद्धेश्यीय, उपभोक्ता, दूग्ध, सञ्चा, कफी, मत्स्य, स्वास्थ्य, मौरी, जडिबुटी र महिला सहकारीहरु सञ्चालनमा छन् । विधागत रुपमा स्थापना भएका सहकारीहरु समेत उद्धेश्य अनुरुप सञ्चालनमा नआएको, बचत तथा ऋणमा मात्र केन्द्रित भएको गुनासो अधिक छ ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ अनुसार सहकारीले आफ्नो लगानीको ३० प्रतिशत रकम उत्पादनको क्षेत्रमा लगानी गर्ने नेपालमै नयाँ र प्रभावकारी ऐन बनाएका कारण समेत गण्डकी प्रदेशका ११ जिल्लाका सहकारीले आफूलाई उत्पादनमा केन्द्रित गर्न थालेका छन् । गण्डकी प्रदेशका झण्डै दुई हजार ७ सय सहकारी मध्ये २० प्रतिशत सहकारीहरु अहिलेनै उत्पादनमा जोडिएको आँकलन छ । तर, जिल्लामा संघीयता पछि डिभिजन सहकारीहरु खारेजमा परे पछि एकीन तथ्याङ्क संकलनमा कठिनाई भइरहेको छ ।

अहिले पालिका र सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीहरुलाई हेर्दै आए पनि पालिकाहरु सहकारी प्रति सकारात्मक नदेखिएको सहकारीकर्मीको गुनासो छ । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालय अन्तर्गतका ९ सय ३७ सहकारी मध्ये झण्डै एक सय सहकारीहरु कुनै न कुनै हिसावले उत्पादनमा जोडिएर रोजगारी सिर्जना र आयआर्जन बढाउदै लगेको पाइएको गण्डकी प्रदेश सहकारी कार्यालयका रजिष्ट्रार उदय बहादुर पराजुलीले बताउनुभयो ।

“पछिल्लो समय गण्डकी प्रदेशका सहकारीहरु निकै विकसित भएको पाइन्छ, कृषि तथा पशु सहकारीहरुले त उत्पादनमा लगानी गरेकै थिए । अहिले बचत तथा ऋणको कारोबार गर्नेले समेत कृषि, पशुपालन, फलफूल तथा दूग्धजन्य उत्पादनमा लगानी गर्दै आएको पाइयो” रजिष्ट्रार पराजुलीले भन्नुभयो “सहकारीहरुले गरेको लगानीको ३० प्रतिशत अनिवार्य उत्पादनको क्षेत्रमा लागनी गर्नेपर्ने प्रदेश सहकारी ऐनले भनेका कारण समेत सहकारीहरु धमाधम उत्पादनमा लागेको पाइयो ।”

दूधको बजारीकरण गर्दै आएको पोखराको सुक्लागण्डकी दूग्ध सहकारी, भैसी र बाख्रा पाल्दै आएको काहुँकोट सहकारी, आलु र पशुपालन गर्दै आएको पर्वतको मातृभूमी कृषि सहकारी, अदुवा खेती गर्दै आएको पकवादी कृषि सहकारी स्याङ्जा, तरकारी र खाद्य बालीमा लगानी गर्दै आएको लमजुङको लालीगुराँस सहकारी, पर्यटनको क्षेत्रमा काम गरेको म्याग्दीको पाउद्वार पर्यटन सहकारी, बृहत तरकारी खेती गर्दै आएको नवलपरासीको आत्मनिर्भर कृषि सहकारी, दैनिक ७ सय बढी दूधको बजारिकरण गर्दै आएको माचापुच्छ्रे« दुग्ध सहकारी कास्की, छुर्पी नियात गर्दै आएको बागलुङ दूग्ध उत्पादक सहकारी संघ, खसी बोकाको कारोबार गर्दै आएको बागलुङको सप्तरङ्गी सहकारी उत्पादनमा जोडिएका गण्डकी प्रदेशका नमूना सहकारीका उदाहरण हुन् ।

बागलुङ जिल्लाको शंखधर बहमुखी सहकारी स्थापना भएको २० वर्ष भयो । सहकारीले एक वर्षदेखि मात्रै उत्पादनको क्षेत्रमा लगानी गर्न थालेको छ । बचत तथा ऋणको कारोबार संगै सहकारीले एक वर्ष देखि भाडाको २० रोपनी जग्गामा फलफूल तथा तरकारी उत्पादन शुरु गरेको छ ।

सहकारीले कारोबारको केही अंश उत्पादनमा लगानी गर्ने उद्धेश्यले २० रोपनी जग्गा भाडामा लिएर सुन्तला, केरा, कागती र विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थालेको सहकारीका कार्यवाहक अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले बताउनुभयो । “वार्षिक ८५ हजार भाडा तिरेर खेर गएको जग्गामा व्यावसायिक फलफूल तथा तरकारी उत्पादन थालेका हौं, सहकारीहरुले उत्पादन संग जोडिनुको विकल्प छैन, ढिलै भए पनि हामी उत्पादनमा जोडिएका छौं, अन्य सहकारीहरु समेत यसैमा लाग्नु पर्दछ” श्रेष्ठले भन्नुभयो “अब सहकारीहरु ढिलो चाँडो उत्पादनमा जोडिनुको विकल्प देखिएन ।” शंखधर त भर्खरै उत्पादनमा जोडिएको सहकारी हो, बागलुङमा गाइ पालन, भैसीपालन, कृषिमा लागानी तथा शित भण्डार सञ्चालनमा ल्याएर मनग्य आम्दानी गर्ने सहकारीहरु प्रशस्त छन् ।

जिल्लामा सञ्चालित शित भण्डार गृहहरु समेत सहकारीमार्फत सञ्चालित हुँदा सुन्तला, आलु किसानहरुले दोब्बर आम्दानी गर्दै आएको पाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपरामा पाउद्वार पर्यटन सहकारी संस्थाले एक वर्ष देखि होटल सञ्चालन गर्दै आएको छ । गाउँपालिकामा दर्ता भएको पहिलो पर्यटन सहकारीले खोपरा लेकमा होटलसंगै दूईकरोड लागतमा ५० किलोवाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको पाउद्वार पर्यटन सहकारी संस्थाका अध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।

स्याङ्जाको आधिखोला कृषि उद्यम सहकारी संस्थाले गाउँमा खेर गएको अर्गासिनक उत्पादनलाई ब्राण्ड बनाएर बजारीकरणमा लागेको छ । एक वर्ष अघिदेखि शुरु भएको सहकारीले भाडामा सवारी साधन लिएर गाउँमा उत्पादन भएको दूध, अर्गानिक तरकारी, सिन्कि, मुला, पिडालु जस्ता अर्गानिक कृषि उपजलाई ब्राण्ड बनाएर बजारमा पु¥याउने गरेको छ । गाउँमा खेरा जाने कृषि उपजलाई बजारमा निकै रुचाइन थालिएको सहकारीले जनाएको छ ।

तनहुँ जिल्लाको मनकामना कृषि सहकारीले ७ रोपनी जग्गा भाडामा लिएर पुष्प व्यवसाय गर्दै आएको सहकारीका अध्यक्ष शिवराज रेग्मीले बताउनुभयो । स्याङ्जामा जिल्ला सहकारी संघ र सहकारी विभाग र स्थानीय तीन पालिकाको लगानीमा ठूलो मात्रामा शित भण्डारण गृह सञ्चालनमा ल्याइएको छ । सुन्तलाको राम्रो उत्पादन हुने स्याङ्जामा सुन्तला भण्डारण गरी बेमौसममा विक्रि वितरण गर्नका लागि सित भण्डारण गृह निर्माण गरिएको छ । पुतलीबजार नगरपालिका–११ जैसिडाँडामा १३ रोपनी जग्गा खरिद गरेर हाल एक हजार २५० मेट्रिक टन क्षमताको सुन्तला भण्डारया गृह निर्माण भएको छ । जस्कारण यहाँका सुन्तला किसानलाई आफूले उत्पादन गरेको सुन्तला महङ्गोमा बिक्री गरेर दोब्बर आम्दानी गर्न सक्ने हपेक्षा रहेको जिल्ला सहकारी संघ स्याङ्जाको अध्यक्ष लक्ष्मीपती शर्माले बताउनुभयो ।

गण्डकी प्रदेशका सहकारीहरुले तरकारी, फलफूल, दूग्धको क्षेत्रमा लगानी मात्रै होइन, यसबाट मनग्य नाफा समेत कमाउन थालेको सहकारीकर्मीहरुले बताउदै आएका छन् । गण्डकी प्रदेशका दुई हजार ७ सय सहकारी मध्ये ९ सय सहकारीहरु प्रदेश मातहतमा छन् भने अन्य सहकारीहरु स्थानीय तह मार्फत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *