शिवशरण ज्ञवाली
रोमको पतनदेखि पुर्नजागरणसम्मको समयलाई पाश्चात्य जगत्मा मध्यकाल मानिन्छ । मध्यकालको समय इशाको पाचौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीसम्म हो । यतिबेला युरोपमा क्याथोलिक चर्चको बोलबोला थियो भने दक्षिण अफ्रिका र मध्यपूर्वमा मुस्लिम धर्मले वर्चस्व कायम गरेको थियो । साहित्य, संस्कृति, राजनीतिमा पनि धार्मिक निरंकुशताको कब्जा रह्यो । त्यतिमात्र नभएर यो समयको युरोप ‘प्लेग’ भन्ने भयानक महामारीको चपेटामा दपेटियो । भनिन्छ, त्यतिबेला युरोपका तिस प्रतिशत मानिसहरु प्लेगको शिकार भएका थिए । यो महामारीले केवल मानवलाई मात्रै सताएको थिएन गाई, भैसी, सुँगुर, कुखुरा, भेडा जस्ता जीवजन्तुलाई समेत मृत्युको मुखमा धकेलेको थियो । यस्तैयस्तै कारणले गर्दा यो समयलाई अन्धकारको समयका रुपमा लिइयो । दाँते अलिगरिको समय यही मध्यकाल हो । उनले ‘कमेडिया’ शीर्षकको आध्यात्मिक प्रकृतिको प्रसिद्ध काव्यकृति लेखेर अन्धकार युगमा उज्यालो छर्ने काम गरे । तिनै दाँतेकै बारेमा छोटोमोटो चर्चा यहाँ गर्ने कोसिस गरिएको छ ।
जस्तोसुकै कठोर समयमा पनि कला साहित्यले अभिव्यक्त हुने क्षमता राख्दछ । त्यही भएर न यो जीवन्त हुन्छ । साहित्यिक व्यञ्जनाले शक्तिशालीका आँखामा सजिलै फूलो पारिदिन्छ । ‘कमेडिया’ मार्फत दाँतेले त्यस्तै फूलो पारिदिए त्यतिबेलाका धर्मभीरुका आँखामा । यो कृतिको सुरुमा कमेडिया नाम दिइएको भए पनि पछि यसलाई ‘ला दिभिना कमेडिया’ अर्थात ‘दैवी सुखान्त नाटक’ भन्ने नाम दिइयो (शर्मा, २०६२ ः २०) । अभिधाको तहमा यो धार्मिक कृति जस्तो देखिए व्यञ्जनाका तहमा भने यो प्रेमको आत्मीक वर्णन गर्ने कृति बन्न पुगेको छ । एउटा प्रेमीले प्रेमिकालाई जुनीजुनी पर्खन सक्छ भन्ने देखाएको छ । मृत्युपछि पनि प्रेमको पुर्नमिलन हुनसक्छ भन्ने देखाएको छ । प्रेम इत्तरको कुरा गर्दा गल्ती गर्नेहरु दण्डित हुनुपर्ने सन्देश दिएर धर्मभीरु समाजलाई सचेत गराएको छ ।
दाँतेले यो कृतिमा आफ्नी प्रेमिका, रोमका महान् कवि भर्जिल र आफूलाई पनि पात्रका रुपमा प्रस्तुत गरेका छन् । रोचक कुरा यो छ कि महाभारतका व्यासजस्तै यो कृतिमा पनि स्वयं लेखक प्रमुख पात्रका रुपमा उभिएका छन् । आफ्नो प्रेमको चरमउत्कर्ष देखाएका छन् । त्यसको आत्मिकता देखाएका छन् । मिलन र विछोडको नाफाघाटाभन्दा प्रेम निकै उच्च हुन्छ भन्ने पुष्टि गरेका छन् । उनी आफ्नी प्रेमिकालाई पछ्याउँदै स्वर्गसम्म पुगेका छन् । अन्त्यमा अनेक हन्डरठक्करपछि स्वर्गीय सुखान्तकै परिकल्पना गरेका छन् । यो कृतिलाई उनको काव्यकलाको सिद्धि मानिन्छ । यही कृति पाश्चात्य जगत्को साहित्यको आधुनिकताको द्वार पनि बन्न पुग्यो । अङ्ग्रेजी साहित्यका जेफ्री चसर, जोन मिल्टन, अल्फ्रेड टानिसनजस्ता साहित्यकारहरु दाँतेबाट प्रभावित छन् (बिकीपेडिया, पेज ३) । तसर्थ दाँतेले उत्तरवर्ती साहित्यलाई पनि प्रशस्त प्रेरित गरेका छन् ।
दाँते इटालीको फ्लोरेन्स गणराज्यमा बाबु बेलिनोसियोन र आमा बेल्लाबाट जन्मिएका थिए । उनी सन् १२६५ मा जन्मिएको अनुमान लगाइन्छ । उनकी आमा बाल्यवस्थामा नै मरेकीले उनी मातृस्नेहबाट बन्चित हुन पुगे । उनकी आमाको मृत्युपछि बाबुले अर्को बिहे गरे । अर्की आमातिर उनका एक भाइ र एक बहिनी थिए । उनको शिक्षादीक्षा घरमै भयो वा चर्च वा प्राथमिक स्कुलमा भन्ने त्यति जानकारी पाइदैन । तर उनले तुस्कन भाषाका कृति अवश्य पनि पढे । उनको परिवार राजनीतिक रुपमा सचेत र शिक्षाका हिसाबले बौद्धिक थियो । उनका बाबु वकिल पनि थिए र जोसेफ पार्टीमा पनि आबद्ध थिए । यही राजनीतिक पृष्ठभूमिकै कारण पछि गएर दाँते पनि एक नगरराज्यको प्रमुख बने । तर उनलाई राजनीतिक प्रतिशोधकै कारण निर्वासित हुनुप¥यो । उनले देश फर्कने अनेक प्रयत्न गरे पनि त्यो सफल हुन सकेन । उनको देहान्त सन् १३२१ मै निर्वासनमै भयो ।
दाँतेको समयमा फ्लोरेन्स गणतन्त्र प्रेम तथा रोमान्समा डुबेको देखिन्छ । मानिसहरुले प्रेम गीतहरु लेख्ने र सुन्ने गर्दथे । दाँते पनि नौ वर्षको उमेरमा आठ वर्षकी बेत्रिसीसँग एकतर्फी प्रेममा परेका थिए भन्ने कथन हामीलाई अत्युक्ति नै लाग्दछ । बोलचालसम्म नभएकी बेत्रिसीलाई उनी दिलबाटै प्रेम गर्थे । त्यही एकतर्फी प्रेम दाँतेको लेखनको उर्जा स्रोत बन्यो । बाह्र वर्षको उमेरमा उनको विवाह गेम्मासँग छिनियो । पछि त्यो विवाह सम्पन्न पनि भयो । गेम्माबाट उनलाई तिन सन्तान पनि जन्मिए । तर श्रीमतीप्रति भने उनको उपेक्षा नै रह्यो भने प्रेमिकाप्रति लगाव नै लगाव रह्यो । त्यहीकारण गेम्मा उनकी साहित्यिक पात्र बन्न सकिनन् । बेत्रिसीले भने दाँतेको साहित्यिक रचनामा एकलौटी कब्जा जमाइन् ।
गेम्मासँग विवाहको कुरा छिनिए पछि पनि बेत्रिसीसँगको प्रेममा भने दाँतेको कुनै कमी आएन । उनी पछि लागिरहे । प्रेमको तिर्सनाले भौतारिइ रहे । दुई दिलको उत्कर्ष खोजिरहे । यसै क्रममा १८ वर्षको उमेरमा दाँतेको भेट बेत्रिसीसँग फ्लोरेन्सको कुनै गल्लीमा भयो । त्यहाँ उनले बेत्रिसीसँग बोलचाल गर्ने मौका पाए । अवश्य पनि यो आफैमा स्वर्गीय हुनुपर्छ । प्रेरणाको चम्किलो उज्यालो हुनुपर्छ । आफ्नो जीवनकालमा दाँतेले जम्मा दुई पटक मात्रै वेत्रिसीलाई भेटेका थिए रे ! तापनि प्रेमिका भेटे पछि नै उनले प्रशस्त चौध हरफे कविता लेख्न थाले । उनले आफ्ना यस्ता काव्यकृतिमा बेत्रिसीको दिव्यै स्वरुपकै चित्रण गरेको मानिन्छ । कमेडियामा पनि दाँते स्वर्ग पुगेर आफ्नी प्रेमिकालाई भेट्छन् । तसर्थ उनको लेखनको उर्जास्रोत भनेकै उनकी प्रेमिका बनेकी छन् । अप्राप्त प्रेमिका नै काव्य प्राप्ति बन्न पुगेकी छन् । यसैले दाँतेको वियोगान्त प्रेमले ध्वंसको होइन निर्माणको बाटो लियो । फलतः दाँते पनि अमर भए र आफ्नी प्रेमिकालाई अमर बनाए ।
दाँते बेत्रिसीलाई जति चाहन्थे बेत्रिसी उनलाई त्यति चाहन्नथिन् रे ! बेत्रिसीले जति उपेक्षा गरे पनि दाँतेले आत्मिक हिसाबले उनलाई निकै प्रेम गर्दथे । सन् १२८५ मा बेत्रिसीले बार्दीसँग बिवाह गरिन् । विवाहपछि दाँते प्रेम आघातमा त परे तर उनमा प्रेमको विश्वास भने कायमै रह्यो । उनले बेत्रिसी र बार्दीको प्रेम हार्दिकताबाट नभएर पारिवारिक बन्धनबाट भएको मान्दथे (शर्मा, २०६२ ः १७) । त्यसैले आत्मीक प्रेम भने आफ्नो भएको जिरह उनको थियो । सन् १२९० मा बेत्रिसीको निधन भयो । निधनपछि दाँतेले बेत्रिसीलाई स्वर्गकी परिका रुपमा कल्पना गर्न थाले । यही कल्पनाले उनलाई काव्यकृतिहरु लेख्न मद्दत ग¥यो । त्यसैको परिणाम नै उनले ‘नौलो जीवन’ (१२९२) शीर्षकको कृति लेखे । ‘कमेडिया’ (१३२०) रचना गरे ।
दाँतेले प्रेमिकालाई मात्र होइन आफ्नो भाषालाई पनि उत्तिकै प्रेम गर्दथे । त्यतिबेला इटालीमा कला साहित्यको भाषा ल्याटिन थियो । शिक्षित व्यक्तिहरुले यही भाषामा कलम चलाउँथे । तर दाँतेले सामान्य इटालेली जनताको बोलचालको भाषा प्रयोग गरेर काव्यकृतिहरु लेखे । उनले सन् १३०५ ‘प्रसिद्ध मातृभाषाको विषयमा’ भन्ने गद्यात्मक कृति लेखे । यो कृतिले इटालीको बोलचालको भाषाको गुणात्मक पक्षहरुको उद्बोधन गरेको मानिन्छ । मातृभाषाको शक्तिको पूजा गरेको मानिन्छ । स्थानीय भाषाबाट प्रसिद्धि पाउन सकिने कथा भनेको छ । कमेडिया र नौलो जीवनजस्ता कृतिहरु पनि बोलचालकै तुस्कन भाषामा रचना गरे पछि यो भाषाको स्तरीकरण वा मानकीकरण भयो । फलतः अन्य रचनाकारहरुले पनि यही भाषामा लेख्न थाले । पछि पेट्राक र बोकासियोले पनि यही भाषामा लेखेर तुस्कनलाई समृद्ध तुल्याइदिए । यसकारण दाँते जनप्रेमी हुन् । भाषाप्रेमी पनि हुन् भन्ने पुष्टि हुन्छ ।
मध्यकालका महान् प्रतिभा दाँतेका कवि, राजनीतिकर्मी, दार्शनिक लगायतका अनेक परिचय छन् । यी कुराका अतिरिक्त उनी आत्मिक प्रेमका पूजारी पनि हुन् । उनले प्रेमलाई सिर्जनात्मक उर्जास्रोतका रुपमा लिएको देखिन्छ । यिनै दाँतेलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना निबन्धका पात्रका रुपमा प्रयोग गरेका छन् ।