आदर्श अनलाइन, म्याग्दी
देशका विभिन्न शहरहरूबाट म्याग्दीको सदरमुकाम बेनी आउने र बेनीबाट जिल्लाका विभिन्न ग्रामीण भेगहरूमा जाने सवारीसाधनहरू खाद्यान्न, फलफूल, तरकारी, निर्माण सामग्री लगायतका साधनहरूले खचाखच भएर गाउँ जाने भए पनि गाउँबाट फर्किंदा भने रित्तै फर्कने गरेका छन् ।
जिल्लाभित्र संचालित दुई दर्जनभन्दा बढी ग्रामीण सडकहरूमा आवतजावत गर्ने सवारी साधनहरूमा मानिस कम र उपभोग्य तथा निर्माण सामग्रीका साधनहरू बढी ढुवानी हुने गर्दछन् । गाउँ जाँदा सामानले खचाखच हुने ती सवारी साधनहरू गाउँबाट फर्किंदा भने रित्तै फर्किने गरेका यातायात व्यवसायी तथा व्यापारीहरूले बताएका छन् ।
जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लोपटक व्यावसायिक कृषि र पशुपालनमा उल्लेख्य प्रगति भएको भनिए पनि देखिने गरी परिणामहरू आउन नसकेको पाइएको छ । केही वर्षयता विदेशबाट गाउँ फर्किएका युवाहरूले व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती, बाख्रा, कुखुरा र पशुपालन गरेका भए पनि नियमित रूपमा निर्यात गर्नसक्ने अवस्था बनिनसकेकाले गाउँ जाँदा खचाखच भरिएर जाने यातायातका साधनहरू फर्किंदा भने रित्तै हुने गरेका म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष जीवनकुमार विश्वकर्माले बताउनुभयो ।
म्याग्दीका ग्रामीण भेगहरूमा सडकको पहुँच पुगे पनि थप सुविधाका लागि गाउँ छोडेर शहर पस्ने क्रम बढ्दै गएको स्थानीयले बताएका छन् । ‘गाउँमा रहेका पुराना घरहरू रित्तै छन्, पछि बनेका घरहरू स्थानीय स्रोत साधनको प्रयोग नगरी रड र सिमेन्टको प्रयोगबाट पक्की घर निर्माण हुँदै छन्’ धौलागिरि गाउँपालिका–६ का इन्द्र सुवेदीले भन्नुभयो । मानिस नबस्ने तर घर भने पक्की बनाउने रहरले गर्दा पनि गाउँमा निर्माण सामग्री लिएर सवारी साधनहरू बढी भित्रिने गरेका र ती साधनहरू फर्किंदा रित्तै फर्किने गरेका उहाँको भनाइ छ ।
गाउँघरमा घर निर्माण हुने क्रम बढे पनि युवा जनशक्ति भने घट्दै गएको छ । वैदेशिक रोजगार, बसाइँसराइ, जागिर र अध्ययनका लागि ठूलो संख्यामा युवाहरू गाउँ वाहिर नै रहँदा उत्पादनजन्य कार्यहरू रोकिएका स्थानीय बासिन्दाहरूको भनाइ छ ।
म्याग्दीको उत्तरी र पश्चिमी क्षेत्र कृषि, पशुपालन, वनपैदावर र जडीबुटीको भण्डार नै मानिन्छ । उत्तरी र पश्चिमी म्याग्दीका १७ वटा गाउँहरू उत्पादकत्वको हिसाबले उत्कृष्ट गाउँ मानिए पनि गाउँलेहरू अझै पनि बजारबाट ट्याक्टर र जिपमार्फत गाउँमा आउने खाद्यान्न खाएर गुजारा चलाउँदै आएका मालिका गाउँपालिका–२ का श्यामबहादुर विकले बताउनुभयो ।
पश्चिम म्याग्दीका रुम, देवीस्थान, ओखरबोट, ताकम, मुना, मुदी, बिम, गुर्जा र उत्तरी म्याग्दीका नारच्याङ, शिख, घार, भूरुङ तातोपानी, दोबा, हिस्तान लगायतका गाउँहरू कृषि उपज र वन पैदावरका लागि अत्यन्त सम्भावनायुक्त गाउँहरू हुँदाहुँदै पनि यहाँको उत्पादनले नपुगेर गाउँलेहरूले आयातित खाद्यान्न खानुपरेको नारच्याङका टेकवहादुर पुनले वताउनुभयो ।
सडक पुगेपछि गाउँलेहरूको आर्थिक अवस्थामा कुनै पनि परिवर्तन नदेखिएको स्थानीयले बताएका छन् । विदेशबाट आफन्तले पठाइदिएको रेमिट्यान्सको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । शहरबाट गाउँमा ट्रक जाँदा सामान भरिएर जाने, र आउँदा रित्तै आउने प्रवृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन । यसले हाम्रो अर्थ प्रणालीको नाजुक अवस्थालाई प्रष्ट पार्दछ । अझ राजनीतिक दबाबबाट सडक निर्माण गर्ने प्रवृत्तिले सडकको अवस्था पनि कमजोर हुनुले यातायात व्यवसायीहरूले मनलाग्दी भाडा असुल्ने गरेका स्थानीयको गुनासो रहेको छ ।
‘शहरबाट गाउँमा लैजाने चिज धेरै हुन्छ, ट्रक, ट्याक्टरमा मात्रै होइन बसमा नै पनि सामानहरू हालेर गाउँ लगिन्छ, तर गाउँबाट ल्याउने चिज केही नहुँदा रित्तै फर्किनुपर्छ’ यातायात व्यवसायी कमल जिसीले भन्नुभयो ‘यसरी त गाउँ कहिले पो उँभो लाग्ला र ?’