राम सुवेदी
नागरिक चेतनाको मूल दृष्टिकोण हाम्रो सामाजिक, राजनैतिक दृष्टिहुँदै व्यवहारिक चेतनामा परिवर्तन हुनु हो । केही विद्धानहरु यहि परिवेश गोलमोटोल पारेर भिन्न दृष्टिकोणको परिवन्द बाँड्छन् । हुन त, मानवीय विचार र चिन्तनका परिभाषाहरु आफू अनुकूलको रहेछ । कतिपय तर्क, वितर्क र व्यवहारहरु सामाजिक मूल्य, मान्यताका दृष्टिले सही हुन्छन् । उपयुक्त लाग्छन् । कतिपय विचार सुन्दा भावनात्मक हिसावले उन्नत तर, शैद्धान्तिक वा वैचारिक हिसावले थोत्रा, पुराना र गन्तव्यहीन हुन्छन् ।
दृष्टिकोणले फेर्ने चिन्तन वा चिन्ता ? आजको राजनीति, राजनैतिक चरित्रबाट बनेको वा बन्ने राज्य सत्ताको वर्तमान परिवेश बोलिरहेको छ । व्यवहारिक पक्ष वा त्यसका पात्रहरु कहिं न कहिं राजनीतिका नाममा ठेक्कापट्टा उठाइए जस्ते उद्धेलित भइरहेका देखिन्छन् । समाजका बद्लिने को ? म तिर फर्केर म वा उता तिर फर्केर ऊ । समाज बदल्ने भनिएका त्यसका अगुवाहरुले उतातिर फर्के औंला उठाइरहन्छन् । आफूतिर हेर्ने हिम्मत गरेका हुँदैनन् । विहानको मुख धोएर वा नुहाएर भएको सफाईलाई चारित्रिक सफाई ठान्छन् । यसलाई भनिएको हो, अन्धभत्त मन्थन र मानसिकता को जड । जव जग गतिलो छैन भने त्यसका अन्य संरचनाहरु व्यथितिपूर्ण नै हुन्छन् । आज समाजमा रहने, भएका र भनिएका समाजसेवी चित्रहरुको जीवनशैली, व्यवहार र चिन्तन जस्तो छ, उस्तै समाजको स्वरुप हुने हो ।
केही जानेमानेहरु अहिलेपनि अरुलाई गिज्याएर वा गालि गलौज गरेर तल्लोस्तरको संस्कार फलाकिरहेका हुन्छन् । यसलाई महान साँस्कृतक रुपान्तरणका आह्वान भन्छन् । आफू अनुकुल नभएको समाजलाई चेतनाले सुसज्जित गर्ने, सू—सुचित गर्ने वा लड्ने लडाउने र भड्काउने ? चिन्तन र विचारको बहश यहाँबाट सुरु हुन्छ । आफ्ने चरित्रको गणना शून्य भएका मान्छेहरु आज राजनीतिमा अगुवा हुनुको परिणाम शान्त समाजका दंगा फसाद उछालेर कद् उठाउने मूर्खहरुको पेशा हो र राजनीति ? राजनैतिक आवरणमा बनेको विचारको चित्र बेचेर, चरित्र बद्नाम भएकाहरुले समाज भाँड्यौ भन्दिए, कन्सिरा नतात्ने नेता कमै भेटिएलान । यहाँ त यस्तै राजनैतिक विजनेश चलेको छ । निष्ठामा खोट भएकाहरु स्वार्थका लागि कहिले कुन ठाउँ, कहिले कुन ठाउँ हुनुलाई सोझा जनताले परिस्थित अनुकुलको ब्याख्या बुझिदिनु पर्ने छ । कर्ममा बसेर कर्तव्य बेच्नेहरुले समाजको उन्नति बनाएनौं । जनता अन्जान राखेर त्यसको फाइदा र काइदामा रजाईं गर्यौं । पोल्टा बदल्ने खेल धेरै खेल्यौं । आफै बुझेनौं । सुझेनौं । देश बनाउनसपर्छ रत्तिभर सोंचेनौं । अर्को आस्थाको पल्ले घरेलाई स्वाद चखाउन अनेकन घिनलाग्दा कथाहरु रच्यौं । आज तिनै कर्तुतधारीहरु एक अर्कामा सत्यसराप लगाउने होडमा राजनीति रुवाबासी हेरिनु परेको परिदृश्य छ ।
बाँचे अनेक देख्न पाइन्छ । आफ्ना् राजकाजको कहिंकतैबाट समिक्षा छैन । बाटोमा बसेर अर्काको विश्लेषण गरिरहेका समाजसेवीहरु तर्कना बेचिरहेका देखिन्छन् । विचार र चेतनाको संचार गोप्य राखेर नेताका खातिर नीतिको व्यापार भइरहेको समाजमा नजानिएको नबुझिएको विषय हुँदै होईन । हिजोका कुख्यातहरु आज मित्रबन्धु छन् । हिजोका साथसंगतिहरु आज निर्मम दुष्टको सूचीमा छन् । यो स्वार्थले जाडेको सम्बन्ध होईन ? सामान्य नागरिक दलवदल गर्दा उसलाई होच्याउने नेताहरु, आफूले अरुलाई बदल्ला के भन्छौ ? अदलबदलमा दुईथरी दृष्टिकोण हुँदैन । विचारमा सुद्धिकरण नभएको हो भने पहिला तातो चिया फ्रिजमा चिस्याएर चुस्की लिनेहरु र कोकाकोला तताएर मज्जा लिनेहरु सुध्रेको हेर्ने मन छन् । त्यहाँबाट बदलिन सुरु गरौं ।
हामीले मर्यादित समाज, मर्यादित राजनीति, मर्यादित, नेता र जनता समेत मर्यादित खोजेका हौं । हाम्रा व्यवहार र कतृव्यहरु स्वच्छ र स्वतन्त्र होस नै भनेका हौं । आम नागरिक समेत मर्यादित बनोस् जसले आफ्नो समाज आफै बदल्न सकोस् । कतिपय जिम्मेवारी हाम्रो जीवनको एक ऐतिहासिक क्षणमा एक पटक प्राप्त हुन्छ । जसरी जिन्दगी संस्सारका एक पटक देख्ने गरि छ । त्यसरी नै त्यो जीवनको पाटो जस्तै जिम्मेवारीको पाटोलाई सरकात्मक र रचनात्मक कसरी बनाउने भन्ने चिन्तन विवेकपूर्ण ढंगले प्रयोगमा ल्याईनु पर्दछ । खोज्ने परिवर्तन तर रोजेको बाटो अपरिवर्तनकारी छ भने प्राप्ति भेटिदैन । आफैमा, आफैले, आफ्नै जीवनकालमा बद्लाव ल्याउन नसकेका हामीले बारबार समाजलाई बद्लावको कथा कतिञ्जेल रटाईरहने ? समय रहुञ्जेल गलफत्ति गरेर दिन कटाउने, समय घर्केपछि नआएको परिणाममा चिन्ता गरेर अनिदो बसिरहेर समय औचित्य पुष्टि हुँदैन ।
राजनीति र त्यसका नेता कार्यकर्ताले समाज सुहाउने कर्म गर्नुपर्दछ । उनीहरुका नीजि आकाँक्षा जीवनका स्वार्थ जनताको अभिमतसँग सौदावाजी गरिनु हुँदैन । आफू जे गर्दापनि कर्म सुहाउने, त्यही अरुले गर्दा दुनियाँ बरवाद भएको बेथितिपूर्ण चिन्तन र विचारले माटो सुहाउँदो र लोक रिझाउँदो गरि नेताहरुको व्यवहार नसुहाएको हो । निन्दाको सीमा हुन्छ । कुरुप आफ्नै तस्वीरमा फूलमाला लगाउने भुत्ते चिन्तन कहाँ पो स्वीकार्य होला र ? सोझा जनताले नबुझे हुन्थ्यो, नेताका स्वार्थमा कहिले दाइने मायाँ, कहिले देब्रे मायाँमा दुईधारे अनुहार साट्ने कार्यनीतिले उनको हितवोध कति गर्यो गरेन । यो बेथितिका पात्रहरु आ आफ्नै रुझानमा बहकिएका देखिन्छन् । अर्थ र अनर्थका वहश चोक, गल्ली र चियापसलहरुमा सेलाइएका हुनछन् । कहिलेकाही स्पिकरहरुमा चर्को स्वरुमा विसाइएका हुन्छन् । जनताको समस्या चोकमा बोले, कोठेरीमा ओकले वा दुचार थान आफ्नाहरुलाई सुनाउने ठाउँपाए महान कार्य हुन्छ भन्ने छ । व्यवहारतः मेरो कुरा, मेरै लागि, मेरा नेताले बोले, भन्ने जवसम्म मलाई पत्यार लाउँदैन तवसम्म म उनी नेताहरुको जनता हुँदिन । राजनैतिक संस्कार त यस्तै त छ नि ।
जनस्तरमा कस्को के आस्था, विचार र नीति भन्नेले ठोस आकार लिइसकेको समाज छैन । जनता साझा र स्वतन्त्र नभएसम्म हाम्रो खास बद्लाव सम्भव पनि छैन । नागरिकको आस्थाले समाजको कर्मलाई परिवन्दमा पारेको यहि राजनीति हो । नेताका लागि यो सवाल गलत हुनसक्ला तर समाजको हितमा निकट्ता छ । देश बदल्ने हो, परिवजेश बदल्ने हो । चुनावमा सोझा मान्छेको निधार र नेताको निधो बदलेर देश बदलिनेवाला छैन ।