सम्पादकीय
अहिले मुलुकमा स्थानीय तह निर्वाचन सन्निकट छ । सरकारले आगामी वैशाख ३१ गते निर्वाचनको घोषणा गरिसकेकाले निर्वाचन आयोग तिब्र तयारीमा छ । आयोगले मतदाता नामावलीको काम टुंग्याएर मतपत छपाई लगायतको तयारीमा लाग्दै गर्दा नेपालका राजनीतिक दलहरु भने चुनावी चटारोमा छन् । ७ सय ५३ वटा स्थानीय तहमा आफ्नो सत्ता कसरी स्थापित गर्ने भन्ने रणनीतिमा यतिबेला राजनीतिक दल र नेताहरु आन्तरिक कसरतमा छन् । उनीहरु स्थानीय स्तरमा जनआधार भएका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउने देखि चुनावी गठबन्धनको प्रयासमा समेत देखिएका छन् । यही कारण वर्तमान सत्ता गठबन्धन अहिलेकै सहकार्यलाई निरन्तरता दिएर स्थानीय निर्वाचनमा जाने कि नजाने अझै दोधार र द्विविधामा छ ।
सत्ताको बागडोर सम्हालिरहेको नेपाली कांग्रेसमा सत्ता गठबन्धनलाई निरन्तरता दिएर चुनावी मैदानमा जाने विषयमा दुई भिन्न मत छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबा र उनी निकट समूह अहिले अप्ठ्यारो परिस्थितिमा साथ दिएकाले वर्तमान गठबन्धनकै निरन्तरताका साथ स्थानीय चुनावमा जाने पक्षमा छ भने पार्टी सभापति धनराज गुरुङ लगायत एकल रुपमा चुनावमा जानुपर्ने पक्षमा छन् । सत्ता सहकार्य दल नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दल भने अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर जानका लागि हरसम्भव कोसिसमै लागिरहेको देखिन्छ । यो माओवादी र समाजवादी पार्टीका लागि अपरिहार्य आवश्यकता पनि हो । किनकी कांग्रेस र एमालेलाई एकल रुपमा चुनाव लड्दा पनि पार्टीगत अस्तित्व जोगिनेमा उनीहरु ढुक्क देखिन्छन् । तर, अरु दलहरुलाई गठबन्धन नगर्दाको अस्तित्व जोखिम र संकट सम्मुखमै छ । त्यसैले पनि गठबन्धनदेखि अहिले पार्टीमा अनेक ललिपप देखाएर ठूला नेता, जनप्रतिनिधिदेखि सर्वसाधारण सम्मलाई आफ्नो पार्टीमा प्रवेश गराउने प्रतिस्पर्धा चलिरहेको छ ।
पार्टी प्रवेश नेपाली राजनीतिको अस्थिर खेल र विकृत परम्परा जस्तो बनिसकेकोमा दुई मत छैन । स्थानीय तह चुनाव नजिकिदै गर्दा यसको अनेक भद्दा रुप देखिसकेको छ । अझ यसमा उदेक लाग्दो विषय त एउटै मान्छे आज एउटा पार्टीमा प्रवेश गर्छ, अलि दिनमा अर्कोमा प्रवेश गर्छ । नेताहरु विज्ञप्तीको दोहोरी खेल्छन् । सम्बन्धित मान्छेमा कुनै लज्जाबोध छैन, न त छ राजनीतिक दल र नेताहरुलाई । पार्टीमा निश्चित आदर्श, राजनीतिक मूल्य मान्यता बुझेर बुझाएर पार्टी प्रवेश गर्ने गराउने होइन, दलहरुलाई चुनाव जसरी पनि जित्ने आशक्ति छ भने सम्बन्धित पार्टी प्रवेशवालालाई यही बेलामा कुनै स्वार्थ या अवसरमा सौदाबाज गर्नुपर्नेछ । अब यस्तो विकृत पार्टी प्रवेशको श्रृंखला वर्षभर स्थानीय तह निर्वाचनदेखि संघीय संसदको निर्वाचन सम्म देखिइरहनेछ । तर, यसमा राजनीतिलाई फोहोरी खेल होइन र बनाउनु हुँदैन भन्ने एक सचेत राजनीतिज्ञ र नागरिकले पार्टी प्रवेशलाई पनि स्वस्थ र मर्यादित बनाउन सक्छन् । जसले जुन पार्टी प्रवेश गर्दैछ, त्यसको आदर्श, नीति, मूल्य मान्यता बुझोस् र बुझाउन सकोस् । कि केही दिनमै फेरि अर्को पार्टीमा प्रवेश गरेर राजनीतिलाई थप बदनाम गराउन नसकोस् ।