पनौतीको प्रेरक प्रयास

सम्पादकीय
काभ्रेको पनौती शहरका अनेकन विशेषता छन् । ऐतिहासिक, पुरातात्विक, भौगोलिक, सामाजिक, साँस्कृतिक, धार्मिक, प्राकृतिक यावत रुपमा पनौती पृथक लाग्छ । पनौती पुरानो इतिहास बोकेको एक मौलिक शहर हो । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ७ लाई विश्वसम्पदामा सूचीकृत गर्र्ने तयारी यतिबेला अन्तिम चरणमा छ । संयुक्त राष्ट्रसंघीय अंग (युनेस्को)द्वारा २५ वर्ष अघि नै यस क्षेत्रलाई विश्वसम्पदामा सूचीकृत गर्न प्रस्ताव गरिएको थियो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय लगत्तै विश्वसम्पदामा सूचीकृत गरिनेछ । यस पश्चात यो शहर विश्वव्यापी रुपमा अझ बृहत्तर परिचय र पहिचानका साथ चिनिनेछ ।

विश्वसम्पदा सूचीमा दर्ज हुने तयारीमा रहेको पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । काभ्रेपलाञ्चोकको पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरूभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ । यही अभियानका क्रममा पालिकाभर बढ्दो शहरीकरण रोकेर पुराना मौलिक सम्पदा, सभ्यताहरुको संरक्षण थालिएको छ । अहिले नगरपालिकाको संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने अभियान छ । यसका लागि नगरपालिकाले स्थानीयवासीलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग (अनुदान) दिन थालेको छ । अनुदानका लागि स्थानीयवासीलाई पुरातत्व विभागले दिएको मापदण्ड अनुसारको पुरानो शैलीका निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजना अन्तर्गत वडा नं ७ का ११ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । पुरातत्व विभागले तोके अनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई ९९ हजारदेखि तीन लाख ७८ हजारसम्म प्रोत्साहन सहयोग दिइनेछ । हालसम्म ७१ परिवारले पुरानो शैलीका घर बनाउने प्रक्रियामा छन् ।

विश्व सम्पदा सूचीमा सूचिकृत हुनु नेपालका सुखद पक्ष हो । नेपालको चार क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत छ । जसमा काठमाडौँ उपत्यका (उपत्यकाका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । तीमध्ये पनौती विश्वसम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ । पनौतीको स्थानीय तह र त्यहाँका स्थानीय नागरिकले मौलिक पहिचान, सम्पदा र सभ्यताहरुको संरक्षणका लागि जुन तदारुकता देखाएका छन्, यो आधुनिकताको होडमा कंक्रिट विकासमा लागिरहेका सबैका लागि प्रेरक कर्म हो । यस्ता ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षण गरेर सबै विश्वसम्पदा सूचीमा दर्ज हुन सम्भव छैन, तर यसको संरक्षणमा काम गरे भोलिको पुस्ताका लागि मौलिकता सहितको गाउँ शहर हस्तान्तरण गर्ने अवसर हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *