आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले मुलुकको समृद्धिका लागि स्पष्ट योजना एमालेसंग मात्रै भएको दावी गर्नु भएको छ । एमालेसंग समृद्ध मुलुक निर्माण गर्ने एजेण्डा भएकाले आगामी निर्वाचनमा एमालेको जीत आवश्यक रहेको उहाँको भनाइ छ ।
नेकपा एमाले निसीखोला गाउँपालिकाले सञ्चालन गर्न लागेको पार्टी प्रवेश तथा घरफर्क अभियानको सोमबार शुभारम्भ गर्दै नेपालीले एमालेलाई बलियो बनाउन सकेमा मात्रै मुलुकको समृद्धि संभव हुने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै नेपालीले निर्वाचन केन्द्रीत अभियानमा सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।
निसीखोलामा विभिन्न पार्टी परित्याग गरी १ सय ७४ जना एमालेमा प्रवेश गरेको एमाले निसीखोलाका अध्यक्ष भूमिराज घर्ति मगरले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेल र दधिराम अर्याल, जिल्ला सचिवालय सदस्य रुद्रप्रसाद पौडेल, लिला बहादुर बुढा मगर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम एमाले निसीखोलाका अध्यक्ष भूमिराज घर्ति मगरको अध्यक्षता, सचिव लोकेश्वर पौडेलको सञ्चालन र लक्ष्मीसेन सुनारको स्वागतमा सम्पन्न भएको थियो ।