विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री

आदर्श अनलाईन, बागलुङ

गत वर्ष स्थापित ‘विद्या–विष्णु जेहेन्दार छात्रवृत्ति अक्षयकोष’ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित समारोहमा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद रु. पाँच हजार एक सय सहित प्रशंसापत्र प्रदान गरे ।

छात्रवृत्ति पाउनेमा विसं २०७५ को (एसइई) मा छात्रातर्फ उत्कृष्ट अङ्क ल्याउने गणेश मावि बागलुङका रोजिना विक, छात्रतर्फ सोही विद्यालयका गणेश ढकाल, विराट सापकोटा र अशोक पौडेल रहेका छन् ।

पर्वतबाट नवजागृत माविका छात्रा अनिता शर्मा, छात्र गणेश अधिकारी, राष्ट्रिय मावि घतान, म्याग्दीका छात्र निशान चोखाल, छात्रा प्रतिक्षा ढुङ्गाना र मुस्ताङको जनआदर्श अमरसिँह मावि, कोवाङका छात्रा प्रविण बरुवाल र छात्रा कल्पना बुढा रहेकी छिन् ।

यस्तै धवलागिरि वीरेन्द्र मावि बागलुङबाट (एसइई) परीक्षामा सहभागी विद्यार्थीमध्ये सबैभन्दा बढी अङ्क ल्याउने छात्र शुसान्त शर्मा र छात्रा कृतिका सापकोटालाई जनही रु. दुई हजार पाँच सयसहित प्रशंसापत्र प्रदान गरियो ।

छात्रवृत्तिबाहेक उक्त विद्यालयका २९ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको कोषका अध्यक्ष वैकुण्ठ सापकोटाले बताए । आठ जनालाई रु. १५ सय र २१ जनालाई रु. एक हजार बराबरको झोलासहितका शैक्षिक सामग्री प्रदान गरिएको हो ।

“जेहेन्दार र न्यून आय भएका परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छौँ” अध्यक्ष सापकोटाले भने । रु. दश लाखको अक्षय कोषबाट आउने वार्षिक ब्जाजको ३० प्रतिशत रकम धवलागिरि माविको शैक्षिक सुधारमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

सोही बापत प्राप्त रु. ४२ हजार पाँच सय रुपैयाँबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । ब्याजको बाँकी रकम रु. एक लाख छात्रवृत्तिमा खर्च भएको कोषले जनाएको छ । जेहेन्दार र विपन्न परिवारका विद्यार्थीको पढाइमा टेवा पुगोस् भनेर कोष खडा गरिएको कोषका प्रमुख संरक्षक प्राध्यापक महेन्द्र उपाध्याय पौडेलले बताए ।

उपाध्यायसहित उहाँका दाइहरु जगदिश र युवराज मिलेर बुबा स्वर्गीय विद्यानाथ शर्मा र आमा विष्णुकुमारीको नाममा रु. दश लाखको छात्रवृत्ति कोष स्थापना गरेका थिए ।

“बुबाको प्रेरणासँगै सामाजिक दायित्व सम्झेर कोष स्थापना गरेका हौँ” महेन्द्रले भने । अक्षयकोषको रकम वृद्धि गर्दै लगिने उनको भनाइ छ । सोही अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुष्मराज उपाध्यायले शिक्षाको विकासमा समुदाय स्तरबाट भएको योगदानको प्रशंसा गरे ।

बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बुबाआमाको नाममा शैक्षिक कोष राखेर उपाध्याय परिवारले अनुकरणीय कार्य गरेको उल्लेख गरे । “शैक्षिक विकास र जागरणका लागि जनस्तरबाट पहल हुनु सुखद् विषय हो, यस्ता कार्यबाट सबैमा उत्प्रेरणा जागोस्”, प्रदेशसभा सदस्य सापकोटाले भने ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *