डम्मर बुढा मगर, बागलुङ
बढ्दो आधुनिकताले गर्दा परपम्परागत कला, संस्कृति हराउँदै गएका छन् । बुढापाकाबाट पुस्तास्तान्तरण नहुँदा पुराना मौलिक संस्कार संस्कृति लोप हुने अवस्थामा पुगेका हुन् । विगतमा प्रचलनमा आएका संस्कार, संस्कृति र केही भौतिक संरचनाहरु अझै पनि यदाकदा देख्न पाइन्छ । समुदायका मानिसहरुले त्यसको उचित मर्मत सम्भार र संरक्षण गर्दा त्यस्ता एतिहासिक वस्तुहरु अहिलेका पुस्ताहरुले देख्न पाएका छन् ।
त्यस्ता एतिहासिक महत्वपूर्ण संरचना मध्ये तमान गाउँमा रहेको पञ्चायत घर पनि पर्छ । नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भएको दशकौँ भईसक्यो तर तमानखोला गाउँपालिका वडा नम्बर ३ मा रहेको पञ्चायत घर अझै पनि उस्तै छ । २०४६ सालमा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त्य भएको ३२ वर्ष भइ सक्यो । ३० वर्ष लामो निरकुंश पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुर्नबहाली भएको ३० वर्ष पुरा हुँदा पनि पञ्चायत भवन संरक्षित छ ।
अहिले पञ्चायत भवन जिर्ण अवस्थामा छ । पञ्चायती व्यवस्था ढले यता केही वर्ष अगाडीसम्म स्थानीयले मर्मत सम्भार गरे पनि पछिल्लो समय कसैको पनि यस तर्फ ध्यान नगएको स्थानीय भेषबहादुर पुन बताउनुहुन्छ । पञ्चायती व्यवस्थाको झलकको रुपमा रहेको भवनलाई संरक्षण गरेर राख्नुपर्नेमा उहाँको जोड छ । ‘यस्ता एतिहासिक संरचनाहरुको संरक्षण गर्नु पर्छ, अब यस्ता संरचनाहरु पछिका पुस्ताहरुले कहाँ देख्न पाउँछन् ?’ उहाँले भन्नुभयो ।
पञ्चायत कालमा प्रधान उप–प्रधानहरुले यही भवनमा कार्यालय स्थापना गरेर काम गर्ने गरेकोको बुढापाकाको भनाई छ । तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट तमानखोला गाउँपालिका वडा नम्बर ५ खुङ्खानी, वडा नम्बर ६ नर्जाखानी, वडा नम्बर ४ लाम्मेला, वडा नम्बर २ बोङ्गादोभान लगायतका स्थानका जनतालाई सेवा प्रदान गरिन्थ्यो ।
यहाँबाट गाउँमा केही बदमासी गर्ने, अपराधीक क्रियाकलाप गर्नेलाई सजाय समेत दिइन्थ्यो । तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढा मगर लगायतले शासन गरेको स्थानीयको भनाई छ । गाउँपालिकाले यसको इतिहास र को–को पञ्चायतले शासन गरे भन्ने बारे गाउँपालिकाले खोजी गरिरहेको छ ।
गाउँपालिका भित्रका पुराना ऐतिहासिक, पौराणिक महत्व राख्ने तत्कालीन समयमा निर्मित पूर्णधारको सम्भव भएसम्म संरक्षण गरिने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । अध्यक्ष बुढा मगरले यस्ता एतिहासिक धरोहरहरु पर्यटकीय आर्कषकका लागि उपुक्त बन्न सक्ने बताउनुभयो ।
‘गाउँपालिकामा ऐतिहासिक महत्व बोकेका संरचनाहरु धेरै छन्, यिनीहरुको पहिचान गरेर संरक्षण गर्ने सोँचमा छौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘त्यो व्यवस्था या समयलाई हेरेर हामीले अहिले नयाँ ढंगले काम गर्नमा यस्ता ऐतिहासिक संरचना र प्रतिकहरुले भूमिका खेल्नेछ, अझ यस्ता ऐतिहासिक संरचनाहश्र पर्यटक आकर्षणका लागि महत्वपूर्ण हुने छन् ।’
उहाँले यस्ता एतिहासिक महत्व बोकका संरचनाको संरक्षण गर्ने र पालिका भित्र रहेका विभिन्न कला संस्कृतिको संरक्षण तथा उजागर गर्नका लागि गाउँपालिकाले बजेट व्यवस्थापन समेत गरेको बताउनुहुन्छ । कला संस्कृति पालिकाको पहिचना भएको अध्यक्ष बुढा मगरको भनाई छ ।