बेनी अस्पतालका सदस्य शर्मा विरुद्ध उजुरी

आदर्श अनलाइन, म्याग्दी
बेनी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि दुव्र्यवहार गरेको भन्दै बेनी अस्पतालले अस्पताल व्यवस्थापन समितिका सदस्य विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा २०७८ फागुन ३० गते उजुरी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले जिल्ला प्रशासनमा निवेदन परेको पुष्टि गरेका छन् । प्रजिअ रानाले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरीमा पठाइएको र अरु प्रकृया जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट हुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बेनी अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यस्थलमै गई असभ्य व्यवहार र धम्की दिनुका साथै गालीगलौच गरेको भनेर उजुरी परेको बताए ।

बेनी अस्पतालले अस्पताल व्यवस्थापन समितिका सदस्य जलजला गाउँपालिका–३ पर्वतका २२ वर्षिय बिज्ञान शर्माले धम्की दिएको कारण स्वास्थ्यकर्मी कर्मचारीहरु असुरक्षित महशुष गरेकोले काम गर्ने वातावरण नभएको जनाएको छ । बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले सुरक्षित साथ कामकाज गर्ने वातावरण नभएकोले सुरक्षाको प्रत्याभुतिका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिएको बताए ।

गण्डकी प्रदेशद्वारा प्रदेश राजपत्रमा सामाजिक विकास मन्त्रालयको सुचनाका रुपमा २०७५ असोज ११ गते प्रकाशित अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०७५ को दफा ३ मा समिति गठनको व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा १ को क देखि ङ सम्म अस्पताल व्यवस्थापन समितिमा सम्बन्धीत जिल्ला तथा सम्बन्धीत स्थानीय तहका व्यक्तिहरुलाई समितिको अध्यक्ष तथा सदस्य तोक्ने व्यवस्था भए पनि पर्वतको जलजला गाउँपालिकाका शर्मालाई आफ्नै अस्पताल व्यवस्थापन समिति गठन आदेश बिपरीत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियुक्ती गरेको थियो ।

उपचारका क्रममा मृत्यु भएकी एक महिलाको घटनालाई बहाना बनाउँदै अस्पताल व्यवस्थापन समितिका सदस्य शर्माले जलजला गाउँपालिकाकी स्थानिय सहितको टोली ल्याएर २०७८ फागुन २७ गते बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीकै अगाडी अस्पतालका डाक्टर जितेन्द्र कँडेल सहितका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गर्ने धम्की दिएको बेनी अस्पतालका स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्यकर्मीहरुलाई कुटपिटको धम्की दिँदा पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायतले विवाद समाधान तर्फ ध्यान नदिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । शर्माले धम्की दिएको भिडियो रेकर्ड समेत अहिले पनि युट्युवमा हेर्न सकिने स्वास्थ्यकर्मीको भनाई छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्त्रालयले नियुक्ती गरेको हुनाले सदस्य शर्मालाई आफूले केही गर्न नसक्ने बताए । अस्पतालमा आएर स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार गरेको हो तर पनि अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०७५ अनुरुप मन्त्रालयले नियुक्ती गरेको हुँदा मन्त्रालयले नै आवश्यक प्रकृया गर्न सक्ने अध्यक्ष सुवेदीको भनाई छ । दुव्र्यवहार गरेपछि सदस्य शर्माले आफूले जे जस्तो गरे पनि ठिक गरेको भन्दै सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *