चिल्ड्रेन लाईफलाई जिल्ला लिगको उपाधि

आदर्श अनलाइन, बागलुङ
जिल्ला फुटबल संघ बागलुङले आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि बाल जिवन खेलकुद क्लब (चिल्ड्रेन लाईफ स्पोर्टस क्लब)ले जितेको छ ।

शुक्रबार बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको फाइनल खेलमा कालिका भगवती युवा क्लबलाई ३–१ गोलअन्तरे पराजित गर्दै चिल्ड्रेन लाईफले उपाधि चुमेको हो । चिल्ड्रेन लाईफले खेलको २५ औं मिनेटमा मोहन थापाको उत्कृष्ट गोलबाट अग्रता लिएको थियो । थापाले कर्नर लाईनबाट प्रहार गरेको बललाई कालिकाका गोलरक्षक रञ्जन खत्रीले बचाउन नसक्दा गोलमा परिणत भएको थियो ।

त्यसअघि खेलको १२ औं मिनेटमा कालिकाका मनिष श्रेष्ठको प्रहार चिल्ड्रेनका गोलरक्षक सौगात खड्काले बचाएका थिए । खेलको २९ औं मिनेटमा चिल्ड्रेन लाईफका सुनिल बुढाको प्रहार कालिका गोलरक्षक रन्जनले बचाए । कालिकाले ४३ औं मिनेटमा मनिषको प्रहार गोलबारको थोरै माथिबाट बाहिरिँदा पहिलो हाफमा बराबरी गर्ने मौका गुमाएको थियो ।

५२ औं मिनेटमा अजय पुनले गोल गर्दै चिल्ड्रेन लाईफको अग्रतालाई दोब्बर बनाएका थिए । चिल्ड्रेनका मोहन थापाको प्रहार गोल रक्षक विट भएपनि गोललाईनबाट कालिकाका दिलिप थापाले बचाएपनि रिबाउण्ड बललाई अजयले गोलमा परिणत गरेका थिए ।

खेलको ७६ औं मिनेटमा कालिकाका मनिषको प्रहार चिल्ड्रेनका गोलरक्षक सौगातले बचाएका थिए । कालिकाको लागि खेलको ८१ औं मिनेटमा मनिष श्रेष्ठले डिबक्स बाहिरबाट दोस्रो बारमा सुन्दर गोल गर्दै चिल्ड्रेनको अग्रतालाई २–१ मा झारेका थिए ।

खेलको ८७ औं मिनेटमा चिल्ड्रेनका राजिव श्रीसले मैदानको विच भागबाट काउन्टरमा बल लग्दै डिबक्सबाट सेकेन्डबारमा सुन्दर गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । निर्धारित समयमा दुवै टिमबाट अन्य गोल नभएपछि चिल्ड्रेन लाईफ ३–१ गोलअन्तरले विजयी भएको थियो ।

लिग उपाधि जितेको चिल्ड्रेन लाइफले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छभने उपविजेतामा चित्त बुझाएको कालिका भगवती युवा क्लबले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट फरवाड चिल्ड्रेनका मोहन थापा, उत्कृष्ट मिडफिल्डर कालिकाका मनिष श्रेष्ठ, उत्कृष्ट डिफेन्डर चिल्ड्रेनका दिपेश गाहा मगर र उत्कृष्ट गोलरक्षक चिल्ड्रेन सौगात खड्का बनेका छन् । उनीहरुले समान २ हजार ५ रुपैयाँ प्राप्त गरे । यस्तै रामरेखा युवा क्लब फेयर प्ले घोषित हुँदै २ हजार ५ सय रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको विजेता टिम र खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल र जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

फागुन २८ गतेबाट संचालन भएको लिगमा ८ टोलीको सहभागिता रहेको थियो । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरि राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष टोलीबीच फाइनल खेल भएको हो । जिल्ला फुटबल संघ बागलुङले लिगको लागि पुराना ५ टोलीलाई सिधै र नयाँ ७ टोलीबीच छनोट प्रतियोगिता सञ्चालन गरि ३ टोली छनोट गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *