राम सुवेदी
जनताको अभिमतद्धारा चयन हुने र जनअनुमोदितहरु जनताप्रति पूर्ण उत्तरदायि, जवाफदेही र सदाचार पद्धतिमा बाँधिएकाहरुलाई यसपटक चुनौं । नेता पार्टिका होलान् । तपाइका विचार समर्थक पनि होलान् । नजिकका आफ्ना नातागोताका पनि पर्लान् । टोलछिमेक र गाउँका हुनसक्लान तर उसको सामाजिक, राजनैतिक र व्यवक्तिगत व्यवहार आचरण शील स्वभाव सामाजिक छ कि छैन त्यो बुझौं । पटक पटक राम्रा छोड्यौं । हाम्रा चुन्यौं, यसपटक हाम्रालाई होईन, राम्रोलाई चुनौं ।
हामीले चुन्ने प्रतिनिधि, विधि, प्रणाली, पद्धती जाने बुझेको होस् । निर्वाचन प्रक्रियाबाट कसैलाई सत्तामा उभ्याउनु र उभिन आउनेहरुको एकदिन नमस्कार खानु सामान्य कुरा हो । उसले जनअभिमतको सदासर्वदा न्यायिक भूमिका परिपालना गर्छ गर्दैन भन्ने ठोस कुरा हो । अवको स्थानीय निर्वाचनमा वडामा अध्यक्ष दावी गर्ने प्रतिनिधि उयुक्त छ भने उसलाई टोलटोलमा लिखित प्रतिवद्धता गराउँ । जनताको जनमतको कदर भइरहने गरि जनता उच्च स्थानमा रहेर सम्मानपूर्वक आफ्नो ठाउँको समस्या पहिचानको पाँच वर्षे योजना टोलवासी अगुवाहरुबाट कोरौं । अनि भनौं, जनप्रतिनिधिलाई, यो समस्याको हल गर्ने प्रतिवद्धता छ कि छैन ? चुनावका बेला महत्वकाँक्षी योजना बोल्ने, यो गर्छु, त्यो गर्छु भन्ने तर निर्वाचित भएपनि काम गर्न नसक्ने भएको छ । त्यो पनि विचार गरौं । हुने र सक्ने प्रतिवद्धता स्वीकार गरौं । अन्यथा बेअर्थका सपनाका चाङहरुमा जनता पनि नडुबौं ।
पछि के हुन्छ, मौका यसैपटक हो भन्ने गाउँका, टोलका अगुवाहरुले प्रतिनिधिबाट पैसा लिन सक्छन् । स्वार्थका लागि राम्रोलाई पछि पारेर नराम्रोको प्रचार गरिन सक्छ । बेलैमा होस पुरयाउँ । गाउँगाउँ, टोलटोलमा हिजो के भयो, आज के गर्ने ? गज्जवका छलफलहरु पढेलेखेका युवा पक्तिबाट सुरु गरौं । त्यो छलफल राजनैतिक हनुमान बनेर होईन, साँच्ची गाउँको विकासका जनताको नजिकको स्थानीय सरकारबाट के हुनसक्छ ? सम्भावना कति छ ? सवाल त्यसका केन्द्रित गरौं ।
एकका रिसले वा आवेगले कयौं पटक टोल विभाजित भयौं । योजनामा मतऐक्यता जाहेर गरेनौं । भोट कस्लाई हाल्ने भन्नेमात्र सोंचेर एकदिनको लाईिनमा घामपानी खायौं तर आफ्नो ठाउँको अवस्था फेर्न किन सकिएन ? अव मतदाता आफैले छलफल गरौं । यसले गरेन र उसले गरेन भन्ने दलका नेता कार्यकर्ताका मात्र विचारले विकास र परिवर्तन सम्वभ छैन । हामी जनताले भोल आलेर प्रतिनिधि चयन हुँदैमा पनि परिवर्तन हुँदैन । केही आवश्यकताले आस्था परिवर्तन गर्दैमा पनि हाम्रो बस्तुगत अवस्थामा फेरवदल हुनेवाला छैन । अनेक सय वित्यो, कालखण्डहरु बदलिए, व्यवस्थामा परिवर्तन आयो । प्रणाली फेरियो पनि भनियो तर जनप्रतिनिधिका कार्यशैली, उनीहरुको कामको योजना र कार्यन्वयनमा हामी जनतासँगको साक्षतकार भेटहुन सकेन । आफ्नो ठाउँ कसरी बनाउने भन्नेमा कतिपय राजनैतिक आस्था फरक पर्दा हामी आफैभित्रको व्यवभिचारले पनि विकास साझेदार बन्नुको सट्टा इन्कार मानसिकता बनायौं । यसले न आफ्नो विचार बदलियो, न ठाउँको अवस्था फेरियो । यो कार्यशैली हामी मतदाताले आफूबाट हटाऔं ।
स्थानीय सरकार भनेको हाम्रो घरको सरकार हो । टोल र गाउँको सरकार हो । यो सरकारमा नेतृत्व गर्ने जनप्रतिनिधि मेरो घर, टोल, गाउँ छिमेक र यहाँको अवस्था बुझेको हुनुपर्दछ । यहाँ जनप्रतिनिधिद्धारा पाँच वर्षको दीर्घकालीन, संघ र प्रदेशको सहयोगमा हुने मध्यकालिन योजना साथै आफै स्थानीय सरकारको अगुवाई र नेतृत्वमा जनसहभागिता मूलक अल्पकालिन योजनाका खाका ल्याईनु पर्दछ । यत्तिकुरा नजानेको, निर्वाचनमा यो सवाल नउठाउने, जनताका कुरा स्वार्थका हिसावले साट्ने वा सौदावाजी गर्ने मान्छेलाई यहीबाट हटाऔं । तह लगाउँ । आफ्नै अधिकारक्षेत्रका नीति नियमहरु प्रतिपादन हुने निकायमा कमजोर पात्र वा प्रतिनिधि चयन गर्न लाग्यौ भने, आस्थाले मात्र अवस्था फेर्दैन भन्ने जानाकार युवाहरु कतिपट तपाइको आस्थामा बलि चढ्नुभयो र अव के परिकल्पना गर्नुभएको छ त्यसमा फेरि सोच्नुस् । नआत्तिनुस् । धेरै आग्रह र पूर्वाग्रहको आस्थामा पनि नबस्नुस् । धेरैले भनेको, बोलेको सुनिन्छ, त्यो मान्छे त रामै हो मेरो पार्टिको भएन ? स्थानीय सरकारमा अब पनि राम्रा हटाएर हाम्रा रोज्दा गलत मान्छे ल्यायौं भने तपाइको आस्था एक दिन डगमगाउने छ । पहिला आस्थाको नेतृत्व नीति, विधि र पद्धतिमा सचेत हो, होईन जान्नुस् । बुझ्नुस् । सुझेरमात्र जनतालाई उचित राय दिनुस् ।
आजको राजनीति दबाव, अभाव र प्रभावमा विचलित छ । आस्था स्वीकार गरे बदमास पनि प्यारो छ । आलोचनात्मक चेत राख्नेहरुले यो भोग्दै, व्यहोर्दै आएका छन् । यहाँ रातारात स्वार्थले सार्थकता बदल्नेहरु छन् । चिन्तन र सोंचले विचार फेर्ने होईनन् । परिवेश र अवस्था हेरेर उसले नै भनिरहेको सच्चा आस्था दाउमा राख्नेवाला छन् । जनहितका खातिर होइन, नीजि मतलवले बहुरुपी कर्म रोप्नेहरु छन् । आफ्नाले आफ्नैलाइ खेद्ने, धपाउने र कालकोठेरीमा रमाउनेहरु सामाजिक न्यायका गफ अव टोलटोलमा वालाछन् । सत्ता स्वार्थका लागि राजनैतिक नीति, शिद्धान्त र विचार तिलाञ्जली दिएर, सामान्य चेत भएको नागरिकहरुको गिदि हल्लनेगरि नेता स्वार्थको भाषणले जनताको कानेगुजी फुत्कने गरि हल्ला गरिने छ ।
तर, जनता कस्तो प्रतिनिधि छान्ने भन्ने कसैको प्रभावका बेचिनु र आस्थामा मान्छे तलमाथि पर्लान भनेर डगमग गर्नुपर्ने छैन । स्थानीय निर्वाचनमा राजनैतिक दलबाट मात्र होईन, राम्रा मान्छेहरु स्वतन्त्र ढंगले समाज बदल्ने अठोटकासाथ जनताको उमेद्वार बन्ने तयारी गर्नुस् । अनपढ र गवारहरु धेरैपटक अनुमोदित गरियो । आफै फेरिए, अवस्था फेरेनन् । शिक्षित, दिक्षित र सार्थक मान्छेहरु वडामा उमेदवार बन्नुस् । आफ्नो ठाउँ फेर्ने तपाइले पनि हो । आस्थाले मान्छे एकहोरो बनाइदिएको छ । आस्था वाहिरबाट चूनौतिदिने प्रतिनिधि आफ्नै ठाउँबाट चयन गरौं । प्रतिस्पर्धामा राम्रा मान्छेको साथ समर्थन गरौं । पार्टिमा पनि प्रभावशाली, योग्य र विचारले शालीन व्यवहारको मान्छे प्रतिनिधि छानौं । पैसा, पावर र मसलको राजनीति अस्वीकार गरौं । सभ्य समाज निर्माण गर्न जो सुकै होस्, सभ्य, हालिन र गतिलो चरित्र भएकालाई छानौं र चुनौं ।