बालिकामाथिको बढ्दो बलात्कार

सम्पादकीय
नेपाली समाज पित्तृ सतात्मक समाज हो । यसको अनेकन प्रमाण र प्रवृत्ति हिजो जुन अवस्थामा थियो, त्यसमा बदलाव आएको छ । यद्यपि, त्यो अझै प्राप्त छैन । र त आजको २१ औं शताब्दी, मुलुकमा आएको उन्नत व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि छोरीहरु माथिको बलात्कार, हत्या लगायतका सामाजिक अपराधजन्य घटना जारी छ । यसले यो समाजमा छोरीहरुले कहिले सम्म असुरक्षा र जोखिममा जीवन बाँचिरहनु पर्ने हो ? भन्ने गम्भीर प्रश्न र संशय समेत पैदा गरेको छ । एक डेढ वर्षका बच्चादेखि बालिग उमेरका छोरी चेलीहरु माथिको समाजको हेर्ने दृष्टिकोण र उनीहरु माथि गर्ने दुव्र्यवहारको अवस्था उदेक लाग्दो देखिने गरेको छ । मोरङमा यही फागुन २७ गते डेढ वर्षकी नाबालिग बलात्कार भएको घटनाले धेरैको मुटु कापेको छ ।

नेपालको पछिल्लो तथ्यांकले पनि बालिका माथिको बलत्कारका घटना बढेको डरलाग्दो परिदृश्य देखाउँछ । चालु आर्थिक वर्षमै देशभर १ हजार २ सय ९४ जनाको करणी भएको छ । यसमा १० वर्षभन्दा कम उमेरका १२५ जना रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । ११ देखि १६ वर्ष मुनिका ५ सय ८ जना र १९ देखि १८ वर्ष उमेरका १ सय ८९ जना किशोरी बलात्कृत भएका छन् । यो चालु आर्थिक वर्ष सकिन अझै पुरा ४ महिना बाँकी छ, तर माघ महिनाभित्रै बलात्कारको संख्या १३ सयको हाराहारी पुग्नुले बलात्कार बढेको देखाउँछ । आर्थिक वर्ष २०७७÷७८ मा देशभर २ हजार ५३२ जना बलात्कारमा परेका छन् । त्यसमा १० वर्ष मुनिका ३०५ जना, ११ देखि १६ वर्ष मुनिका १ हजार १६ जना र १७ देखि १८ वर्ष उमेरका ३ सय ४४ जना रहेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७६÷२०७७ मा देशभर २ हजार १४४ जना महिला बलात्कारमा परेका छन् । त्यसमा १० वर्ष मुनिका २७३ जना थिए । गएको पाँच वर्षमा देशभर ९ हजार ६ सय ५२ जना महिला माथि करणी भएको छ । त्यसमध्येमा १० वर्षमुनिका मात्रै १ हजार २ सय ९६ जना छन् भने ११ देखि १६ वर्ष उमेर समूहका ३ हजार ८ सय छन् ।

भर्खर जन्मिएका र हुर्किदै गरेका नाबालिग र किशोरी माथि भइरहेको यस्ता अपराधजन्य घटनाले के संकेत गर्छ ? नेपाली समाज कता जाँदैछ ? आफ्ना साना नाबालिकाको बालपना अपराधको शिकार बन्दा पीडित र परिवारका अभिभावकहरुले कस्तो नियती लिएर बाँचिरहेका छन् । यस्तो अपराध कर्मका पछाडि खास के कस्ता कारणहरु छन् ? सरकार र सरोकारवाला निकायले यी र यस्ता प्रश्नहरुको पहिचान गर्नुपर्छ । र गम्भीर अपराधजन्य घटनामा सम्लग्नलाई कडा भन्दा कडा कारबाही गरिनु पर्दछ । यदि कानुनमा अझै पनि समस्या छन् भने त्यस तर्फ पनि राज्यले समयमै ध्यान दिनुपर्दछ । आजको गतिशील समाजमा पनि यस्ता घटना हुनु दुर्भाग्य हो । यो समाजको कलंक हो । अतः छोरीचेलीहरुको सुरक्षाका लागि राज्यका तर्फबाट तत्काल सचेतनामूलक, कानुनी र अन्य अत्यावश्यक कदम चाल्न ढिलाई गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *