विद्यालयमै आपराधिक घटना


सम्पादकीय
विद्यालय पवित्र क्षेत्र हो । तर, यसै साता विद्यालयमै भएको आपराधिक लेटाङ घटनाले झस्काएको मात्रै छैन, सिंगो देशलाई स्तब्ध तुल्याइरहेको छ । स्थानीय शिक्षा विकास माविकी १४ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप शिक्षक माथि लाग्नु एक दुर्भाग्यको विषय थियो नै । त्यसमा सोही आरोपित शिक्षक ५६ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिने क्रममा स्थानीय र प्रहरीबीच झडपको घटना र त्यसमा एक देशभक्त प्रहरी जनताको सेवा र सुरक्षामा खटिरहेकै अवस्थामा जनताकै आक्रमणमा मृत्यु हुनु अझ दुःखदायक रह्यो । शिक्षकलाई स्थानीयको भौतिक आक्रमणबाट जोगाउन खोजेको भन्दै आक्रोशित स्थानीयले धारिलो हतियार प्रहार समेत गरे । जसबाट गम्भीर घाइते भएका विराटनगर रानीमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो । घटनामा २८ प्रहरी र केही स्थानीय घाइते भएका थिए ।

लेटाङ घटनाको कारण केलाउँदा होली खेल्ने क्रममा (४ फागुनमा) यौन दुव्र्यवहार गरेको भन्दै शिक्षक पौडेलमाथि कक्षा ६ मा अध्ययनरत छात्रा र आफन्तले विद्यालयमा उजुरी गरे । उजुरीअनुसार विद्यालय प्रशासनले व्यवस्थापन समितिको बैठक राखेर आरोपित शिक्षकलाई आत्मालोचना गर्न वा राजीनामा दिन आग्रह गरेको थियो । तर, उनले गल्ती नगरेको भन्दै दुवै सर्त अस्वीकार गरेका थिए । त्यसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष र न्यायिक समिति संयोजक रहेकी उपमेयरको रोहवरमा मिलापत्र गराउन छलफल भएको थियो । यौन दुव्र्यवहारजस्तो घटनामा मिलापत्र गराउन खोजेको भन्दै स्थानीय आक्रोशित बने ।

उक्त समूहले विद्यालय प्रांगणमा रहेका मोटरसाइकल र स्कुटर तथा कम्प्युटर ल्याबमा तोडफोड गरे । त्यसैवेला अर्को एक समूहले भने पहिले घटना छानबिन गरेर मात्रै शिक्षकलाई प्रहरीको जिम्मा लगाउनुपर्ने आवाज उठायो । लामो समयसम्म विवाद भए पछि भिड थप आक्रोशित भयो । मुख्यतः जुन शिक्षक माथि यौन दुव्र्यवहारको आरोप लाग्यो, आरोपित शिक्षकलाई विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिले प्रहरीको जिम्मा लगाउन ढिलाइ भयो । जसले अन्ततः डरलाग्दो हिंसात्मक घटनाको रुप लियो । अहिले घटनाको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल छ । जुन आक्रमण र घटनाका परिदृश्य हेर्न सम्म सकिने खालको छैन ।

लेटाङ घटना नियोजित होइन, अराजकताको एक उदाहरण हो । अर्को तर्फ शिक्षक माथि जुन गम्भीर आरोप लाग्यो, यो नैतिकहीनताको पराकाष्ठा हो । आफैले पढाउने विद्यार्थी प्रतिको निकृष्ट सोचले देशमा पछिल्लो समय यस्ता अनेकन घटना जन्माइरहेको छ । १२ फागुनमा लेटाङमै विद्यालयबाट घर फर्कँदै गरेकी १२ वर्षीया बालिकाको ६३ वर्षीय वृद्धबाट बलात्कारपछि हत्या भयो । मोरङकै सुन्दरहरैँचामा २८ फागुनमा १८ महिने बालिकालाई दुई दाजुभाइ मिलेर सामूहिक बलात्कार गरी हत्या गरे । डेढ वर्षमा छात्रा बलात्कार अभियोगमा मात्रै १९ शिक्षक पक्राउ परेका छन् । यो देश दृश्य सिंगो मुलुकका लागि लज्जाको दृश्य र घटना हो । यसमा सम्लग्नलाई कडा भन्दा कडा कारबाही हुुनै पर्दछ । यससँगै कसैले गरेको अपराधकर्मबाट पीडित पक्षमा आक्रोश जन्मनु स्वभाविक मान्न सकिन्छ । तर, त्यसको बदला या सजाय भौतिक आक्रमणबाट होइन । नियमसंगत तबरबाट कानुनी उपचार खोजिनु पर्दछ । र राज्यका निकायले पनि यी र यस्ता अपराधजन्य घटनामा सम्लग्नको संरक्षण होइन, बिना दबाब र प्रभाब कानुनको कठघरामा उभ्याएर सजाय दिनुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *