स्वर्णिम साग र महिला खेलाडीले दिएको सन्देश

सम्पादकीय
१३ औं दक्षिण एसियाली खेलकुद (साग) राजधानी सहित मोफसलका दुई शहरमा भयो र यसको सुखद समापन भएको छ । साग भव्यताका साथ आयोजना गर्नु नेपालका लागि सुखद बिषय त हुँदै हो । सागको आयोजना र सुखद समापन यस्तो बेला भएको छ, जुन समयको संघारमा नेपाल पर्यटन बर्ष शुरु हुँदैछ । यस बेला सार्क देशबाट आएका बिदेशी खेलाडी, अफिसियल र पाहुनाहरुले सुखद सन्देश बोकेर गएका छन् । जसको प्रत्यक्ष अप्रत्यक्ष लाभ नेपालले लिने नै छ । तर, नेपालको सफल आयोजनामा थप खुशी, उमंग र उत्साह यसकारण थपिएको छ की नेपालले साग इतिहासमै सर्वाधिक स्वर्णको किर्तिमानी रचेको छ ।

नेपालले अहिले ५१ औं स्वर्ण जित्दै समापन भएको छ । यसअघि ३१ स्वर्ण सम्म जितेको नेपालले यस सागमा सबै भन्दा धेरै स्वर्ण जित्न सफल भएको हो । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ मा पदक जित्यो । नेपालले ५१ स्वर्ण, ५५ रजत र ९२ कास्य सहित कुल १९८ स्वर्ण जित्न सफल भयो । सुटिङमा भने पदक विहीन रह्यो । मार्सल आट्र्समा नेपालले सर्वाधिक ३२ स्वर्ण जित्यो । जसमा तेक्वान्दोबाट सर्वाधिक १२ कराँतेबाट १०, उसुबाट ५, बक्सिङबाट ३ र जुडोबाट २ जित्न सफल भयो । नेपालमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा सागमा सर्वाधिक सफल खेलाडीहरु महिला देखिएका छन् । नेपालले जितेको ५१ स्वर्ण आधा भन्दा बढी २९ स्वर्ण महिला खेलाडी जित्न सफल भए । गोल्डेन गल र ‘जलपरी’का रुपमा उदाएकी गौरिका सिंहले एक्लै चार स्वर्ण जितेर बिश्वलाई चकित बनाएकी छिन् । १३ औं सागमा नेपाली खेलाडीहरुले थुप्रै कीर्तिमान पनि बनाएका छन् । यसरी बनेको कीर्तिमान अधिकांश महिला खेलाडीले नै राख्न सफल भए । नेपालका दुुई खेलाडी एक सागमा दुुई स्वर्ण जित्ने कीर्तिमान बनाए । जस दुई सन्तानकी आमा आयशा शाक्यले कीर्तिमान बनाइन् भने कराँतेका मण्डेकाजी श्रेष्ठले पनि एकै संस्करणमा दुई स्वर्ण जित्ने कीर्तिमान बनाएकी छिन् ।

नेपाली समाजमा अझै पनि महिला कमजोर हुन्छन् भन्ने धारणा जर्बजस्त स्थापित छ । जसका कारण महिलाहरु खुलेर समाजका अनेक आयाममा जोडिने कुरा अलि अस्वभाविक रुपमा लिइने गरिन्छ । फल स्वरुप अभिभावकहरुमा पनि आँफ्ना सन्तान खेल क्षेत्रमा लगाउने रुची निकै कम देखिन्छ । अझ छोरी, बुहारीहरुलाई त ठुलो जोखिम मोल्नुपर्ने चुनौति बिद्यमान छ । यस्तो चुनौतिका बाबजुद पनि महिला खेलाडीहरु खेल खेलिरहेका छन् । खेल्ने मात्र होइन, खेल क्षेत्रका उर्वर राष्ट्रका खेलाडीहरुलाई पराजित गरेर स्वर्ण जितेर इतिहास रचेका छन् । यो नेपाली पुरुषबादी चिन्तनबाट ग्रसित समाजका लागि राम्रो पाठ र सन्देश पनि हो । सागमा सहभागी र पदक बिजेता सबै खेलाडी बधाईको पात्र छन् । अबका दिनमा खेलाडीले जिते मात्र नगद दिएर मात्र होइन, समग्र खेलाडी र त्यसमा पनि महिला खेलाडीलाई अझ बिशेष रुपमा प्रोत्साहित गर्ने नीति कार्यक्रम तय गरेर सरकारले खेल क्षेत्रको विकास, विस्तार प्रर्वद्धन गर्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *