राम सुवेदी
अहिले चर्चा, स्थानीय तह निर्वाचनको छ । गाउँ टोलमा जानेर वा नजानेर राजनैतिक सरगर्मी बढेको छ । जनता चाहेर वा नचाहेर फेरि तिनै राजनैतिक दलका प्रतिनिधिहरु जनप्रतिनिधि बनाउदै छन् । गएको निर्वाचनमा पनि यसरी नै निर्वाचन आयो, नेता प्रतिनिधि जनप्रतिनिधि भए । परिणाम के ल्याए ल्याएनन् त्यसको चर्चा छैन । भएपनि आफ्ना दलका भएर चुपचाप छ । अर्काको भएकामा बढ्ता आलोचनामात्र छ । यो संस्कार वर्तमान राजनैतिक चेतनाको उपज हो ।
जनअपेक्षा धेरै थिए, कामका गतिविधिहरु न्यूनतम भए । नयाँ संविधानले ग्यारेन्टी गरेका स्थानीय तहका अधिकार जनताले केति सेवा सुविधाभोग गर्न पाए । स्थानीय सरकारमा जनअनुमोदित प्रतिनिधिहरु जनचाहना अनुसारका कानूनका दस्तावेजहरु के कति ल्याए । त्यसका विषयमा जनतामा छलफल भए वा भएनन् ? वा मनपरि पो गरिए कि ? यत्ति बुद्धि लाउन बुद्धिजीवी जनता हाम्रा टोल छिमेकमा छन वा उनीहरुपनि राजनैतिक आग्रह पूर्वाग्रहका हिसावले बोल्छन् । यसले पनि समाज परिवर्तनमा ठूलो महत्व राख्दछ ।
अहिलेका राजनैतिक दल र त्यसका कार्यकर्ताबीच कस्तो स्थानीय सरकार सञ्चालन गर्ने वा सरकार सञ्चालनमा उचित वा अनुचित प्रतिनिधिहरु को कस्ता थिए भनेर घनिभूत छलफल गरिन्छन् वा गरिन्न भन्ने मूल सवाल हो । पार्टि, नेता वा त्यसका समर्थक भएर वा हुँदैमा चूपचाप निर्वाचनका कुरा गर्न, समर्थक मतदाता अधिक छन भनेर परिणाम जित हारको होडमा, विधि, पद्धति, प्रणालीविरोधी गतिविधि भए भने त्यसमा समिक्षा गर्ने दल र त्यसका कार्यकर्ताहरु पाईदैनन् । जनताको नाममा जनअनुमोदितहरु जनताको मतको अवमूल्यन गर्नेहरु थुप्रै छन र भए । यसले मूल्य मान्यताको हनन् भइरह्यो । यो परम्परा राजनैतिक दलका तर्फबाट हुन दिनुहुँदैन । जहाँ सोही पार्टिका कार्यकर्ता सजग र सचेत हुनुपर्नेछ । आफ्नो भए गुमनाम र अर्काको भएर धुमधामले विरोध गर्ने खराब राजनैतिक संस्कार हामीकहाँ छ ।सही के गलत के पार्टिभित्र त्यसमा कत्तिको छलफल वा बहश हुन्छ । जस्ले स्थानीय तहको प्रयोग र प्रयोजनको पहिलो खाका निर्धारण गर्ने छ । जनताले कस्ता जनप्रतिनिधि ल्याउने कस्तालाई पाखा लाउने भन्ने कुरा दलभित्र हुने यसखालको छलफलले नेता निक्र्यौल समेत गर्नेछ ।
गाउँमा हाट्टे हुट्टे गर्नेहरु पार्टिका नेता कहलिने परम्परा छ । उसको आन्तरिक क्षमता, दक्षता र परिणाम ल्याउने शीप कति छ भनेर खोजवीन गरिनुपर्दछ । यो चुनिने वा चुन्ने प्रक्रियाको पात्र बन्नेमात्र होईन । राज्य चलाउने गरि वर्तमान नेपालको विधि, कानून, ऐनको बिषयमा जानाकार मान्छे छान्ने विधि पनि हो । पार्टिमा मलाई भए हुन्छ, नत्र ? भन्नेहरु तथानाम आवाज उठाईरहेका देखिन्छन् । उनीहरु वास्तविक जनसेवी हुन हो वा राज्यकोषको सदुपयोग गर्न हो भन्ने यत्तिकैपनि स्पष्ट हुन्छ । अन्तर राजनीतिको ज्ञान नभएका अबुझहरु सयौं जनताको प्रतिनिधि हुने मानसिकताका साथ टोलटोलबाट उमेद्वार बन्नेवाला छन् । पार्टिले दिए पार्टिबाट नदिए स्वतन्त्र रुपमा पनि उनीहरु उमेद्वार हुनेछन् । आज जनप्रतिनिधि बन्न मरिहत्ते गर्ने तर त्यसले भोली सेवामा परिणाम दिनुपर्छ भन्ने कमजोर ज्ञान भएकाहरु कथमकदाचित जनप्रतिनिधि चयन भए भने तिनले सिंगो वडा÷गाउँ÷ नगरको बद्नाम गर्नेछन् । जनमतबाट कुपात्र चयन भइदिए त्यसको सही परिणाम आउनेछैन । तसर्थ, पार्टिका नेताको मन जित्दैमा त्यसलाई गाउँमा पार्टिका कार्यकर्ताले जनप्रतिनिधि छान्नुपर्छ भन्ने छैन । गलत प्रतिनिधि आए, फरक दलको भएपनि राम्रो प्रतिनिधि चयन गर्नु महत्वपूर्ण हुनेछ ।
स्थानीय विकासमा त्यहीका प्रतिनिधिको ठूलो भूमिका छ । जनप्रतिनिधि हुन राजनीतिक दलमा रहेको चुन्नुपर्दछ भन्ने होईन । पार्टि आफ्नो नै हुनुपर्दछ भन्ने चाहना जनताले राख्नु अनूचित हुनेछ । हाम्रो नरामै प्रतिनिधि आए, राम्रोलाई हाम्रो ठानेर चुन्नु जनताको बुद्धिमता हुनेछ । आखिर जो आएपनि त्यो ठाउँकै काम गर्ने हो । त्यहीका जनताकै सेवा गर्ने हो । दलीय व्यवस्थामा आ—आफ्ना प्रतिनिधिहरु चुनावी प्रतिस्पर्धामा ल्याईन्छन् । त्यो दलका नेताको प्यारो आउँछ वा जनताको प्यारो, त्यसले पनि निर्वाचनमा जित र हारको परिणाम ल्याउला , यद्यपि दलीय हिसावले पार्टि, राजनीति प्यारो लाग्ने मतदाताले प्रतिनिनिधि गलत आए त्यसलाई तत्काल सच्याउन वा फेर्न सक्ने हैसियत राख्नुपर्दछ । अन्यता जे ल्यायो त्यसलाई चाहना विपरित प्रतिनिधि बनाइयो भने भोली सही काम कार्वाहीमा फरक पर्न सक्छ ।
अहिले अधिकलाई जनप्रतिनिधि हुन जोडबल छ । कारण राज्य कोषको वितरणका प्रतिनिधित्व गर्न पाइन्छ । त्यो मात्र भएन । राज्य कोषबाट मोटर चढ्न पाइने र तलब सुविधासमेत लिन पाइने भएपछि, त्यो मोहले धेरैलाई जनप्रनिधिमा उतार्नेवाला छ । जनताको सेवामा पाँच वर्ष बिताउनुपर्दछ भन्ने मान्छे अव गाउँटोलमा भेट्न गाह्रो छ । राज्यकोषको होइन आफ्नो खर्चेर स्वयंस्वी बन्ने र गाउँ बनाउने कोही हुनेछैनन् । राज्यको विधि र नीतिले दिएको सुविधा लिएपनि अन्यथा नगर्ने नैतिक जिम्मेवारी र जनताप्रति जवाफदेहिता भएको प्रतिनिधि चयन गर्नसक्नु जनताको बुद्धिमता हुनेछ ।
स्थानीय तह नै जनसेवी सरकारको अंग हो । जहाँ निर्वाचित हुने प्रतिनिधि समेत स्वच्छ, जनभावनाको कदर गर्नसक्ने, गाउँटोलको आवश्यकता र जनचाहना अनुसारको योजना बनाउन सक्ने, जनतामा घुलमिल गरेको, राजनैतिक आस्था जहाँ भएपनि अवस्था परिवर्तन गर्ने दृढ चाहना भएको, समस्याको पहिचान गर्नसक्ने, जनाधार राम्रो भएको, व्यक्तिगत हिसावले पारदर्शी मान्छे उमेद्वार चयन गरेर जानु जनताको दायित्वमा पर्नेछ । आफ्नो ठाउँको परिवर्तन जनप्रतिनिधिले मात्र गराउने होईन, हाम्रो प्रतिनिधि चयनमा देखाइएको कर्तव्यले त्यो पूरा हुनेहो । खासमा स्वतन्त्र मतदाता नभएसम्म ठाउँको विकास सम्भव त छैन तैपनि यो स्थानीय तहको चुनावमा हाम्रो होईन राम्रो चुन्ने संस्कारको विकास सुरु गरौं । जस्ले केही न केही परिवर्तन आउँछ ।
निर्वाचन एक प्रक्रिया हो । निर्वाचन मार्फत जनताले चुन्ने अधिकारको सही सदुपयोग आगामी पाँच वर्षको गूरुयोजना पनि हो । त्यसको खाका कोर्ने अधिकार निर्वाचन मार्फत दिइएको छ । यसलाई सदुपयोग गरेर जाने वा रुपयोग गर्ने भन्ने यसै निर्वाचनमा हामीले प्रयोग गर्ने मताधिकारले निर्धारण गर्दछ । समयमा सही प्रतिनिधि चुन्यौं, राम्रो भयो, गलत चुन्यौं, पाँच वर्ष यत्तिकै पछि धकेलियो । तसर्थ आफ्ना प्रतिनिधि तपाईप्रति कत्तिको जानाकार छ वा छैन । नजानेको र नबुझेकोलाई मतदान नगरौं । पहिला राम्रैसँग जानौं, बुझौं, बुझाऔं र मताधिकारको प्रयोग गरौं । जनप्रतिनिधि आफ्नो कार्यकाल र कार्यशैलीको प्रतिवद्धता जनतासमक्ष स्पष्ट ढंगले राखौं । पाँच वर्षका कामम के के हुन लिखित दस्तावेजका रुपमा जनतामा पेश गरौं । जस्ले स्थानीय सरकारका काममा योजनावद्ध प्रयोगको आधार बन्न सकोस् । जनचाहना पूरा भएको खाका भोली पेश गर्न सकियोस् ।