शीर्ष नेताको वैचारिक र बोलीको विचलन

सम्पादकीय
नेपाली राजनीतिमा क्रियाशील सबैजसो राजनीतिक दल, नेताहरुको फरक–फरक सिद्धान्त, आस्था, आदर्श र मान्यताहरु छन् । जुन हेर्दा र सुन्दा त्यसले नेपाली समाजलाई कुनै न कुनै रुपमा अग्रगामी दिशा तर्फ मुखरित गर्न प्रयत्नशील लाग्छ । नेपाली राजनीतिलाई मात्र होइन, नेपाली समाज र देशलाई फरक तबरले उनीहरु बदल्न सक्षम छन् । तर, व्यवहारतः हेर्दा न सिद्धान्त र व्यवहारको बिचको तालमेल मिलेको देखिन्छ, न त उनीहरुका भाषण र बोलीको दम । बरु सिद्धान्त, विचार,भाषणमा गम्भीर विचलन देखा परेको परिदृश्य देखिन्छ । काम गराईको परम्परागत तौरतरिका, बेथितिले थिचिएका दल र नेताहरु यथास्थितिको अनेकन खराब पात्र र प्रवृत्तिगत समस्याबाट जेलिएर बसेको प्रतित हुन्छ । जसले व्यवस्था बदलिँदा समेत अवस्था नबदलिँदा निराशा बढाउदै जान थालेको छ ।

यसरी निराशा बढ्दै जानुमा देशका दल र नेताहरुको भूमिका, कार्यशैली मुख्य समस्याका रुपमा देखिन्छन् । पटक पटक नेपाली राजनीति र समाजमा बहस हुने गरेको छ कि मुलुकले एक असल राजनेता जन्माउन सकेन । यसो भनिनुको पछाडि हाम्रा वर्तमान समयमा राजनीतिको शीर्ष भूमिकामा रहेका नेताहरुले नागरिकको परिवर्तन र विकास प्रतिको आंकाक्षा अनुसार प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् । उसो त नेपाली राजनीतिको एक गम्भीर समस्या आन्दोलन गर्न दल र नेताहरु सफल रहे, त्यसबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्दै देशलाई आमुल परिवर्तनको दिशामा तीब्रतर हिसाबले अघि बढाउन पटक पटक असफल भइरहे । यो घटनाक्रमले देखाएको पनि छ । पछिल्लो समय नेपाली राजनीति कति प्रदूषित छ भन्ने कुरा शीर्ष नेताको भूमिका, कार्यशैली काफी नै छ, यसमा उनीहरुले केही दिन यता एक अर्को दल र नेतालाई आरोपित गर्दै तुच्छ शैलीमा गरेको भाषण हेर्ने र सुन्ने हो भने पनि थप प्रष्ट हुन्छ ।

आगामी वैशाख ३० को स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दल र नेताहरुलाई चुनाव लागेको छ । उनीहरु आफ्नो पक्षमा जनमत तयार गर्न प्रयासरत छन्, यो दलिय प्रतिस्पर्धामा सामान्य र स्वभाविक विषय हो । तर, एक अर्कोलाई निम्छरो भाषा प्रयोग गरेर सुन्दा पनि अप्रिय लाग्ने भाषणले आरोपित नेताको उचाइ घट्दैन, स्वयम् भाषणकर्ता नेताकै खस्किँदो स्तर देखिन्छ । चाहे त्यो बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा हुन् या प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् या माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुन् या एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल होउन् ? यी सबै प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको हैसियत बनाएका पात्रहरुबाटै आउने निकृष्ट भाषण, बोलिले कति बिचलन आएको होला ? यसबाट तीनका नेता, कार्यकर्ता कसरी दिक्षित भइरहेका होलान् ? र राजनीतिमा स्वच्छ प्रतिस्पर्धा, उच्च राजनीतिक संस्कार कसरी स्थापित होला भनेर आशा गर्ने ? यो आजको गम्भीर सवाल हो । उनीहरु नै बेला बेलामा भन्ने गर्छन् कि राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन । यति भन्दा भन्दै पनि कहिले कुनै सहकार्य होला, गर्नुपर्ला भन्ने हेक्का नै नराखी बोल्ने बोलि र गर्ने व्यवहारले तत्कालिक मात्र होइन, दीर्घकाल सम्म पनि राजनीतिमा गलत संस्कार हाबी भइरहने प्रवृत्तिलाई प्रोत्साहित गर्नेछ । यस्तो प्रवृत्तिका बिरुद्ध सबै सचेत र एकताबद्ध हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *