काठेखोलामा एमालेको निर्वाचन केन्द्रीत प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ
स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर नेकपा एमाले काठेखोला गाउँपालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आइतवार सम्पन्न गरेको छ । चुनावमा पार्टीका उमेदवारलाई जिताउन आवश्यक योजना, पार्टीको नेतृत्वमा भएका राम्रा कामहरुको प्रचार, आम जनसमुदायका बीचमा पार्टीका नेता कार्यकर्ताको परिचालन लगायतका विषयमा कार्यक्रममा प्रशिक्षण दिइएको छ ।

काठेखोलाका ८ वटै वडामा एमालेका उमेदवारलाई विजयी गराउने गरी पार्टीको सम्पूर्ण पंक्तिलाई परिचालन गर्न उत्साहका साथ लाग्न कार्यक्रमका वक्ताहरुले कार्यकर्ताहरुलाई दिर्नेशन दिएका छन् । पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटि सदस्यहरु र गाउँपालिका अध्यक्ष सहित ७ जनाले विभिन्न विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज मन कुमारी केसी जिसीले एमालेले पार्टी र राज्यसत्तामा महिला, दलित लगायत पछि परेको वर्ग र क्षेत्रको सहभागिता, विकासमा एमालेले गरेका कामहरु मात्रै आम समुदायलाई सही रुपमा बुझाउने हो भने एमालेको जित सुुनिश्चित रहेको बताउनुभयो । उहाँले समृद्ध समाज निर्माणको एजेण्डा र नेतृत्व गर्न सक्ने क्षमता एमालेसंग मात्रै रहेको दावी गर्दै सबैलाई उत्साहका साथ एमाले जिताउने अभियानमा जुट्न आव्हान गर्नु भयो ।

पार्टीका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले राष्ट्रियताको संरक्षण, समावेशिताको कार्यान्वयन, विकास निर्माणको अगुवाका रुपमा एमालेले लिएको नीति र गरेका कामहरुको प्रभावकारी सञ्चार गर्न आव्हान गर्नु भयो । राष्ट्रियताको सवालमा विदेशीको आड लिनेहरु र जातिय तथा क्षेत्रीय रुपमा राजनीतिलाई दुरुपयोग गर्नेहरुलाई जनताले मत दिदैनन भन्दै सापकोटाले एमालेको नीति र नेतृत्वले गरेका कुराको प्रभावकारी सञ्चार गर्नु पर्नेमा जोड दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख कृष्ण बहादुर केसीले यो मुलुकको परिर्वतन र स्थायित्वको मुल धार नेकपा एमाले रहेको चर्चा गर्दै समृद्ध समाज निर्माणका लागि आगामी निर्वाचनमा एमालेको जित अनिवार्य रहेको बताउनुभयो ।

जिल्ला अध्यक्ष हिरा बहादुर केसीले एमालेका विरुद्ध गरिएको चौतर्फी घेरावन्दीलाई तोडेर आगामी निर्वाचनमा एमालेलाई जिताउनका लागि नेता कार्यकर्ताहरु उच्च मनोवलका साथ कार्यक्षेत्रमा खट्न आव्हान गर्नुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्यहरु डिल्लीराज गौतम र ममतादेवी शर्मा, एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा लगायतले विभिन्न विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष युक्तप्रसाद कंडेलको स्वागत र सचिव विद्यापति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा कमिटि, पालिका कमिटि, जिल्ला कमिटि, प्रदेश कमिटिमा आवद्ध २ सय जना अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *