बागलुङमा म्यादी प्रहरीका लागि मागभन्दा ११ सय बढीको आवदेन

डम्मर बुढा मगर, बागलुङ
गत चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा केही महिला र केही पुरुषहरुको भिड देखिन्थ्यो । भिडमा १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसहरु थिए । जसमा अधिकांश हट्टाकट्टा युवाहरु थिए । जहाँ केही युवतीहरु पनि लाइनमा कागजपत्र समातेर उभिएका थिए । उनीहरु केका लागि लाइनमा उभिएका होलान् भन्ने जोहोकोहीले पनि आँकलन गर्न सक्थे । कि उनीहरु म्यादी प्रहरीमा भर्ती हुनका लागि आवेदन दिँदैछन् ।

सरकारले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिँदै छ । म्यादी प्रहरीमा भर्ती हुनका लागि आह्वान गरिएको आवेदनको समय शुक्रबारदेखि सकिएको छ । देशभर म्यादी प्रहरीमा आवेदन दिनेको संख्या अत्याधिक देखिएको छ । बागलुङमा पनि यो संख्या अधिकनै देखिन्छ । म्यादीमा भर्ती हुन चाहनेहरुको त्यो भिडभाडले मुलुकमा बेरोजगारीको अवस्थालाई झल्काई रहेको थियो ।

बागलुङको पश्मिच निसीखोला, ढोरपाटन, तमानखोलादेखि पूर्वको बागलुङ नगरपालिका, जैमिनी र बरेङका सयौँ युवाहरु जिल्ला प्रहरी कार्यालयमा भर्तीका लागि आवेदन दिन उपस्थित थिए । बागलुङका लागि कुल ८३४ जना म्यादी प्रहरीको लागि आवेदन खुलाइएकोमा १९५३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसी इकवाल हवारीले जानकारी दिनुभयो । यो संख्या झण्डै साढे ११ सय बढी हो । जसमा चार सय ३१ जना महिला र एक हजार ५२२ जना पुरुष रहेका छन् ।

भर्ती हुनका लागि आवेदन दिनेहरुमा सामान्य लेखपढ गर्नेदेखि उच्च शिक्षा हाँसिल गरेकाहरु समेत रहेको सूचना अधिकारी हवारीले बताउनुभयो । उहाँले अधिकांश युवाहरुनै रहेको बताउनुभयो । आवेदन दिने पहिलो दिनदेखि अन्तिम दिनसम्मै कार्यालय परिसर युवाहरुको भिडले भरिएको हवारी भनाई छ ।

‘आवदेशन दिनेहरुको भिड निकै थियो, ६ गतेदेखि आवेदन दिन सुरु भएर ११ गते सकिएको हो, पहिलो दिनदेखिनै सयौँ युवाहरुले कार्यालय परिसरमा भिडभाड भएको थियो,’ सूचना अधिकारी हवारीले भन्नुभयो ‘आवदेन दिने सामान्य लेखपढ गर्न सक्नेदेखि उच्च शिक्षा हाँसिल गरेका युवाहरु समेत हुनुहुन्थ्यो ।’

आवदेन दिन आएका आएका अधिकांशले बेरोजगार भएकै कारण म्यादी प्रहरीका लागि फारम भर्न आएको बताएका थिए । फारम भर्न आएका एक युवाले भने–‘गाउँमा केही रोजगार छैन, यहाँ भर्ती भैयो भने दुई महिना भए पनि रोजगार पाइन्छ, त्यसले गर्दा फारम भर्न आएको हुँ ।’

आवेदन दिएकाहरूलाई चैत १५ गतेदेखि २२ गतेसम्म छनोटको गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण दिने बताइएको छ । छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्नु पर्ने छ । म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरह २२ हजार छ सय ८० रुपैयाँ आधारभूत तलबका दरले ४० दिनको ३० हजार दुई सय ४० रुपैयाँ दिइने छ । खाद्यान्न बापत सात हजार दुई सय, पोसाक तथा अन्य सामग्री खरिदका लागि छ हजार र खटिएको ठाउँमा आउजाउ गर्न एक हजार रुपैयाँ यातायात खर्च दिइने बताइएको छ ।

बागलुङमा महिला र पुरुषको कोटा बढी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । महिला कोटा एकिन नभए पनि आवश्यकताको आधारमा भर्ना गर्न सकिने सूचना अधिकारी हवारी बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *