स्थानीय उत्पादनको ब्राण्डिङ गर्नुपर्छ-मन्त्री कँडेल

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकार पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय उत्पादनलाई ब्राण्ड बनाउने गरी प्रदेश सरकारले योजना ल्याउन लागेको बताउनु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाले आयोजना गरेको वडा कार्यालयको जग्गादाता सम्मान तथा वडा बुलेटिन पाला दर्पण पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उहाँले गाउँबाट बसाइँ सरेर जाने अवस्था रोक्न गाउँमा उत्पादन हुने वस्तुको ब्राण्डिङ गर्ने विषयमा प्रदेश सरकारमा छलफल भैरहेको बताउनुभयो । ‘मैले यो विषयमा प्रदेश सभामा बोलेको पनि छु,’ उहाँले भन्नुभयोे, ‘कोदोबाट लोकल रक्सी बनाउन दिने विषयमा छलफल पनि भएको छ ।’

‘जसरी पनि विदेशी रक्सीले हाम्रो गाउँघरमा भित्रिएकै छन् ।’ उहाँले बागलुङका एउटै गाउँमा वर्षमा पाँच करोड बढिको रक्सी भित्रिने गरेको उदाहरण दिनुभयो । पालमा उत्पादन हुने अदुवा बेसार लगायतका स्थानीय उत्पादनलाई बजारीकरण गर्न सके मात्रै पालाबाट बसाइँ सराई रोकिने कँडेलको भनाई छ । ‘गाउँमा माटो सुहाउँदो खेतीपाती गरेर त्यसलाई बजारीकरण गर्नु जरुरी छ,’ कँडेल भन्नुभयो,‘गाउँमा जग्गाहरु बाँझो राखेर भारतबाट आएको चामल खाएर आनन्द मानिरहेका छौं । त्यो चामलले मिर्गौलाको रोगी बढाएको छ ।’

बजारको चिज खाने र अल्छी हुने गरेका कारण समस्या बढ्दो देखिएको भन्दै उहाँले पालाको सहिद पार्कको विकासका लागि विस्तृत योजना अनुसार अगाडि बढ्ने बताउनुभयो । ‘पालाको सहिद पार्कको विकासका लागि प्रदेश सरकारबाट मैले पहल गर्छु,’ उहाँले भन्नुभयो,‘त्यसका लागि कम्तीमा पाँच रोपनी जग्गा आवश्यक पर्छ, त्यो जग्गाको व्यवस्थापन तपाईहरुले गर्नुहोला, मैले अन्य साथीहरुलाई पनि पालाको सहिद पार्कको कुरा अगाडि बढेको अरुले दाबी नगर्नुहोला भनेको छु ।’
उहाँले सहिद पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी अगाडि बढ्ने बताउनुभयो । पर्यटनको विकासका लागि प्रकृति संस्कृति र नयाँपन आवश्यक भएको भन्दै त्यही अनुसार लाग्न आग्रह गर्नुभयो । ‘लोकमार्गको छेउमा भएकाले यहाँ पर्यटक ल्याउनका लागि गाह्रो छैन,’ कँडेलले भन्नुभयो ।

उहाँले काठेखोलाको विभिन्न ठाउँमा पुलहरुको आवश्यक रहेकाले आफुले त्यसका लागि पहल गर्ने बताउनुभयो । ट्रयाक खोलिएका बाटाहरुलाई स्तरोन्नती गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो । पालामा मदातन केन्द्रका लागि समस्या भएको भन्ने विषयमा सर्वदलिय सहमती गरिए प्रदेश सरकारले केही बजेट विनीयोजन गरेर ठाउँ सम्याउनका लागि सहयोग गर्ने उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *