बागलुङमा तीनदिने कार्यक्रम सहित राष्ट्रिय सहकारी दिवस मनाइदै


रोहन जि.सी. बागलुङ

६५ औं राष्ट्रिय सहकारी दिवस ३ दिने विविध कार्यक्रमका साथ बागलुङमा मनाइने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा सहकारी दिवस मनाउन लागिएको हो । जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाबीच सोमबार भएको छलफलबाट ३ दिने कार्यक्रम गरेर दिवस मनाउने निर्णय भएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

दिवसका अवसरमा पहिलो दिन चैत १८ गते शुक्रवार बजार सरसफाई, दोस्रो दिन चैत १९ गते शनिवार प्रविधिमा हुने जोखिम न्यूनिकरण (साइवर सेक्युरिटी) सम्बन्धी कार्यक्रम र दिवसको मुुख्य दिन चैत २० गते आइतवार प्रभातफेरी सहित मुल समारोह आयोजना गरिने भएकोछ ।

नेपालमा सहकारीको शुरुवात भएको ऐतिहासिक दिन चैत २० गतेका दिन देशभर राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । २०१३ साल चैत २० गते नेपालमा पहिलो पटक सहकारी स्थापना भएको दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइन्छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुल थिमका साथ देशभर राष्ट्रिय सहकारी दिवस मनाउन राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ ।


महासंघको आव्हान अनुसार देशभरका सहकारी संघ संस्था, पालिकामा सहकारी दिवस मनाउन लागिएको छ । सहकारी दिवस मनाउने सन्दर्भमा बागलुङ नगरपालिकामा भएको छलफल कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, सहकारी शाखा प्रमुख प्रेम प्रसाद पौडेल तथा अभियानको तर्फबाट जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर, जिल्ला सहकारी संघका सञ्चालक जगन्नाथ सापकोटा लगायतको सहभागिता रहेको थियो ।

   

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *