वैकल्पिक शक्ति, विवाद र विभाजन

सम्पादकीय
छिमेक देश भारतमा वैकल्पिक शक्तिको दबदबा फैलिँदो छ । भारतीय राष्ट्रिय कांग्रेसलाई शुन्य सिटमा झारेर दिल्लीमा प्रभुत्वशाली शक्तिका रूपमा पाँच वर्ष अघि आम आदमी पार्टी उदायो । यसको मुख्य नायकका रुपमा अरविन्द केजरीवाल देखिए । केजरीवाल नेतृत्वको यो पार्टीले पञ्जाबमा समेत यसपटक परम्परागत खेलाडीहरूलाई पन्छाएर भारतीय राजनीतिमा वैकल्पिक शक्ति प्रतिको आकषर्ण र आशाबारे विश्वव्यापी सन्देश प्रवाह गरेको छ । विशेषतः सुशासन, शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारी लगायत दैनिक जीवनका मुद्दालाई नै मुख्य एजेन्डा बनाएको आम आद्मी (आप) बिजेपी र कांग्रेसको दबदबा रहेको भारतीय राजनीतिमा तेस्रो ध्रुवका रूपमा उदाएको देखिएको छ । तर, नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रुपमा स्थापना गरिएका दल आफै रमिते बन्ने गतिविधिको सिकार भइरहेका छन् ।

नेपालमा वैकल्पिक शक्तिको रुपमा स्थापित हुने सपना सहित मैदान उत्रिएका दलहरु अहिले सबै परम्परागत राजनीति, गुट, टुटफुट, विभाजनमै सीमित भएका छन् । डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति होस् या रविन्द्र मिश्रको साझा पार्टी होस् या मिलन पाण्डेहरुले बनाएको विवेकशील पार्टी होस् । यी सबै पार्टी आफै भित्रको विवादले पटक पटक विभाजन र विलय भइरहेको छ । पछिल्लो समय साझा र विवेकशील आफै विभाजन भएर पनि एकताबद्ध हुँदै अघि बढ्ने उद्घोषले एक भए । अहिले विवेकशील साझा पार्टी पुनः गम्भीर विवाद र विभाजनको सन्निकट छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र अर्का नेता मिलन पाण्डे पक्ष बिच तीब्र टकराव छ । मिश्र पक्षले पाण्डे लगायतका नेतालाई कारबाही गरिसकेको छ । अहिले राप्रपासँगको एकीकरणको चर्चासँगै मिश्र इतरको पक्ष विरोधमा छ । जसले यीनै मतभेदका विषयमा पार्टी केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति समेत सिर्जना भएको छ । यो कार्यक्रम रोक्न अध्यक्ष मिश्र पक्षले कर्मचारी बाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेको छ । असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ ।

वैकल्पिक शक्तिका प्रारम्भिक एजेण्डा र कामले जनतामा पृथक छाप पारिरहेको थियो । र यसको फलस्वरुप नयाँ पार्टी स्थापना भएकै सुरुवाती चरणको निर्वाचनमा मुख्य राजधानी काठमाडौं सहित ठुला शहरमा राम्रै मत पनि प्राप्त भयो । तर, समयक्रमसँगै नयाँ वैकल्पिक शक्ति भनिएकाहरुका पार्टी गतिविधि र कार्यशैली परम्परागत शक्ति भन्दा कुनै पनि हिसाबले फरक देखिएनन् । पार्टीमा विवाद हुन सक्छ, यसको हल गर्ने उपायहरुमा पनि वैकल्पिक शक्तिवालाले फरक रुपमा अभ्यास गर्न सक्थे । तर, भिड सहित उही होहल्ला, तालाबन्दी, तोडफोड, कारबाही, आरोप प्रत्यारोप गरेर झन् भन्दा झन् उदेक लाग्दा परिदृश्य, वादविवाद र गतिविधि देखिए । यो स्वयम् सम्बन्धित पार्टीका लागि राम्रो सुखद कुरा त हुँदै होइन, सिंगो देशका लागि समेत दुखद कुरा हो । आजको दिनमा पनि देश र जनताका लागि राजनीति गर्ने र त्यसलाई छिमेकी देश भारतमा जस्तै पृथक एजेण्डा र कर्मले स्थापित गर्ने निष्ठावान नेतृत्व अपरिहार्य छ । नेपाल र वैकल्पिक शक्तिमा यसको अभाव खड्किएको छ । उही पुराना गलत अभ्यास, कार्यशैलीबाट कसरी वैकल्पिक शक्ति स्थापित होला त ? यो अभियान चलाइरहेकाहरुले समयमै सोच्न र चिन्तन मनन गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *