डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिका वडा नम्बर २ मुुठाचौरमा करिब एक सय घर परिवारका नागरिकहरु बसोबास गर्दै आइरहेका छन् । हरेक वर्ष ४÷५ महिना स्थानीयहरु मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी गाउँमा झर्ने गर्छन् । मुठाचौर माथिल्लो क्षेत्र (लेक)मा पर्छ भने भयरबोङ्गा, कटेरी गाउँ केही तल पर्छ । यहाँका अधिकांश नागरिकहरु पशुपालन र खेतिपातीमै बेस्त छन् ।
स्थानीयहरु खासगरी वर्षातको समयमा मुठाचौर र हिउँदको समयमा भयरभोङ्गा र कटेरीमा बस्ने गर्दछन् । उनीहरु असारदेखिनै मुठाचौर जान सुरु गर्छन् भने असोज कार्तिक लाग्दा साथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबालीहरु उत्पादन गर्ने गर्दछन् । प्राकृतिक सौन्दर्यले भरिएको मुठाचौर विकासका पूर्वाधारले भने पछाडी नै छ । तमानखोला गाउँपालिकाले कटेरी गाउँको शिरसम्म मोटरबाटोले जोडे पनि मुठाचौरसम्म पु¥याउन सकेको छैन ।
भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ । तमानखोला गाउँपालिकाको मत्वपूर्ण पर्यटकीय स्थल बराह ताल नजिकै रहेको यस ठाउँमा माटो, ढुङ्गा र काठले बनेका घरहरु छन् । त्यस वरपर समथर भूभाग, मकै, आलु फल्ने बारीहरुले यहाँ पुग्ने जोकोसैलाई लोभ्याउने गर्छ । यो ठाउँ प्राकृतिक रुपले सौन्दर्य भए पनि सडक लगायतका विकासका पूर्वधारहरुले जोडिन नसक्दा ओझेलमा परेको स्थानीय चूणमणी छन्त्यालले बताउनुभयो ।
‘यो ठाउँ प्राकृतिक रुपले अत्यन्तै मनै लोभ्याउने छ, यहाँ वर्षमा ५÷६ महिना स्थानीयहरु बसोबास गर्ने गर्छन्,’ उहाँले भन्नुभयो ‘अहिलेसम्म मोटरबाटोले जोडिएको छैन, खानेपानीको समस्या छ, विकासले जोडिने हो भने यो ठाउँ पर्यटक भित्र्याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने थियो ।’
छन्त्यालले यहाँ अधिकांश स्थानीयहरु ४÷५ महिना बस्ने र केही बाह्रै महिना बस्दै आएको भन्दै उनीहरुले अँध्यारोमै रात बिताउन बाध्य भएको बताउनुभयो । कटेरी गाउँसम्म मोटरबाटो, बिजुलीको पहुँच पुगे पनि यहाँसम्म पु¥याउन कठिन भएको छन्त्याल बताउनु हुन्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाए यस ठाउँको विकास गर्न कुनै समस्या नहुने छन्त्यालको भनाई छ । उहाँले यसलाई पर्यटन गाउँ बनाउन सके यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन आउने बताउनुहुन्छ ।
‘मुठाचौर पर्यकटीय हिसाबले अत्यन्तै संभावना बोकेको छ, यसको विकासका लागि तीनै तहका सरकारले चासो दिएर विकास गर्न सके यहाँका नागरिको जीवन स्तर उकास्न धेरै समय लाग्ने थिएन,’ छन्त्यालले भन्नुभयो ‘मोटरबाटोले जोड्न सके यहाँ उत्पादन भएका आलु, सिमीले राम्रो बजार पाउँथ्यो, सडक छैन, उत्पादन जति भए पनि आफै उपभोग गर्नुको विकल्प छैन ।’
स्थानीय भीमकुमारी रसाइलीले यस क्षेत्रमा सडक, विद्युत र खानेपानीको पहुँच नहुँदा आफूहरुले वर्षौँदेखि समस्या भोग्दै आएको बताउनुभयो । उहाँले खानेपानीको समस्या हुँदा पोखरी, तथा आकाशको पानी जम्मा गरेर उपभोग गर्नु परेको गुनासो गर्नु भयो । सडक संजालले मुठाचौर नजोडिँदा नुन, तेल र खाद्यान्न मान्छेलेनै बोकेर खानु पर्ने अवस्था रहेको रसाइलीको भनाई छ । विद्युतको सहज पहुँच नहुँदा भाँङ र दियालोको भरमा रात पटाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
‘अहिलेसम्म यहाँ खानेपानी, मोटरबाटो र बिजुली आउन सकेको छैन, खानेपानी नहुँदा कुन्टो, पोखरी र टोड्काका पानी खाने गछौँ, केटरी गाउँसम्म त मोटर आउँछन्, यहाँसम्म आउन सकेको छैन, त्यसले गर्दा खर्चपर्च गाउँबाटै मान्छेले बोकेर ल्याउँछौँ,’ सिरपालीले भन्नुभयो ‘तल गाउँ झर्दा बिजुली बत्ती बाल्न पाइन्छ, यहाँ अहिलेसम्म पनि आउन सकेको छैन, भाङ, दियारोको भरमा रात कटाउनु पर्ने अवस्था छ, मोटर गाडी आए, बिजुली बत्ति आए खानेपानीको धार बने यहाँ बस्ने सबैलाई सजिलो हुन्थ्यो हो, गाउँमा त भर्खरभर्खर मोटर आएका छन् यहाँ पनि विस्तारै आउला भन्ने छ ।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर क्रमागत रुपमा विकास गरि रहेको बताउनुभयो । उहाँले यस ठाउँका नागरिकलाई आवश्य पर्ने सबै खाले विकासका पूर्वाधार निर्माण गर्न गाउँपाललिका लागिनै रहेको बताउनुभयो । अध्यक्ष बुढा मगरले यहाँ वर्षमा केही महिना मात्रै नागरिकहरु बसोबास गर्ने भएको हुँदा पूर्वाधारले जोडिन ढिला भएको भन्दै केही समयमै त्यहाँ विकासका पूर्वाधारले जोडिने बताउनुभयो ।
उहाँले यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउनका लागि अन्य पूर्वाधार समेत निर्माण गर्ने भन्दै त्यसका लागि आफूहरु योजना बनाएर लागि रहेको बताउनुभयो । ‘मुठाचौरमा स्थानीयहरु वर्षमा केही महिना मात्रै बसोबास गर्ने हुँदा कम प्राथमिकतामा थियो तर हामीले यसको विकासका लागि काम थालिसकेका छौँ, मोटरबाटो, विद्युत पुग्न धेरै समय लाग्दैन, त्यसको तयारी समेत गरेका छौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ।