बागलुङमा दुई चरणमा टाइफाइडविरुद्ध खोप


आदर्श अनलाइन, बागलुङ
टाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ । शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप लगाउन पाउनेछन् ।यसअघि बालबालिकाले जन्मेदेखि १५ महिना पुगुन्जेल १२ प्रकारका खोप लगाउँँदै आएकामा १३औँ टाइफाइड विरुद्धको खोप थप गरिने भएको हो । दादुरा÷रुबेलाको दोस्रो मात्रासँगै बालबालिकाले उक्त खोप लगाउन पाउने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

“अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइन्छ, त्यसपछि नियमित खोपअन्तर्गत १५ महिनाका प्रत्येक बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउन पाउँछन्,” उहाँले भन्नुभयो, “बालबालिकामा अरूमा भन्दा टाइफाइड हुने दर ११ गुणाले बढी हुने भएकाले सोही उमेर समूलाई लक्ष्य गरी सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।” नेपालमा टाइफाइडको सङ्क्रमण दर उच्च छ । प्रतिएक लाख जनसङ्ख्यामा १०० लाई टाइफाइड भएमा सङ्क्रमणको उच्च अवस्था मान्ने गरिएको र एक अध्ययनअनुसार नेपालमा प्रतिलाखमा एक हजार ६२ जनामा सङ्क्रमण पाइएको प्रमुख गुरौको भनाइ थियो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा बागलुङमा मात्रै छ हजार ९६० टाइफाइडका बिरामी भेटिएका थिए । यहाँका स्वास्थ्य संस्थाका ‘ओपिडी’मा भर्ना हुनेमध्ये पाँच प्रतिशत टाइफाइडका बिरामी हुने गरेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ । दूषित पानी र खानेकुराबाट धेरै लाग्ने रोगमध्ये टाइफाइड दोस्रो स्थानमा रहेको कार्यालयले जनाएको छ । ज्यानैसमेत जोखिममा पार्न सक्ने यसको सङ्क्रमण न्यूनीकरण र टाइफाइड लागिहाले पनि जटिलता कम गर्न सरकारले टाइफाइड खोपलाई नियमित खोप सेवामा राखेको हो ।

दुई वर्षअघि राष्ट्रिय खोप सल्लाहकार समितिले टाइफाइडविरुद्धको खोपलाई नियमित खोप सेवामा समावेश गर्न सरकारलाई सिफारिस गरेको थियो । सङ्क्रमित व्यक्तिको दिसाबाट दूषित भएको खाना र पानीबाट टाइफाइड रोग सर्ने बागलुङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताउनुभयो । खोपसँगै समुदायस्तरमा सरसफाइ र प्रवद्र्धनको अभियानलाई पनि सँगसँगै लानुपर्ने उहाँको भनाइ थियो । “टाइफाइड जनस्वास्थ्यका लागि समस्याकै रुपमा रहेको छ, खोपसँगै सरसफाइ र सचेतता अपनाउन सकियो भने यो रोग न्यूनीकरण भएर जान्छ”, जनस्वास्थ्य निरीक्षक खनालले भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले गुणस्तर प्रमाणित गरेको टाइफाइड खोपको प्रभावकारिता ९७ प्रतिशतसम्म रहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत दुई चरणमा यहाँका ७१ हजार ३६२ बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।


यही चैत २५ देखि ३० गतेसम्म बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकामा र वैशाख २ देखि ७ गतेसम्म ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गर्न ३२० खोप केन्द्र तोकिएको छ । अभियानमा ३७० स्वास्थ्यकर्मी र एक हजार २८० स्वयंसेवक परिचालन हुने कार्यालयले जनाएको छ ।

विगतमा अन्य कुनै खोप लगाउँदा शरीरमा जटिल प्रतिक्रिया देखापरे कुनै खाना या वस्तुबाट कडा खाले एलर्जी देखिएमा र एड्सको लक्षणका व्यक्तिलाई भने टाइफाइडको खोप लगाउन नहुने कार्यालयले जनाएको छ । अरू खोपमा झैँ टाइफाइडको खोप लगाउँदा सामान्य असर देखा परे पनि आफैँ ठीक भएर जाने स्वास्थ्यकर्मीको भनाइ छ । म्यादे ज्वरोले समेत चिनिने टाइफाइडमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्नेलगायत लक्षण देखिने गरेको छ । रोगको सङ्क्रमण शरीरमा फैलँदै गएमा सानो आन्द्रामा घाउ हुने, प्वाल पर्ने र मस्तिष्कसम्बन्धी जटिल समस्या समेत देखिने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *